सन्दीपलाई फसाउन खोजेको तरुण दलको आरोप, बरामद हतियारको ‘फिङ्गर प्रिन्ट’ जाँच गर्न माग

कार्तिक १५, काठमाडौं । नेपाली कांग्रेस निकट तरुण दलले नेपालगञ्ज नगर कमिटीका अध्यक्ष सन्दीप जंग शाहलाई फसाउन खोजेको भन्दै पक्राउप्रति आपत्ति जनाएको छ ।   

बिहीबार बेलुकी साढे ८ बजे कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट नगर अध्यक्ष शाहसहित, दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगर पक्राउ परेका थिए ।   

उनीहरुलाई हातहतियारसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको थियो । रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरिरहँदा तरुण दलले भने झुठो आरोपमा फसाउन खोजिएको जिकिर गरेको छ ।   

तरुण दलको केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले भने प्रहरीबाट झुठा आरोपमा फसाउने काम गरेको भन्दै यसले सामाजिक आतङ्क सृजना गर्ने काम भएको जिकिर गरेका हुन् । प्रहरीले बरामद गरेको हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन अध्यक्ष बस्नेतले माग गरेका छन् ।   

प्रहरी आफैँले लगेको हतियार सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भन्दै झुठो प्रचार गरेको अध्यक्ष बस्नेतको दाबी छ । बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाहीको गर्न समेत माग गरे । माग बेवास्ता गरे सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *