६ वर्षपछि पक्राउ परे नेपाली युवतीमाथि एसिड प्रहार गर्ने भारतीय युवक

कार्तिक १५, वीरगञ्ज । हेटौंडाकी विन्दवासिनी कंशाकारमाथि ६ वर्षअघि एसिड प्रहार गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।   

जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले गएराति करिब ९ बजे भारतीय नागरिक दीपक केशरीलाई पक्राउ गरेको हो ।   

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीबाट केशरीलाई नियन्त्रणमा लिइएको शुक्रबार पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।   

भारतको महाराजगन्जस्थित अपुर्बन–६ बस्ने राज भनिने दिपक केशरी हेटौंडामा बस्दै आएका केशरीले २०७० वैशाख ९ गते आफ्नै पसलमा बसिरहेको अवस्थामा विन्दवासिनीलाई एसिड प्रहार गरेका थिए ।   

कक्षा १२ मा अध्ययनरत १९ वर्षीय विन्दवासिनी एसिड आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनी अझै उपचाररत छिन् । आक्रमणबाट विन्दवासिनीको अनुहार, छाती र शरीरका अन्य अंगहरु जलेका छन्। 

विवाहको प्रस्ताव अस्वीकार गर्दा हेटौंडा–३ का मधुसुदन कंशाकारकी छोरी विन्दवासिनीलाई उनले एसिड प्रहार गरेको प्रहरी बयानमा उनले खुलाएका छन् ।   

केशरीलाई ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा अघि बढाएको छ । मुलुकी ऐन अन्तर्गत ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्षदेखि १२ वर्ष कैद हुने व्यवस्था छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *