नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको शुल्क घटायो

कात्तिक ७, काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महशुल घटाएको छ । टेलिकमले पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराउने जनाएको छ । 

टेलिकमको यो योजना कात्तिक १ गतेदेखि लागू भइसकेको छ । यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महशुल दर प्रति एमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महशुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जनाएकी छिन् । 

त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइने छ । 

‘पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महशुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ ।’ टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महशुल दर भने यथावत् रहेको छ । नेपाल टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । 

लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिसहरु सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयहरुलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ । त्यसकारण, मूलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालयहरु तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाहरुको सूचना, तथ्यांक तथा हिसाब अनलाइन गर्नुपर्ने संघ संस्था र कम्पनीहरुका लागि यो सेवा निकै नै उपयोगी छ । पछिल्लो समयमा व्यक्ति तथा साइबर क्याफे र होटल तथा कलकारखानाहरुका लागि समेत यो सेवा फलदायी बनेको छ । 

मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसका लागि चाहिएको क्षमताको इन्टरनेट लिज सेवाको माग सहितको निवेदन पेश गर्नुपर्ने हुन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *