कालापानीबारे छलफलका लागि एकैदिन बोलाइयो प्रधानमन्त्री र परराष्ट्रमन्त्री

कार्तिक २४ काठमाडौं । नेपालको विवादास्पद क्षेत्र कालापानी भारतले आफ्नो नक्सामा समेटर सार्वजनिक गरेपछि कालापानी क्षेत्रबारे जनस्तरबाटै बहस सुरु भएको छ ।   

दिनहुँजसो भारतविरुद्ध प्रदर्शन भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिजो (शनिबार) सर्वदलीय बैठक डाकेका थिए । बैठकमा सबै दलले कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालकै भएको भन्दै प्रधानमन्त्रीबाट त्यो समस्या समाधान गर्न सुझाएका थिए ।   

कालापानी क्षेत्रबारे सर्वत्र बहस चलिरहँदा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले पनि सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई छलफलका लागि बोलाएको छ ।  नेपाल–भारतबीच कालापानीका सम्बन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले प्रम ओलीलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो ।   

त्यस्तै प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि कालापानीका विषयमा उठेका प्रश्नबारे छलफल गर्न त्यही दिन बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आमन्त्रण गरेको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।   

यद्यपि नेपाल सरकारले यसअघि नै कालापानी क्षेत्र नेपालको भूभाग भएको भनि स्पष्ट गरिसकेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवम् टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएकोे बुधबार नै स्पष्ट गरेको थियो । 

नेपाल तथा भारतका परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको बताउँदै मन्त्रालयले द्विपक्षीय सम्बन्धका कुनै पनि एकपक्षीय निर्णय अमान्य हुने जनाउ दिइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *