‘कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, भारतीय सेना हट्नुपर्छ’
कात्तिक २०, काठमाडौं । कालापानी र लिपुलेक नेपाली भूभाग भएकोले विवाद समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् । ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको भन्दै डा. भट्टराईले कुटनीतिक तवरले विवाद समाधान गर्ने बताए ।
बुधबार रिपोर्टर्स क्लबमा बोल्दै भट्टराईले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् । ‘कालापानी नेपाली भ–ूभाग ऐतिहासिक तथ्यले पनि भन्छ । हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ ।’
उनले सिमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राख्दै भने–‘त्यसको आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को विकल्प छैन ।’ वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको उनको तर्क छ ।
सिमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाई छ । उनले भने,‘जुनसुकै समस्याको समाधान कुटनीतिक निश्कर्षमा पुग्नुपर्छ ।’ सरकारले जि.पि.एस. प्रणालीमार्फत सिमा व्यवस्थित गर्न गैरहेको पनि सुनाए । ‘सरकारले यसबारेमा एउटा टोली बनाएको छ, उनीहरुले अध्ययन गरिरहेका छन् ।’ उनले भने ।
नेपाल र भारतबीच कतिपय सिमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेकोपनि उनले सुनाए । उनले भने,‘कतिपय पिलरहरु हराएका छन् । जमिन अतिक्रमण भएका छन् ।’ नेपाल र भारत दुवैतर्फ रहेका स्थायी संयन्त्रमार्फत सिमा विवाद समाधान गर्नेपनि उनले जनाए ।
उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सिमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको जनाए । ‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं । ईपिजीको प्रतिवेदनमा नेपाल–भारत सम्बन्धका सबै उतारचढावबारे समग्र सुझाव छ ।’
उनले नेपाल–भारत सम्बन्ध आजको युग सुहाउँदो बनाउनेगरि सरकार अघि बढ्ने विश्वास दिलाए । नेपाल र भारत दुवै सार्वभौमसत्ता सम्पन्न देश भएकोले कुटनीतिक पहलमार्फत समस्याहरु समाधा गर्नुपर्ने धारणा राखे । र, यही कुरा चीनसँग पनि लागु हुने उनको तर्क छ । सरकारले जनता र भुगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । ‘सरकार यसबाट दायाँबायाँ हुँदैन । आफ्नो दायित्वबाट पछि हट्दैन, यदि हाम्रो सिमा तलमाथि भएको रैछ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं ।’
त्यस्तै, उनले लिपुलेक पनि नेपालकै भएको बताए । भारत र चीनले लिपुलेकबारे गरेको सहमतिमा नेपालले आफ्नो पोजिशन राखिसकेको उनले सुनाए । ‘अध्ययनको आधारमा र तथ्यांकको आधारमा लिपुलेक हाम्रो हो । यसमा हाम्रो दाबी हुन्छ ।’ लिपुलेकबारे भारत र चीनबीच भएको सहमति बेठिक भएको उनको दाबी छ । उनले भने,‘यसबारेमा नेपालले दुवै देशलाई पत्राचार गरेर आफ्नो धारणा राखेको छ ।’ उनले आफूहरुले नेपालको भ–ूभाग कुनैपनि हालतमा नछोड्ने स्पष्ट पारे ।
फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएको दाबी गरे । ‘उहाँ अहिले दैनिक कार्यमा व्यस्त हुनुहुन्छ । आजपनि साग खेलकुद प्रतियोगिताबारे ब्रिफ लिनुभएको छ । चिकित्सा शिक्षा आयोगको बैठकमा सहभागी हुँदैहुनुहुन्छ ।’ उनले भने ।