आयोजना स्थल पुगेकी मन्त्रीले तोकिनन् मेलम्चीको डेटः यसरी हुँदैछ काम, यस्तो छ स्थानीयको माग (फाेटाेफिचर)

कार्तिक २१, काठमाडौं । गत २९ मंसीरमा इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानी आयोजनाको काम बीचैमा छोडेर अलपत्र पार्यो । काममा फर्कन नमानेपछि २४ माघमा उक्त कम्पनीसँग सरकारले सम्झौता रद्द गर्यो ।   

सिएमसीले ठेक्का तोडेपछि गएको असोज महिनामा आयोजनाको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भयो । उक्त कम्पनीसँग सम्झौता पश्चात् मेलम्चीको पानी काठमाडौंमा छिट्टै आउने अपेक्षा गरिएको छ ।   

पछिल्लो समय खानेपानी तथा सरसफाई मन्त्री विना मगर पनि आयोजनाको काम चाँडै सक्न निर्देशन दिन तथा निरिक्षण गर्न पटक पटक आयोजना स्थल पुग्ने गरेकी छिन् । बुधबार (हिजाे) पनि मन्त्री मगर चिनियाँ कम्पनीको कामकारवाही बुझ्न तथा निरिक्षण गर्न आयोजना स्थल पुगिन् । तर मेलम्चीको पानी आउने मिति भने उनले तोकिनन् । काम सम्पन्न भएपछि उद्घाटनमा निम्तो दिने भन्दै डेट फिक्समा उनी पन्छिइन् ।   

हुन पनि उनले कयौँ पटक तोकेका मितिमा मेलम्चीको पानी काठमाडौं झर्न सकेन । काठमाडौंका जनताको आशा लगभग निराशामा बद्लियो । पानीका प्यासी काठमाडौंवासी मन्त्रीसँग नै आक्रोशित हुन थाले । समयमै काम सम्पन्न नहुँदा विपक्षीले गिज्याउने विषय बन्यो मेलम्चीको पानी ।   

यद्यपी अहिले चिनियाँ कम्पनीसँग कामको सम्झौता भइसकेपछि जनतामा मेलम्चीको पानीले काठमाडौंमा बसेर प्यास मेटाउने आशा पलाएको छ । आयोजनाप्रति आशावादी देखिन थालेका छन् । निरिक्षणका लागि आयोजना स्थल पुगेकी मन्त्री विना मगर पनि आशावादी, उत्साहित देखिन्थिन् । उनीमा छुट्टै उर्जा र उमंग देखिन्थ्यो । मिति नतोकेपनि उनले मेलम्चीको पानी छिट्टै काठमाडौं आइपुग्ने तर्क गरिन् ।   

‘आयोजना निर्माणको जिम्मा पाएको इटालिएन कम्पनी सीएमसी काम छोडेर भागेका कारण समस्या सिर्जना भएको हो । कामदारको रकम भुक्तानी लगायतका विषयमा सरकार गम्भीर छ । मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरु छिट्टै समाधान हुनेछन्’, मन्त्री मगरले भनिन् ।   

मेलम्ची खानेपानी आयोजना छिट्टै सम्पन्न गर्न मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागि परेको उनको भनाइ छ । ‘मेलम्ची खानेपानी आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश जाँदैन ।  सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेका छौँ । मैँले पटक पटक ब्रिफिङ लिइरहेको छु । मेलम्ची छिटो भन्दा छिटो ल्याउने सन्दर्भमा मन्त्रालय, विभागीय टीमहरु र यहाँ कार्यरत कम्पनी एकरुपताका साथ अगाडी बढीरहेका छौँ । अहिले आयोजना छिटो सक्ने गरी तीव्र गतिमा काम भइरहेको छ’, आयोजनाको निरिक्षण गर्दै मन्त्री मगरले भनिन् ।   

त्यस्तै खानेपानी आयोजना स्थलको निरीक्षण गर्न पुगेको संसदको विकास तथा प्रविधि समितिले अनुगमनपछि देखिएका समस्याहरु सहजीकरण गर्न समितिले पहल गर्ने बताएको छ ।   

समन्वयको कमीका कारण आयोजना कार्यान्वयन तथा सम्पन्न हुने क्रममा कमीकमजोरीहरु देखिएको समितिकी सभापति कल्याणी खड्का बताउँछिन् । ‘समन्यवयका कारण अयोजनामा समस्या आएको हो । सरकराले कमीकमजोरीहरु सुधार्ने प्रयास गर्नुपर्छ । छिटोभन्दा छिटो मेलम्चीको पानी काठमाडौं वासीलाई खुवाउनुस् भनेर हामीले निर्देशन दिएका छौँ । हिजो देखिएका कमी कमजोरीहरु नदोहोर्याउन तथा सच्याउन यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ’, सभापति खड्काले भनिन् ।   

त्यसैगरी आयोजना सम्पन्न कहिले हुन्छ भनेर सरकारले मिति नतोकेपनि आगामी असार मसान्तसम्म काठमाडौंको सुन्दरी जलमा पानी झार्ने योजना रहेको आयोजनाका कार्यकारी निर्देशक रितिश कुमार खत्रीले बताए ।   

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले पनि मेलम्ची आयोजनामा देखिएका समस्या छिट्टै समाधान हुने बताए । प्राविधिक समस्या नदेखिएका कारण समयमै सकिने उनले विश्वास व्यक्त गरे । ‘यो कुनै सपना जस्तो होइन । पहिले समस्या थियो, अहिले समस्या समाधान भइसकेको छ । समयमै काम सकिन्छ’, उनले भने ।   

आयोजना प्रति स्थानीय जनताको माग तथा सवालहरु 

मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा पुगेको अवस्थामा सम्पन्न हुनु अगावै रोयल्टी बाँडफाँडका विषयमा कानुनी व्यवस्था सुनिश्चित हुनुपर्ने स्थानीयले माग अघि सारेका छन् ।   

गाउँविकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेको र आयोजना प्रभावित क्षेत्रको दीर्घकालिन विकासको लागि आयोजना पथान्तरण अगावै रोयल्टी के कति बाँडफाँड हुने हो सो को मोडालिटीसहित कानुनी व्यवस्था सुनिश्चित हुनुपर्ने माग अघि सारेको हो ।   

१.अरनिको लोकमार्गको काभ्रे जिरोकिलो हुँदै मेलम्चीसम्म मात्र कालोपत्रे गर्ने कार्य भइरहेकोमा आयोजनाको मुहानस्थल अम्वाथानसम्म मेलम्ची तिपेनी हुँदै भोताङ लार्केसम्म, मेलम्ची दुवाचौर, बाँसखर्क, बरुवा हुँदै याङ्री सम्मको सडक कालोपत्रे गरिनुपर्ने ।   

२.मेलम्ची खानेपानी अयोजना पथान्तरण हुनुअघि मेलम्ची खोलामै छाडिने पानीको मात्राको विषयमा नेपाल सरकारबाटै प्रष्ट किटानी व्यवस्था गरिनुपर्ने ।   

३.मेलम्ची खानेपानी अयोजनाको दोस्रो चरणका कार्यहरु सञ्चालन हुन लागिरहेको हालको अवस्थामा सामाजिक उत्थान कार्यक्रमको निरन्तरता र वार्षिक बजेटमा समयसापेक्ष वृद्धि गरिनुपर्ने ।   

४.मेलम्ची आयोजनाका कार्यहरुलाई व्यवस्थित सञ्चालन गर्न आयोजनाको सम्पुर्ण सेवा प्रवाह साईट कार्यालयबाटै हुनुपर्ने ।   

५.याङ्री लार्के प्रभावित क्षेत्रको मुआब्जा वितरणको समस्या यथासिघ्र समाधान गर्नुपर्ने । 

६.आयोजना पथान्तरण हुँदा हेलम्बु मुहान क्षेत्रका वस्तीहरु विस्थापित नहुने कुराको ग्यारेन्टी हुनुपर्ने । 

७.ईन्द्रावती मेलम्ची खोलाको तटिय क्षेत्र संरक्षण कार्यक्रम लागु गर्नुपर्ने ।   

८.सि.एम.सी पीडित श्रमिक लगायत भेण्डर सप्लायर्सहरुको समस्यालाई यथासिघ्र समाधान गरिनुपर्ने ।   

९.खानेपानी तथा सरसफाई मन्त्रालयद्वारा मेलम्ची खानेपानी विकास समिति मार्फत् सिन्धुपाल्चोक जिल्लामा सञ्चालित एक घर एक धारा अभियान प्रभावकारी बनाउन थप बजेटको व्यवस्था हुनुपर्ने ।   

खानेपानीको मुहान हेलम्बुमा छ, काठमाडौँ मात्रै राम्रो भएर हुँदैनः हेलम्बु गाउँपालिका उपाध्यक्ष कोपिला पण्डित 

स्थानीय तहको सरकार भइसकेपछि मेलम्ची खानेपानी आयोजनाको काम राम्रो ढंगबाट अगाडी बढिरहेको छ । तर राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई लिएर केन्द्र सरकारले स्थानीय तहसम्म समन्वय गरेको छैन ।   

मेलम्ची खानेपानीको टनेलको ५० प्रतिशत भाग हेलम्बु गाउँपालिकामा पर्छ । तर मेलम्चीलाई मात्रै प्राथमिकता दिएको जस्तो देखिन्छ । यसले हेलम्बु पछि परेको जस्तो देखिन्छ । प्राकृतिक स्रोत हेलम्बुको भएका कारण यहाँको पानी लगेपछि हेलम्बुले पाउने लेबीका विषयमा केन्द्र सरकारले प्रष्ट पार्नुपर्ने हाम्रो माग छ । यहाँबाट पानी लगेपछि यहाँको पनि त विकास हुनुपर्यो नि, काठमाडौं मात्रै राम्रो भएर हुन्छ त ? हेलम्ुबलाई पनि चिनाउनुपर्छ । तसर्थ पानीको मुहान हेलम्बु भएका कारण हेलम्बुको पनि विकास हुनुपर्नेमा हामी जनप्रतिनिधिको टीम लागि परेको छ ।   

यी यावत कुरामा समन्यव भएमा काठमाडौंवासीको पानीको समस्या हल गर्न तथा यहाँको पानी काठमाडौं लैजान हामी सक्दो पहल गर्नेछौँ ।   

कति आउँछ मेलम्चीको पानी काठमाडौंमा, कहिले सकिन्छ काम ?   

चिनियाँ कम्पनीले १२ महिनामा काम पुरा गर्ने गरी कुल रु ८५ करोड एक लाख ९४ हजार ४५८ मा आयोजनाको ठेक्का लिएको हो ।   

सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छोडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कुल १ दशमलव ४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गर्नुपर्नेछ । सम्झौता अनुसार सिनो हाइड्रोले सुरुङमार्ग मार्फत् सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमा सुधार गर्नुपर्ने छ । 

सिनो हाइड्रोसँगै हेडबक्स निर्माणको समेत ठेक्का सम्झौता भएको थियो । कम्पनीले एक अर्ब २४ करोडमा हेडबक्स निर्माणको सम्झौता गरेको हो । कम्पनीले यसको काम १५ महिनामा सक्नुपर्ने छ । सम्झौता अगावै कम्पनीले काम सकेमा दैनिक ठेक्का रकमको ०.१५ प्रतिशत बोनस पाउने छ भने समयमा काम नसके दैनिक ०.१५ प्रतिशतका हिसाबले क्षतिपुर्ति तिर्नुपर्नेछ ।   

मेलम्ची आयोजनाको काममा अहिले एक सय ४० नेपाली र ५० जना चिनियाँ कामदार फिल्डमा खटिएका छन् ।  असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झार्ने गरी काम अघि बढेको बताइएको छ ।   

ईआईए (वातावरणीय प्रभाव मुल्यांकन) रिपोर्टका अनुसार ४ सय लिटर पानी खोलामा छोडेर बढी भएको पानी मात्रै काठमाडौं ल्याउन पाइने छ । यदी यस्तो नभएमा अथवा नियम उल्लंघन गरेमा आयोजनामाथि कारवाही हुने बताइएको छ ।  यदी १५ सय लिटर पानी त्यहाँ छ भने ११ सय, २ हजार छ भने १६ सय र २४ सय छ भने २ हजार लिटर पानी मेलम्चीबाट काठमाडौं आउने छ ।  पहिलो चरणमा मेलम्ची खोलाबाट सुख्खा याममा बाहेक १७ देखि २२ करोड लिटर वर्खा याममा दैनिक ५१ करोड लिटरसम्म पानी राजधानीमा वितरण गर्न सकिने छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *