मंसिर पूर्णिमा “दिन एक पर्व अनेक”

मंसिर २५, विराटनगर । प्रकृति पूजक किराँतहरुको महान चाड चासोक तङ्नाम अर्थात उभौली पर्व बिहिबार देखि देशका बिभिन्न भूगोलमा बसोबास गर्ने किराँत समुदायमा सुरु हुँदैछ । पूर्वी नेपालको किँराती समुदायमा रहेका राई, लिम्बु, याख्खा जातीहरुले मंसिरे पूर्णिमा लागे पछि उद्यौली पर्वका रुपमा चासोक तङ्नाम मनाउने गर्दछन् । चासोकको शाब्दिक अर्थ न्वागी र तङ्नामको अर्थ चाड भनिन्छ ।   

प्रकृति पूजक आदिवासी लिम्बू जातिले कृषिमा आधारित जीवनशैली अपनाइ आएको र वर्ष भरीका बाली बटुल्ने समयलाई पनि चासोक तङनाम भन्ने गरिन्छ । चासोक तङनाम लिम्बू मुन्धुममा आधारित मुख्य चाड मानिन्छ । किराँत मुन्दुम अनुसार वर्षलाई दुई भागमा विभाजन गरिएको छ ।   

वैशाखे पूर्णिमा देखि मंसिरे पूर्णिमासम्म उभौली र मंसिरे पूर्णिमा देखि वैशाखे पूर्णिमासम्म उधौली भनेर पर्व मनाउँदै आएका छन् । तराईमा गर्मी बढेसगँै माछा, चराचुरुंगी समेत उँभो लेकतिर बासस्थान सार्ने भएकाले पनि उभौली  भनिएको भनाई छ,  लेक वा  चिसो बढेसगँै माछा, चराचुरुंगी तराईतिर झर्ने भएकोले यसलाई भने उधौँली भन्ने गरिएको भनाई छ ।   

उधौँलीकै बेला हिमाली क्षेत्रमा बसोबास गर्ने भोटे, शेर्पा, लामा जातिका मानिसहरु वर्खाभरी रोपेका अन्नबाली थन्काएर हिमाली भेगमा पाईने अमूल्य जडिबुटीहरु लिएर जाडो छल्न तराई झर्ने गर्दछन् । तर जाती र समुदाय अनुसार फरक संस्कार संस्कृती भएकाले यसैलाई किराँतीहरु उधौली पर्वका रुपमा मनाउँछन् ।   

यहीँ उधाैँली पर्वलाई न्वागी पर्व पनि भन्ने गरिएको छ । यो पर्वलाई हिन्दु समुदायले प्रत्येक वर्ष धान्य पूर्णिमाको रुपमा गोठपूजा गर्ने साथै अन्नवाली अर्पण गर्ने चलन छ ।  अदिवासी लिम्बू जातिहरुले नयाँ बाली छर्ने समयमा पनि  बिरुवा रोप्ने समयमा पनि यक्वा पूजा गर्ने प्रचलन रहिआएको किराँत याक्थुम चुम्लुङ विराटनगरका जिल्ला कमिटि सदस्य तथा नगर कमिटीका सल्लाहकार  दिलबहादुर थेवे बताउँछन् ।   

उनका अनुसार पाकेको नया ँबाली थन्काउने समयमा घर–घरममा फेदाङवा (लिम्बुहरुको पुजारी) बोलाएर  पुजा  गर्ने प्रचलन रहेको छ ।   

नयाँ बालीलाई पृथ्वी मातालाई अर्पण नगरी खाँदा गलगाँड निस्किने मान्यता रहेका थेवेले बताए । तर पछिल्लो समय पुर्खोयौली घर छोडेर परदेशीएका सन्तानहरुले जसको खेती छैन उनीहरुले घर–घरमा मनाउने चासोक तङनामलाई देश विदेशमा चुम्लुङको नेतृत्वमा सामूहिक रुपमा चासोक तङ्नाम मनाउने गरेको थेवेको बताए ।   

 आफ्नो पहिचानलाई जीवन्त राख्नको निमित्त पनि  पछिल्लो समय नेपाल छाडेर परदेशीएका  युवा पुस्ताहरुमा पनि आफ्नो परम्परा रितिरिवाजको महत्व रहेको कारण उनीहरु सामुहिक चासोक तङनाम मनाउने गरेको उनले बताए । 

“हिजो जुजु बाजेले मानेका मौलिक परम्परा पुस्ता परिवर्तन भएसगैँ आधुनिकता अनुसार मनाउने तरिका फरक भए पनि पछिल्लो पुस्ताले पनि यो पर्वलाई महत्व देखाएको कारण पनि होला यो परिवर्तन भएको शैलीमा खासै फरक नपरेको” थेवेको भनाई छ । 

 पछिल्लो समय आदिवासी युवा पुस्तालाई आफ्नो मौलिक चाड संस्कार र संस्कृती तर्फ आकर्षण गराउँन बिभिन्न जातिय संघ–संस्थाहरुले साताव्यापी कार्यक्रम गर्ने गरेको छ । यी र यस्ता खाल्का धार्मिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध जोडिएका चाडपर्वलाई संरक्षण सर्म्बधनकालागि नेतृत्व तह र राज्यको तर्फबाट आवश्यक सहयोग हुन जरुरी रहेको देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *