सडक निर्माणमा अवरोध गर्ने स्थानीयलाई डोजर चलाएर आतंक मच्चाउने चालक पक्राउ

कार्तिक ५, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका क्रममा दुई पक्षबीच विवाद र झडप भएपछि तत्कालका लागि सडक निर्माण योजना नै स्थगित गरिएको छ । 

सहमतिविपरीत सडक निर्माण गर्न थालिएको भन्दै एउटा पक्ष विरोधमा उत्रिएपछि सोमबार झडप भएको हो । विरोधमा उत्रिएकाहरुलाई डोजर चालकले डोजर प्रयोग गरेरै तितरबितर पार्ने प्रयास गरेपछि अवस्था थप तनावग्रस्त बनेको थियो ।   

घटनामा सात जना घाइते भएका छन् । प्रहरीले डोजर चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे एक भिडियोमा एक महिलालाई बाटो खन्ने क्रममा चालकले डोजरले उधिनेर फालेको देखिन्छ । डोजरले उधिनेर फालेपछि उनी केही मिटर पर बत्तिएको देखिन्छ । त्यसपछि स्थानीयले ढुंगामुढा गरेको र तनावको अवस्था देखिन्छ ।   

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले विवादले यो रुप धारण गर्ला भन्ने पूर्वानुमान नगरिएको बताए । बाटो खन्न पाउनुपर्छ र सहमति नलिइ बाटो खन्नु हुँदैन भन्ने विवाद दुई पक्षबीच रहँदै आएको जिकिर गर्दै उनले स्थानीयस्तरमा विवाद सुल्झाउन प्रयास हुँदै आएको जानकारी प्रशासनलाई दिइएको उल्लेख गरे । 

बाटो खन्ने क्रममा अर्को पक्षले अवरोध सिर्जना गरेपछि विवाद बढेको उनले रातोपाटीलाई बताए । हाल बाटो खन्ने काम स्थगित गरिएको उनको भनाइ छ । 

सोमबार भएको झडपमा सातजना घाइते भएकोमा पाँच जनाको स्थानीय अस्पतालमा उपचार भएको र उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । घाइते अन्य दुई जनामध्ये एक जनालाई चिकित्सकले नै धनगढी ‘रिफर’ गरेको र अर्का एक घाइते स्वेच्छाले उपचारका लागि धनगढी गएको बताइएको छ । 

स्थानीय तहमा बाटो खन्ने योजना नगरपालिकाकै भएका कारण नगरपालिकाले नै यसबारे सहमति जुटाउने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।   

‘हामीले शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिने हो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले रातोपाटीसँग भने, ‘दीर्घकालीन रुपमा समस्याको निकास खोज्ने दायित्व नगरपालिकाकै हो । आफूले बनाएको योजनालाई कसरी पूर्णता दिने वा परिमार्जन गर्नुपर्ने अवस्था आए कसरी परिमार्जन गर्ने भन्नेबारे नगरपालिकाले नै निर्णय गर्दछ ।’ 

प्रहरीले घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएको छ । उनीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  झडपमा संलग्न अन्य चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको र आवश्यक कारवाही प्रक्रिया सुरु भएको प्रहरीको भनाइ छ । 

नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापासँग यस विषयमा सम्पर्क गर्न खोज्दा उनको मोबाइल ‘अफ’ पाइयो भने उपप्रमुख मिना चन्द सम्पर्कमा आएर पनि बोलिनन् । वडा नम्बर ९ का अध्यक्ष हरिशचन्द्र जोशीको मोबाइल पनि ‘अफ’ छ । राताेपाटीबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *