खोटाङमा आगलागीः ६३ लाखको क्षती
पुष १, खोटाङ । गएराती खोटाङको एक घरमा संचालन भएको इलेक्ट्रोनिक सामग्रीको पसलबाट सुरु भएको आगलागीबाट ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित मनिकलाल प्रधानको घरमा संचालन भएको मोवाइल पसलबाट सुरु भएको आगलागीबाट ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भई क्षति भएको हो ।
टिनको छानो भएको तथा ढुङ्गा–माटोले बनेको उक्त तीन तले घरमा संचालित मोबाइल पसलमा विद्युत सर्ट भई लागेको आगलागीबाट मोवाइल पसलको सामाग्री जलेर १८ लाखको क्षती , घरमा भएको सामाग्री जलेर ३० लाख बराबरको क्षती र सोही घरमा संचालित पुस्तक पसलको १५ लाख बराबरको सामग्री जलेर ६३ लाख मूल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रातको करिब १ बजेको समयमा आगलागीको खबर पुगेको र स्थानियको सहयोगमा आगलागी भएको तीन घण्टापछी आगोलाई पूर्णरुपमा नियन्त्रणमा लिईएको हो ।