विराटनगर भन्सार कार्यालयका तत्कालिन भन्सार प्रमुख विरुद्ध १७ लाख विगो दाबी

मंसिर २७, काठमाडौं । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विराटनगर भन्सार कार्यालय मोरङका तत्कालीन प्रमुख भन्सार समेत २ जना उपर १७ लाख विगो सहित आरोपपत्र दायर गरिएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उक्त मुद्दा दर्ता गरेको हो । 

तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अनुसन्धान हुँदा बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरीएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुस लिएको तथ्य प्रमाणित हुन आएको आयोगको ठहर छ ।   

निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले बस्नेतलाई घुस लिए खाएको जम्मा बिगो १७ लाख कायम गरीएको छ ।   

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र उक्त घुसवापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत माग दाबी लिइएको छ । 

साथै कृष्ण बहादुर बस्नेतले घुस रिसवतवापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएको र गौलीले निज बस्नेतले प्राप्त गर्ने कमिशन रकम आफूले लिने, प्रयोग गर्ने, विभिन्न व्यवसायहरु घरजग्गामा लगानी गर्ने देखिएको आयोगको ठहर छ ।   

गौलीलाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) अनुसार १७ लाख नै विगो दावि गरिएको छ । 

बिराटनगर भन्सारबाट भित्रिने सामानमा २५ प्रतिशतमात्र शुल्क असुल्ने र ७५ प्रतिशत भन्सार छली गर्ने गरिएको थियो ।   

भन्सारबाट एउटा कन्टेनरमा ब्यापारीले ६५ हजारदेखि ८५ हजार डलर बराबरको सामान ल्याए पनि ८ हजारदेखि बढीमा १५ हजार रुपैयाँको मात्र भन्सार तिरी भित्र्याउने गरेका थिए । बढीमा १५ हजार डलरको भन्सार तिरेर ६५ हजार डलरको सामान विनाभन्सार आयात गरी देशलाई करोडौं रुपैयाँ राजस्व मार्ने काम ब्यापारी र कर्मचारीको मिलेमतोमा हुने गरेको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *