सुराकीको आधारमा झापाबाट गाँजासहित दुई पक्राउ
कार्तिक १९, झापा । प्रहरीले बिशेष सुराकीको आधारमा झापाबाट प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको अनुसार झापाको गौरीगञ्ज गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध गाँजासहित गौरीगञ्ज–३ का ५७ वर्षीय देव नारायण महतो र गौरीगञ्ज–४ का ५० वर्षीय बुदलाल राजवंशीलाई पक्राउ गरिएको हो ।
घरबाट नै गाँजाको बेचबिखन गर्ने गरेको सुराकी प्रहरीले पाएपछी उनीहरुको घर खानतलासी गर्ने क्रममा लागूऔषध सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे ।
प्रहरीका अनुसार पक्राउ परेका महतोको घरबाट ५ सय ग्राम गाँजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाँजा तथा नगद ६ सय बरामद गरिएकाे छ ।
पक्राउ परेका दुबैमाथी कारवाहीको लागि अघी बढाई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।