मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘मन्त्रीहरु असफल तपाईं सफल कुन शास्त्रको मानक हो ?

सुकरात आफ्ना चेलाहरुसँग बसेर कुरा गरिरहेका थिए । यही समयमा आफूलाई ज्योतिष बताउने एउटा मानिस प्रवेश गर्दै भन्छ– ‘म अनुहार हेरेर उसको  विगत, वर्तमान र भविष्य बताउन सक्छु ।’ ज्योतिषले सुकरातका बारेमा फटाफट भन्न थाल्यो– ‘नाकका प्वालको आकार हेर्दा थाहा हुन्छ तपाईं रिसाहा हुनुहुन्छ । टाउकोको आकारले भन्छ–अत्यन्त लोभी हुनुहुन्छ । दारीको आकारले सन्काहा प्रवृत्ति हावी भएको इंगित गर्छ । ओठको आकारले मानिसलाई विद्रोहका लागि उक्साउन माहिर हुनुहुन्छ ।’ 

ज्योतिषले आफ्ना गुरुका विषयमा अन्टसन्ट विश्लेषण गरेको सुनेपछि चेलाचपेटा उत्तेजित भए । तर सुकरातले भने विभिन्न उपहारसहित ती ज्योतिषलाई सधन्यवाद विदाइ गरे । गुरुको अनौठो व्यवहारले आश्चर्यमा परेका चेलाहरुलाई सम्झाउँदै सुकरातले भन्न थाले– ‘म रिसाहा पनि छु, सन्की पनि छु, लोभी पनि छु । ज्योतिषले सही विश्लेषण गरेका हुन् । तर उनलाई यो थाहा भएन कि मैले मेरो सकारात्मक सोचले मेरा ती अवगुणहरुलाई निस्तेज गर्ने गर्छु ।’ 

कुनै देशलाई सिध्याउनु पर्यो भने त्यहाँको शिक्षा पद्धतिमा विष घोलिदिए पर्याप्त हुन्छ । यसो भएमा जनता झुक्याउने नेता, न्याय लिलाममा राख्ने न्यायाधीश, किड्नी खोतल्ने डाक्टर, धर्म सौदा गर्ने पुजारी, गुरुलाई खुँडाले सत्कार गर्ने शिष्य, बाउआमालाई बृद्धाश्रमको पाहुना बनाउने छोराछोरी पाइला पाइलामा भेटिन्छन् । जिन्दगीका धेरै आयाम पुस्तकमा नभएर माटो र बाटोमा भेटिन्छ । पुस्तक कम र ज्ञान धेरै बटुल्दा सुकरातको आयतन दार्शनिकमा अनुवाद भयो । त्यसैले चिराइतोमा पनि गुलियो भेटे ।  

null

प्रकृति अनौठो छ, गुनासो छ जिन्दगीसँग तर जवाफ लिएर समय उपस्थित हुन्छ । पहिलो भोजनालय आमाको दूध, पहिलो शौचालय आमाको काख, पहिलो स्कुल आमाको भान्साघर, पहिलो शिक्षक–डाक्टर आमा, ज्वरो नाप्ने थर्मामिटर आमाका औंला र चढेको पहिलो बाहन आमाको पिठ्यूँ जीवनका कटु सत्य उल्लेख भएका पुस्तक शिशुको हातमा नपुगेसम्म मन मनमा लागेको अराजकताको डढेलो कहिल्यै शान्त हुँदैन । दुईघण्टे जाँचमा ल्याउने अंकको गन्तव्यले त आखिर चिउराको बोट खोज्ने संस्कृतिलाई नै संस्थागत गर्ने हो । त्यसैले त भनिन्छ–बच्चालाई उपहार दिनु भएन भने एकछिन फन्केला, रोला, कराउला मुख बिगार्ला तर संस्कार पाएन भने जिन्दगीभर रुन्छ ।   

मुलुकको मुखिया केपी ओली यतिबेला अस्पतालमा हुनुहुन्छ । बाहिर जताततै सित्तै पाउने अक्सिजनको मूल्य अस्पतालको बेडमा कति महँगो हुने रहेछ, उहाँले नजिकबाट अनुभव गरेको हुनुपर्छ । मुलुक व्यवस्थापन गर्ने एउटा रानो मौरी विरामी हुँदा यति धेरै घाटा मुलुकलाई हुन्छ भने ज्यामी मौरीहरुको स्वास्थ्य बिग्रँदाको हालत के हुन्छ ? हामीले अस्पताल बनाउन प्रतिस्पर्धा ग¥यौं तर जनता रोगी नै हुन नदिने उपायका विषयमा कहिल्यै बहस नै गरेनौं । मान्छेको यही कायाभित्र स्वर्ग, नर्क, सुखशान्ति, ऐश्वर्य, प्रेम लुकेको हुन्छ । प्रधानमन्त्रीका लागि यतिबेला सर्वाधिक ठूलो शत्रु प्रतिपक्षी नभएर आफ्नै शरीरभित्रको रोग हो । नढाँटीभन्दा औषधीले गर्ने साइड ईफेक्टभन्दा औषधि निल्ने पानीले बिसाउला भनेर त्राही त्राही हुनुपर्ने अवस्था मुलुकबासीको छ । 

अधिकांश रोगको जड पानी हो भन्ने डाक्टरको मत छ । तर राजनीतिक डाक्टरहरुको राजनीति त्यही पानीमा टिकेको छ । प्यास मेटने पानी नभए पनि ओखती निल्ने पानी जनतालाई ख्वाउने प्रण त्यही बेडबाट गर्नुस् । दर्जनौं ओखतीमा राज्यलाई भार पर्ने गरी अनुदान किन दिने ? बरु कुखुराको मासुलाई यति सस्तो बनाउँ कि खाजामा समेत नेपालीले मासुभात खाउन । एक दशकपछि रोगी नपाएर देशभरका अस्पताल संकटमा परे भन्ने समाचार आओस् । मासुभात खाएर उत्पादित ‘भुसतिघ्रे’ जनशक्तिलाई काम दिएर हेर्नुस अनि देख्नुहुन्छ परिणाम । बाटो खनिदिनुस् न गर्ने त सन्ततिले हो । यतिका वर्ष अरुले हुर्काएको बुढो भोगटेको रुखमा मलजल गरेर स्याउ फलाउने फन्टुस काम सच्याउनुस् प्रधानमन्त्रीज्यू । तपाईंले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ? छातीमा हात राखेर भन्नुस् त– ‘मन्त्रीहरु असफल तपाईं सफल कुन शास्त्रको मानक हो ? क्याप्टेन सफल खेलाडी असफल कुन खेलमा हुन्छ ?’ ०७ सालमा आएको प्रजातन्त्र एक वर्षपछि जुम्लीले थाहा पाएको समय होइन यो ।   

राम्रो कामको बासना अनन्त फैलिन्छ । अलेक्जेण्डर ग्रामवेलकी पत्नी कान सुन्न असमर्थ थिइन । उनको नाम थियो– ‘हेल्लो’ । घरव्यवहार नै चल्न समस्या भएपछि ग्रामवेलले पत्नीका लागि एउटा यन्त्र बनाउने विचार गरे । रातदिनको मेहनतपछि यन्त्र तयार भयो । आफूले बनाएको यन्त्र नजिक गएर बस्न पत्नीलाई भने । यताबाट उनी ‘हेल्लो’ भनेर चिच्याउँछन् तर पत्नीले सुने पो । ग्रामवेलले पत्नीसँग संवाद गर्न बनाएको यन्त्रले टेलिफोनको रुप धारण ग¥यो । आज संसारमा सबैभन्दा बढी संसारमा बोलिने शब्द ‘हेल्लो’ भएको छ । पत्याउनुहुन्छ– भगवानको नामभन्दा बढी ‘हेल्लो’ उच्चारण हुन्छ । कति भाग्यमानी पत्नी थिइन हेल्लो । मरेर गएको वर्षौं भइसक्दा पनि संसार उनको नामका पछाडि दौडिरहेको छ ।   

प्रधानमन्त्रीज्यू, खानेपानी, यातायात, वातावरणजस्ता मन्त्रालय आफ्नो हातमा लिएर सरसफाई, पूर्वाधार र पानीको छेलोखेलो गरिदिनुस् । शितल जल र स्वस्थ हावाले जनताको प्राणवायु फ्रेस गरिदिनोस् । हामी पनि ग्रामवेलभन्दा कम छैनौ–हरेक बाटोको नाम केपी मार्ग र धाराको नाम ‘राधिका जल’ सहर्ष स्वीकार्छौं ।   

अर्थशास्त्रको सर्वाधिक ठूलो मुख्यालय चुलो हो । ताउलोमा आगो सहजसँग लाग्यो भने बाँकी सबै गुनासा आफैं सेलाउँदै जान्छन् । घर ठूलो भएर भन्दा पनि परिवारका सदस्यमा हाँसोको मात्राले सन्तुष्टि उजागर हुन्छ । गल्ती हुनु प्रकृति, स्वीकार्नु संस्कृति र सुधार्नु प्रगति हो । जीत हार सोचमा भर पर्छ । मान्यांै भने हार, ठान्यौ भने जित । चुनाव जितेर केही हुन्न, मन जित्नु प¥यो । चुनाव त प्राविधिक खेल न हो । चुनावमा उठेका योजनाविद् डा. हर्क गुरुङलाई  नेपाली जनताले जिन्दगीभर केही सय मतमा सीमित राखे । तर देशको राष्ट्रिय योजना आयोग उनैले खनेको जगमा अडेको छ । जतिसुकै विद्यावारिधि फेरिए पनि हर्क गुरुङको त्यो साखलाई कसैले विस्थापित गर्न सक्दैन । नेपाल बुझेका तीन व्यक्ति थिए– टोनी हागन, हर्क गुरुङ र डोरबहादुर विष्ट । यी तीनै जना यो धरामा छैनन् । तर अहिलेका सबै नेताले हेलिकोप्टरमा मारेको भन्दा धेरै दूरी यी त्रय महामानवको पाइतालाले नापेका थिए । नङ्ग्राले देशको शरीर छामेका थिए । हिमाल, पहाड र तराईको सामथ्र्य बुझेका थिए ।   

संसारमा पद हैन, मान्छे इमान्दार हुने हो । मन, ओठ वा मनमस्तिष्क के बाट मान्छेको विचार निसृत हुन्छ, उसको धरातल पनि त्यसैबाट निर्धारित हुन्छ । बोलीमा इमानदारी र काँधमा जिम्मेवारी लिएको मानिसका लागि वर्तमान सर्वस्व हो । न उ अनिश्चित भविष्यको वायुपंखी घोडामा रमाउँछ, न विगतको विषाद सम्झिएर पश्चातापको पोखरीमा पौडी खेल्छ । बरु महाभारत पात्र अर्जुनजस्तै रुखको हाँगामा झुण्डयाइएको चराको आँखा मात्र देख्छ र लक्ष्यप्राप्तिमा अघि बढ्छ । यस्ता मानिसले एण्डरसनको जस्तो आयु थप्न भौंतारिनु पर्दैन । न त  स्वर्गको ढोका खोल्न जीवनको अन्त्य नै पर्खिनुपर्छ ।   

प्रकृतिको लीला विचित्र छ । जीवनकै ठूलो सम्पत्ति ज्ञान, उत्कृष्ट हतियार धैर्य, राम्रो सुरक्षा विश्वास र राम्रो औषधि हाँसो हो । अचम्म त यो छ जुन सित्तैमा पाइन्छ । रिसले भ्रम, भ्रमले बुद्धि, बुद्धिले तर्क यी सबै नष्ट भएपछि मानिस पतनको मुखमा पुग्ने हो । मानिसको जिन्दगी रेलको लिगमा दौड्दैन । मानिसका के कुरा ? शास्त्र पल्टाउनुस् त सीताका संरक्षक राम जस्ता बलवान पुरुष थिए, तर अपहरण हुँदा थिएनन । द्रौपदीका पाँच पति थिए, कौरवले निर्वस्त्र बनाउँदा कसैको साथ काम लागेन । दशरथका चार पुत्र थिए, प्राण जाने बेलामा त्यस्ता परमार्थी राजा एक्लो थिए । रावण धनवान, बलवान थिए, लंका जल्दा त्यो सामथ्र्य र ऐश्वर्यले काम गरेन । सहोदर भाइसमेत कुलद्रोही भएर निस्किए । अभिमन्यू राजखानदानको भएपनि चक्रव्यूहमा फसेपछि छुटाउने कोही भएनन । यो सत्यलाई नेतृत्वमा बस्नेले सधैं शिरमा राख्न जरुरी छ ।   

कुनै अडान लिन परे रुखजस्तो उभिन तयार र खस्नै परे बीउजस्तो भएर खस्नु जाति हुन्छ । यसो भयो भने झरेको बीउ भोलि उम्रिएर अडान लिँदै उभिन सक्छ । जीवनको पहिलो सत्य आफ्नो जन्म तिथि मिति हो । तर त्यो पनि अरुबाट थाहा पाउनु पर्छ । अनि आफूलाई बादशाह सम्झिनुको अर्थ के नै रहन्छ र ? अहिलेसम्म पाँचथरि बाठाको जन्म भएको छ ।  एकथरि कागको फुल चोर्ने, अर्को कागको फुल चोरेर कागलाई नै अम्लेठ बनाएर बेच्ने, तेस्रो कागको फुलबाट चल्ला कोरलेर कुखुरा भन्दै बेच्ने अनि पाँचौ चाहिँ कागको फुललाई गुलेलीमा राखेर कागलाई नै हान्ने ।   

जीवनको रहस्य के हो ? यस्ता प्रश्नहरुको चाङ बोकेर मानिस सृष्टिदेखि अहिलेसम्म अविराम यात्रा गरिरहेको छ । तर हजारौं, लाखौं भूmठहरुको पहरा, पर्खाल नाघेर पनि उसले चित्तबुझ्दो सत्यमा सीमित हुन सकेको छैन् । स्वच्छ, सीधा र साँचो कसले बोल्ने ? आत्मैदेखि बोल्ने अभ्यासमा हामी कति पारंगत छौं ? आफ्नै हात छातीमा राखेर धर्म भाक्नुस् त–सत्विवेकको नाममा, नीति धर्मको नाममा, जीवन जीविकाको बाध्यतामा अनि राजनीतिको खालमा अन्तरआत्माको आवाजलाई कति धोका दिनुभयो ? समयले काँडा उमार्दैन । समयलाई दोष दिएर उम्किने प्रयास अब काम लाग्दैन । यदि यो फाल उम्कियो भने शास्त्रले भनेको यही सत्य हाम्रा लागि सत्बचन हुनेछ । हाम्रो बिन्ती छ–शास्त्रको यो भविष्यवाणी मिथ्या सावित होस् ।   

दाता दरिद्रो कृपणो धनाढ्यः पापी चिरायु सुकृति र्गतायुः 

कुले च दास्यं अकुले च राज्यंकलौ युगे षड्गुणमावहन्ति 

अर्थात कलियुगमा दाता गरिब, लोभी धनी, पापी दिर्घायु, सज्जन अल्पायु, विद्वान दास र मूर्खले राज्य गर्छन । कलियुग पातिँदै गयो भने रुखले पात मात्र हैन, जरा पनि फेर्न बेर छैन् ।   

[email protected] 

प्रतिकृयाहरु
Loading...