लोकप्रिय हुँदै टेलिकमको फोरजी सेवा, सातै प्रदेशका प्रमुख शहरमा फोरजी सिम वितरण हुँदै
कात्तिक २४, काठमाडौं । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म फोरजी सिम वितरण परिवर्तन र स्तरोन्नती गरिरहेको छ । टेलिकमले सातै प्रदेशका प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।
यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य गरेको छ । टेलिकमको यो अभियानमा उल्लेख्य उपभोक्ताको सहभागिता रहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जनाकी छिन् ।
आज २४ गते आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य भइरहेको छ । भने, कार्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको छ ।
यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम वितरण गरिनेछ ।
यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ ।
साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।
कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको छ ।