पोखरा लेकसाईडको ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव
मंसिर २९, चितवन । मुलुकको दोश्रो पर्यटकीय क्षेत्र पोखरामा आउँदो पुष १२ गतेदेखी सडक महोत्सव हुँदैछ । सडकमै खाउँ सडकमै रमाऔ भन्ने नाराका साथ पोखरा रेवानको आयोजनामा महोत्सव हुन लागेको हो ।
पोखरा लेकसाईडको करिब ३ किलो मिटर सडकमै महोत्सव हुनेछ । महोत्सवको प्रचार प्रसारसँगै निम्तो बाँड्दै हिडेको रेवान पोखराको टोलीले आईतवार नेपालको तेश्रो पर्यटकीय क्षेत्र सौराहामा पत्रकार सम्मेलन गर्दै यहाँ आउने बाह्य पर्यटक र आन्तरीक पर्यटकलाई निम्तो दिएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष एउटै मिति पुष १२ गतेदेखी १६ गते सम्म सडक महोत्सव आयोजना गरिदै आएको छ । पोखरा र सौराहालाई जोड्दै पर्यटन प्रर्वधन गर्न सकिने पत्रकार सम्मेलनमा रेवान पोखराका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । सौराहा आउने पर्यटक प्राय पोखरा जाने र पोखरा आउने पर्यटक सौराहा समेत आउने गर्दछन् ।
त्यसैले यहाँ आएर पत्रकार सम्मेलन गरि पर्यटकलाई निम्तो दिदै हिडेको उनले बताए । महोत्सवमा भारत, पाकिस्तानबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । जहाँ नेपालको लोपउन्मुख सास्कृतिक कार्यक्रमहरु ३ किलो मिटर क्षेत्रका बाटोमा स्टेजहरुमा प्रर्दशन हुने भट्टराईले बताए । महोत्सवमा सडकमै राष्ट्रि तथा अन्तराष्ट्रिय खानाका परिकारहरुको स्वाद लिन पाउनुका साथै हस्तकला प्रर्दशनी,साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रर्दशनी, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुत समेत रहने मेला प्रर्वधन समितिका संयोजक सुर्य वहादुर भुजेलले बताए ।
पोखरा सडक महोत्सव मोडलको रुपमा देशभर बिस्तार भईरहेको पत्रकार सम्मेलनमा भुजेलले बताए । ३ किलो मिटर क्षेत्रमा खुल्ला रुपमा हुने हँदा निशुल्क अवलोकन गर्न पाईने महोत्सवको प्रायोजन, टिकट बिक्री लगायतबाट ८५ लाख रुपैयाँ आम्दानी हुनुका साथै ७० लाख रुपैया खर्च हुने महोत्सवका सहसंयोजक नरेश भट्टराईले बताए । उनका अनुसार वचत भएको रकमबाट पोखरामा सोलार बत्ती, सरसफाई, स्वास्थ्य शिविर, सिसि क्यामेरा जडान लगायत सामाजिक कार्यमा खर्च गरिनेछ ।
नेपाल भ्रमण वर्षको वेला हुन लागेको सडक महोत्सवले पर्यटन प्रर्वधन थप टेवा पुग्ने रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए । पर्यटन विकासमा सौराहा र पोखराबीच सम्वन्ध रहेको भन्दै पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके पर्यटन दिगो हुनुका साथै आम्दानीको श्रोत समेत वढ्ने खतिवडाको दावी छ ।
रेवान पोखराको टोलीले यसअघि जनकपुर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पोखरा सडक महोत्सवमा उपस्थित हुन निम्तो दिई सकेको छ । पोखरामा ४०० भन्दा वढि होटल र १५० भन्दा वढि रेस्टुरेन्ट रहेका छन् । साथै पोखरा आसपासमा १०० भन्दा वढि होमस्टे पनि छन् । यहाँ १ लाख सम्म पर्यटक बस्न सक्ने क्षमता छ भने ५ लाख सम्मलाई खुवाउन सक्ने क्षमता रहेको रेवान पोखराको दावी छ ।