मन्त्रिपरिषद् हेरफेरमा देखिएका अस्पष्टता, के अब सरकारले गति लेला ?

मन्त्रिपरिषद् पुर्नगठन हुने भन्ने हल्ला चलेको करिब ५ महिनापछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरे । बिहानैदेखिको लामो कसरतपछि बेलुकी पखमात्रै सहमति भएपछि अन्ततः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरे ।   

करिब ५ महिनाभन्दा अघिदेखि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद हेरफेर गर्ने बताउँदै आए पनि बुधबार नेकपा सचिवालय बैठकले पार्टी अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँड गरेसँगै मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर भएको छ । 

सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री तथा नेकपा  अध्यक्ष ओलीले सरकार सञ्चालनको जिम्मेवारी पाएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सञ्चालनको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने मात्र जिम्मेवारी पाएसँगै पहिलो दिनमै मन्त्रीहरु हेरफेर गरे । मन्त्रीहरुको कार्यशैली बाट असन्तुष्ट उनले मन्त्रीहरुलाई हटाउनु उनको कार्यक्षेत्र भित्रको कुरा हो  ।   

प्रधानमन्त्रीले बहालवाला मन्त्रीहरुलाई बर्खास्त गरिरहँदा कतिपय मन्त्री नेपालमै थिएनन् भने कतिपय आफ्नो जिम्मेवारी हेरफेर प्रति नै सन्तुष्ट छैनन् । उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हालेका उपेन्द्र यादव भारत भ्रमणमा रहेकै बेला मन्त्रालय हेरफेर भएको छ । यादवलाई कानुन मन्त्री बनाइएको छ भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ । 

यादव आफैँले रोजेर पाएको स्वास्थ्य मन्त्रालय नेकपाको पोल्टामा गएपछि अब समाजवादीले कस्तो प्रतिकृया दिन्छ, सरकारमा रहन्छ कि रहँदैन चर्चाको विषय छ । यहि विषयले नेपाली राजनीति अगाडी बढ्ने देखिएको छ । केहि दिनअघि समाजवादीको केन्द्रिय समितिको बैठकले तत्काल सरकार छोड्ने र नछोड्ने विषयले ठूलै चर्चा पाएको थियो । पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले बैठकमा सरकार छाड्नु पर्ने प्रस्ताव राखेका थिए । तर, उपेन्द्र यादवकै जोडवलमा उक्त प्रस्ताव थाँति राखिएको थियो । 

मन्त्रालय हेरफेर भएको विषयमा समाजवादीका केहि नेताले आफुहरुलाई थाहै नभएको जिकिर गर्दा प्रधानमन्त्रीले उपेन्द्र यादवलाई पनि जानकारी नदिएकै हो त ? प्रश्न उठेको छ । यादवको जिम्मेवारी फेरिने जानकारी नभएको पार्टीका महासचिव रामसहाय यादवले भनिसकेकाले उपेन्द्र यादव भारत भ्रमणबाट आएपछि कस्तो प्रतिकृया देलान् चासो छ । 

आफूलाई पदबाट बर्खास्त गरिएपछि केही मन्त्रीहरु प्रधानमन्त्री ओलीसँग रुष्ट छन् । तर, बाहिर देखाउन सकिरहेका छैनन् । ६ महिनादेखि प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुको कार्यसम्पादन हेरिरहेका थिए ।  त्यत्तिबेलै कतिपय मन्त्रीहरुको बर्खास्त गर्ने हल्लाले काम गराइमा उत्साह गुमिसकेको थियो भने, मानसिक तनाव खेप्नु परेको थियो ।   

मन्त्री पदबाट बर्खास्त हुनेहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ उद्योग मन्त्री मातृका यादव, श्रम मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ, महिला बालबालिका मन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री राजकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव रहेका छन् ।   

बर्खास्त भएका मन्त्रीहरुले नराम्रै मात्रै गरे भन्ने पनि होइन । कतिपय अवस्थामा उनीहरुले गरेको कामकै कारण नेतालाई हेर्ने दृष्टिकोण परिवर्तन समेत आएको छ । उनीहरुको प्रतिष्ठालाई उँचो बनाएको पनि छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित जसले मुलुकमा प्रशासनिक क्षेत्रमा हुने वेथिति अन्त्य गर्नमा केही हदसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । संघीयता कार्यान्वयन र स्थानीय तहमा कर्मचारी समायोजनमा उनले सकारात्मक भूमिका खेलिरहेकै अवस्थामा उनी ‘ब्यूरोक्रेसी’को कोपभाजनमा परे । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नयाँ युगको सुरुवात भन्दै सामाजिक सुरक्षा कोष घोषणा गरे । त्यतिमात्रै होइन जापान र युएईमा शून्य लागतमा कामदार पठाउने सम्झौता गर्नमा विष्टले नै भूमिका खेलेका हुन् । मलेसियाका हकमा अपेक्षित काम गर्न नसक्नुमा नेकपाकै ठूला मेनपावर ब्यवसायीको हात रहेको जगजाहेर छ । विष्टको बर्हिगमनसँगै मानव तस्कर गर्न पल्केका मेनपावर ब्यवसायीहरुले रातभर ककटेल पार्टी दिएको चर्चा छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सार्वजनिक यातायातबाट सिन्डिकेट हटाउनका लागि प्रयास नगरेका हैनन् । पूर्णरुपमा सिन्डिकेट नहटेता पनि यातायात क्षेत्रमा हुने बेथिति केही हदसम्म कम गर्न उनको भूमिका छ । स्मार्ट लाइसेन्स, राजधानीका सडक निर्माणमा भने सोचे जस्तो काम गर्न नसकेकै हुन् । 

कसैलाई काख कसैलाई पाखा ! 

प्रधानमन्त्रीले कतिपय हटाउनै पर्ने मन्त्रीलाई भने काखी च्यापे । खानेपानी मन्त्री विना मगरलाई अर्का अध्यक्ष प्रचण्डका कारण ओलीले हटाउन सकेनन् । विना मगरले मन्त्रालयमा खासै काम गर्न सकिरहेकी छैनन् । उनकै कारण राजधानीमा मेलम्चीको पानी आउनमा ढिलाई भइरहेको बुझिएको छ । 

अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बैंकर र ब्यवसायीले खासै रुचाएका छैनन् । आश गरिएका मन्त्रीले काम गर्न नसक्दा अर्थतन्त्र धरासायी हुँदै गएको अर्थविद्हरुको धारणा छ । स्वयं सत्ता साझेदारहरु नै डा. खतिवडाप्रति असन्तुष्ट बन्दा प्रधानमन्त्री ओलीले उनलाई किन राखे ? यता शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेललेपनि मन्त्रालय चलाउन सकिरहेका छैनन् । शिक्षा क्षेत्र, त्यसमाथि मेडिकल शिक्षामा देखिएको समस्या हटाउन उनले चासो दिएका छैनन् । नयाँ शिक्षा नियमावलीमा समेत पोखरेलले शिक्षा प्रणाली नै ध्वस्त हुने काम गरेको भन्दै आलोचना भएको छ ।   

महिला तथा बालबालिका मन्त्री थममाया थापालाई बर्खास्त गर्नु नौलो थिएन । उनी महिनामा १५ दिन त उद्घाटन र सम्मान थाप्नमै ब्यस्त रहन्थिन् । उद्योग मन्त्री मातृका यादव इमान्दार पक्कै हुन् । तर, उनले मन्त्रालयमा रहेका कर्मचारीलाई मात्र हैन स्वयं प्रधानमन्त्रीलाई समेत रिजाएर काम गर्न सकेनन् । छुद्र बोली र पछिल्लो समय उनका देखिएको डिप्रेसनका कारण उनी बर्खास्तमा पर्नु नौलो कुरा थिएन ।   

खेलकुद मन्त्री, सुचना तथा सञ्चारमन्त्रीको समेत कार्य सम्पादन गतिलो छैन । तर, उनीहरु प्रधानमन्त्री ओलीकै अन्धभक्त भएकाले जोगिएको नेकपा भित्रै चर्चा छ । यसरी राम्रालाई हटाएर आफ्नालाई काखी च्याप्दा सरकारले जनचाहना अनुसार काम कसरी गर्ला ?   

प्रधानमन्त्रीले राम्रा काम गरेका मन्त्रीलाई हटाउँदा आफ्नो कामले प्रतिष्ठालाई उँचो बनाएका मन्त्रीहरुको पदसँगै प्रतिष्ठा पनि गुम्यो । राम्रा काम गर्नेहरुलाई असक्षमको बिल्ला भिराउने काम भयो ।   

मन्त्री पदमा रहँदा कामभन्दा बढी शान र औपचारिक कार्यक्रम उद्घाटनमै सिमित रहेका मन्त्रीहरुको पद वर्खास्त हुनु नौलो कुरा थिएन । तर, इमान्दार काम गर्न सक्ने क्षमता भएकालाई पनि पाखा लगाएर ओली सरकारको निर्णय भोलीका दिनमा गलत सावित नहोला भन्न सकिन्न । 

नयाँलाई चुनौति 

बर्खास्त भएका मन्त्रीका स्थानमा आएकाहरुलाई झन चुनौति बढेको छ । बर्खास्तमा परेका मन्त्रीहरुको भन्दा राम्रो काम गर्न सक्नुपर्छ । तर, श्रम, यातायात, स्वास्थ्य, उद्योग क्षेत्रमा काम गर्न सक्ने वातावरण छैन् ।   

विचौलियाहरुको हालिमुहाली छ । अहिले आएका केहि मन्त्रीका अनुहार आशा लाग्दा छन् । खासगरी कृषिमन्त्री घनश्याम भुसाल, यातायात मन्त्री बसन्तकुमार नेङवाङ, उद्योग मन्त्री लेखराज भट्ट, सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीबाट केहि राम्रो हुन्छ कि भन्ने आशा गर्न सकिन्छ । तर, यीनलाई नै चुनौतिका पहाडले थिचिरहेको अवस्थामा काम गर्न सक्छन् सक्दैनन् आगामी दिनले तय गर्नेछ । अहिलेलाई नयाँ मन्त्रीहरुलाई शुभकामना मात्रै ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *