रौतहट जिल्ला अदालतमा आलमको बयान सुरु
कार्तिक १९, रौतहट । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको बयान आज (मंगलबार) बाट सुरु भएको छ ।
१२ वर्षअघि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमको जिल्ला अदालत रौतहटमा बयान सुरु भएको हो ।
न्यायधीश दीपक ढकालको इजलासमा उनको बयान सुरु हुँदैछ । बयानका लागि आलमलाई अदालत लगिएको छ ।
आलमलाई जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । आलमको पक्ष–विपक्षमा बहस हुनेछ । प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्टसहितको मिसिल आठ सय पृष्ठको भएका कारण आजै थुनछेक बहस सम्भव छैन ।
पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल, पूर्वन्यायाधीवक्ता डा. युवराज संग्रौला लगायतले बहस गर्नेछन् ।
सरकारी वकिलको तर्फबाट खडिन्द्रराज कटुवाल, रामप्रसाद पन्थी, सहन्यायधीवक्ता सूर्यराज दाहाललगायतले बहस गर्ने बताइएको छ ।
आलमका तर्फबाट बहस गर्नेहरुको नाम एकिन भइसकेको छैन । बयान र थुनछेक बहसपछि सांसद आलम साधारण तारेखमा, धरौटीमा वा पूर्पक्षको लागि जेल चलान गर्नेबारे निर्णय हुनेछ ।
रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद रहेको आलमलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको समयमा घरमा बम बनाइरहेका बेला विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।
सांसद आलमले भने हुँदै नभएको घटनामा आफूलाई फसाउन खोजेको दाबी गर्दै आइरहेका छन् ।