महरा प्रकरणः थुनछेक बहस आइतबार मात्रै, अदालतमा के भने ?
कार्तिक १५, काठमाडौं । जबरजस्ती करणी अभियोगमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतमा बयान दिँदै आरोप लगाउने रोशनी शाहीको घरमा नगएको दाबी गरेका छन् ।
संसद सचिवालयकी कर्मचारी शाहीले बलात्कार आरोप लगाएपछि गएको असोज १९ गते पक्राउ परेका महराले शाहीको कोठामा आफू नगएको दाबी गरेका हुन् ।
बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा शुक्रबार अदालतमा बयान दिँदै महराले अदालतमा शाहीको कोठामा आफू नगएको दाबी गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा जारी बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन् ।
महराले शाहीको किटानी जाहेरीमा सत्यता नभएको र आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बयानमा दाबी गरेको बताइएको छ । शाहीले किटानीमा उल्लेख गरेको दिन आफूले मदिरा पनि सेवन नगरेको पनि बताएका छन् ।
महराको बयान सकिएको छैन । उनलाई पुनः थुनामै लैजाने तयारी छ । आइतबार मात्रै थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ । सो बहसपछि महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या धरौटीमा रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ ।