सडकमा उफ्रिएर मात्रै सीमा विवाद समाधान हुँदैनः पूर्वमन्त्री

कार्तिक २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले लिपुलेक र कालापानी नेपालकै भएको कुरा ऐतिहासिक तथ्यांकले पनि पुष्टि गरेको सुनाउँदै भारतसँगको विवाद कुटनीतिक तवरले हल गरिनुपर्ने धारणा राखेका छन् ।   

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘भारतले नयाँ नक्सा प्रकाशनमा ल्याएपछि यो अहिलेको जल्दोबल्दो बहसको विषय बनेको छ । अहिले सडक तातिएको छ । लिपुलेक र कालापानी नेपालकै हो । अहिलेसम्म सरकारको नेतृत्व गरेकाहरुले यो कुरा भारतसँग अडानका साथ राख्न सकेनन् । भारतसँग नेपालले कुटनीतिक पहल गर्नुपर्छ ।’ 

उनले उक्त विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भारतीय राजदुतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने पनि माग गरे । उनले भने, ‘यो विवाद कुटनीतिक संयन्त्रबाट हल गरिनुपर्छ । नेपालले कुटनीतिक टेबुलमा आफ्नो ऐतिहासिक तथ्यांक पेश गर्नुपर्छ । सरकारले कुटनीतिक कौशलता पेश गर्नुपर्छ । २०७२ सालमा भारत र चीनबीच लिपुलेकबारे भएको समझदारीको विरोधमा पहिले मैँले बोलेको थिएँ । हामीले कमजोरीबाट पाठ सिक्नुपर्छ । सिमा विवाद समाधान गर्नुपर्छ । सडकमा आएर उफ्रिएर हुँदैन ।’   

भट्टले कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने धारणा राख्दै इतिहासमा कहा– कहाँ कमजोरी गरेको हो भन्ने कुराको समिक्षा गर्न जरुरी रहेको बताए । उनले भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राख्दा नेपालले पनि आफ्नो सेना राख्न सक्नुपर्ने अभिव्यक्ति दिए । लामो समयदेखिको उक्त विवाद हल गर्नको लागि यसअघिका सरकारहरुले पहल नगरेको र आफूहरु सरकारमा हुँदा पनि त्यो काम नगरेको उनले स्विकारे । 

 लिपुलेक, कालापानी नेपालकै भ–ूभाग भएको र यसको प्रमाण नेपालका ऐतिहासिक दस्तावेज, नक्शाहरु, ब्रिटिस पुस्ताकालय, कयौं नक्साहरु र कञ्चनपुर मालपोत कार्यालयमा रहेको पनि उनले सुनाए । उनले भने, ‘हाम्रो पक्ष दरोसँग उभिनुभयो । तयारीका साथ द्धिपक्षीय संयन्त्रसँग जानुभयो । समाधान यी–यी हुन हाम्रा भनेर जानुपर्छ ।’ 

भारतको विरोध गर्दै सडकमा आउनुको अर्थ नभएको उनको तर्क छ । भट्टले भने, ‘हामी आफैं सत्तामा छौं । पार्टी च्यानलको माध्यमबाट जानुपर्छ । प्रधानमन्त्री–प्रधानमन्त्रीबीच हटलाईनमा कुरा हुनुपर्यो । विशेष दुत पठाउनुपर्यो । त्यहाँको राजदुतलाई सक्रिय बनाउनुपर्यो । भारतीय राजदुतलाई स्पष्टीकरण लिनुपर्छ । हिम्मत गर्नुपर्यो ।’ 

नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयबाट जारी गरिएको विज्ञप्तीमा मन्त्रालयको प्रवक्ताको नाम र हस्ताक्षर हुनुपर्ने थियो भन्ने अभिव्यक्ति पनि उनले राखे । उनले भने, ‘नाम, हस्ताक्षर र छाप किन भएन ? यसबारेमा समिक्षा गर्नुपर्छ । प्रधानमन्त्रीले त्यो सम्बन्धमा आवश्यक निर्देशन दिनुपर्छ । अहिले सडकभन्दापनि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्छ ।’ 

भट्टले नेपाल सरकारले कुटनीतिक कौशलता देखाउनुपर्ने र राजनीतिक नेताहरुमा त्यो दम रहेको पनि सुनाए । उनले भने, ‘हाम्रो सरकार र नेताहरुले भारतीय पक्ष र त्यहाँको प्रधानमन्त्रीसँग यो विषय गम्भिर रुपमा राख्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *