कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः पौडेल पक्षले आज पनि बहिष्कार गर्ने

मंसिर २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बोलाइएको केन्द्रिय कार्यसमितिको बैठक रामचन्द्र पौडेल पक्षधरले बहिस्कार गर्ने भएको छ ।   

आफूहरुको माग सम्बोधन नभएको भन्दै पौडेल पक्षधरले आज (आइतबार) १ बजेका लागि डाकिएको बैठक बहिस्कार गर्ने भएको हो ।   

नेता पौडेलको अडानअनुसार १४ औं महाधिवेशनको कार्यतालितकाको विषयलाई केन्द्रीय कार्यसमितिको पहिलो र मुख्य एजेन्डा नबनाएका कारण आजको बैठक बहिस्कार गर्न लागिएको पौडेल पक्षधर नेता कल्याण गुरुङले बताए । आफूहरुको माग पुरा नभएसम्म बैठकमा उपस्थित नहुने उनको भनाइ छ ।   

१४औं महाधिवेशनको कार्यतालिकालाई सभापति देउवाले बिहीबारको बैठकमा पनि एजेण्डा बनाएका थिएनन्। सभापति देउवाले ९ बुँदे एजेण्डा बैठकमा पेश गरेका थिए ।   

१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, बढाइएको विभागहरु हटाइनुपर्ने, भ्रातृसंस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गरिसक्नुपर्ने लगायतका विषयमा दुई पक्षबीच सहमति बनेको छैन।   

शनिबार बिहान सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विवाद समाधानका लागि छलफल गरेका थिए । शनिबार दिउँसो पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापन पक्षबाट उपभापति विमलेन्द्र निधि र इतर पक्षबाट सिंहबीच करिब साढे दुई घण्टा छलफल भएको थियो ।   

देउवासँग पौडेल निवास बोहोराटार पुगेका निधि सिंहसँग छलफल गर्न उनको निवास पुगेका थिए । शनिबार बिहान भएको देउवा र पौडेलबीचको छलफलमा सहमति नजिक पुग्न नसकेपछि निधि र सिंहबीच छलफल भएको हो । 

विवाद देखिएका विषयमा चाक्सीबारीमा गहन छलफल भएपनि आ–आफ्नै अडानका कारण निष्कर्षमा पुग्न नसक्दा पौडेल पक्षधर आजपनि बैठक बहिस्कार गर्ने निर्णयमा पुगेको हो ।   

यसअघि संस्थापन इतर समूहले पनि बिहीबार बसेको बैठक बहिस्कार गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले विभाग र कार्यसम्पादन समिति एकलौटी गठन गर्न लागेको आरोप लगाउँदै उनीहरु बैठकमा उपस्थित नै भएनन् ।   

पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर महामन्त्री डा. शशांक कोइराला बैठकमा प्रवेश नै नगरी बाहिरिएका थिए। 

संस्थापन पक्षले बहुमतका आधारमा प्रस्तावित एजेण्डा पारित गर्ने तयारी गरेपछि इतर समूहका नेताहरु बैठकमा अनुपस्थित भएका थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *