नागरिकता विधेयकः भारतीय जनता सडकमा आउनुको कारण के ?

मंसिर २६, काठमाडौं । भारतको माथिल्लो सदन राज्य सभाले पनि विवादास्पद नागरिकता संशोधन विधेयकलाई बुधबार पारित गर्यो जसमा विधेयकको पक्षमा १२५ र विपक्षमा १०५ मत खसे ।   

त्यसअघि राज्य सभाले सो विधेयकलाई सम्बन्धित समितिमा लैजाने प्रस्ताव खारेज गरिदिएको थियो। समितिमा लैजानुपर्ने पक्षमा ९९ मत परेको थियो भने विपक्षमा १२४ मत खसेको थियो । संशोधनका लागि थुप्रै प्रस्ताव आएतापनि ध्वनि र मतदानमार्फत खारेज गरिएको थियो। 

सो विधेयक सोमबार राति मात्रै तल्लो सदन लोकसभामा बहुमतले पारित भएको थियो। राज्यसभामा विधेयक पेस गर्दै गृहमन्त्री अमित शाहले पाकिस्तान, अफगानिस्तान र बंगलादेशमा धार्मिक प्रताडना भोगिरहेका मानिसलाई नागरिकता दिनका लागि यो विधेयक ल्याइएको जनाएका थिए ।   

विरोध

विधेयक पास भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै यो विधेयकलाई लिएर विपक्षले पाकिस्तानको भाषा बोलेको आरोप लगाउन भ्याए । उता असमको गुवाहटी क्षेत्रमा व्यापक विरोध प्रदर्शन भयो । प्रदर्शन जारी नै छन् । 

आन्दोलन नियन्त्रणमा लिनका लागि सरकारले बुधबार बेलुका ६ बजेदेखि कर्फ्यु लगाएको छ भने इन्टरनेट पनि अवरुद्ध गरिएको जनाइएको छ। असमको गुवाहटीमा हिजो दिनभरी प्रदर्शन र आगजनी भएको थियो। 

सरकारले यसरी पास गराएको विधेयकमा प्रमुख प्रतिपक्ष भारतीय कंग्रेसले भने आपत्ति जनाउँदै आएको छ। विपक्षी दल कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले यो विधेयक पारित भएको दिनलाई संवैधानिक इतिहासको कालो दिन भएको टिप्पणी गरिन्। उनले यसबाट भारतको एकता पराजित भई संकीर्ण मानसिकता र कट्टर ताकतको जित भएको आरोप लगाइन्। 

नागरिकता संशोधन विधेयकको विरोधमा देशभरमा नागरीकस्तरको विरोध प्रर्दशन चलिरहेको छ। असम र गुहावटी क्षेत्रमा सरकारले विरोध प्रर्दशनलाई ध्यानमा राखेर कर्फ्यु समेत जारी गरेको छ। मुस्लिम समुदायलाई भेदभाव गर्ने गरी विधेयक ल्याएको भन्दै मुस्लिम समुदायबाट त्यसको तीव्र विरोध भइरहेको छ। मुस्लिम समुदायबाट भएको यो विरोधमा  प्रतिक्रिया जनाउँदै केन्द्रीय गृहमन्त्री अमित शाहले भने, ‘भारतीय मुस्लिम सुरक्षित छन् र सधै‌ं सुरक्षित रहनेछन्।’ 

मोदी नेतृत्वको सरकारले नागरिकता संशोधन विधेयक ल्याएलगत्तै भारतमा फैलिएको आक्रोश राज्यसभाबाट पनि पारित भएपछि थप चर्किएको छ ।   

बुधबार आन्दोलन चर्किंदै गएपछि आसामको गुवाहाटीमा साँझदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ । प्रदर्शनकारीले त्यहाँको चबुआ र पनीटोला रेल स्टेशनमा तोडफोड तथा आगजनी गरेका छन् । अन्य केही सवारी साधनमा पनि आगजनी भएको छ । 

स्थानीय प्रशासनले सेनालाई उच्च सतर्कतामा राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आसामको गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय १० कम्पनी अर्धसैनिक बल र राज्य सुरक्षा बललाई तैनाथ गरिएको छ । डिब्रुगढ र तिनसुकिया रेल स्टेशनमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् । 

प्रदर्शनकारीले बुधबार दिनभर केन्द्र र राज्य सरकारविरुद्ध नाराबाजी गर्दै नागरिकता विधेयक विनासर्त फिर्ता गर्न माग गरेका थिए । उनीहरुले सडकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो । 

विधेयकको विरोधमा आसामका बिभिन्न स्थानमा हिंसात्मक घटनाहरु भएका छन् । प्रहरीको हस्तक्षेपबाट विद्यार्थीहरुसहित कम्तिमा २५ जना प्रदर्शनकारी घाइते भएका छन् । 

गुवाहाटीबाट प्रकाशित हुने दैनिक पत्रिका पूर्वोदयका सम्पादक रविशंकर रविले बीबीसँग भनेका छन्, ‘यो आन्दोलनलाई साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसहरुले समेत समर्थन गरेका छन् । यस्तो लाग्छ यहाँका हरेक व्यक्ति आन्दोलित छन् ।’ सम्पादक रविशंकरका अनुसार प्रदर्शन चर्किएपछि गुवाहाटी र डिब्रुगढ विश्वविद्यालयका परीक्षा पनि स्थगित भएका छन् । 

विरोध प्रदर्शनका कारण बुधबार आसामका मुख्यमन्त्री सर्बानन्द सोनोवाल गुवाहाटी विमानस्थलमा धेरै बेरसम्म रोकिन बाध्य भएका थिए । सोनोवाल तेजपुरबाट आसामको राजधानीस्थित गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । तर विरोध प्रदर्शनका कारण उनी धेरै बेरसम्म विमानस्थलको भीआईपी कक्षमै रोकिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् । 

लोकसभा नागरिकता विधेयक पेस हुनासाथ नर्थ इस्ट स्टुडेन्ट्स् अर्गनाइजेसन (नेसो) नामक संगठनले १० डिसेम्बरमै पूर्वोत्तर क्षेत्र बन्द आह्वान गरेको थियो । त्यस दिन आसाम, त्रिपुरा, मेघालयसहितका अधिकांश स्थान ११ घण्टासम्म बन्द रहे । यो बन्दलाई अल आसाम युनियन ९आसु० र अल आसाम गोरखा स्टुडेन्ट्स् युनियन समेतका धेरै संगठनहरुले समर्थन गरे । बन्दका कारण गुवाहाटी, डिब्रुगढ, तिनसुकिया, जोरहाटका साथै मेघालय, त्रिपुराका लगायतका विभिन्न शहर ठप्प रहे । साँझ परेपछि पसलहरु खुले र स्थिति सामान्यतर्फ फर्कियो । 

त्यसको भोलिपल्ट अर्थात ११ डिसेम्बर बुधबारको दिन बिहानपख जनजीवन अन्य दिनको जस्तै सामान्य थियो । तर, मध्याह्न १२ बजेपछि गुवाहाटीका फेन्सी बजार, क्रिश्चियन बस्ती, नेटपी हाउस, गुवाहाटी विश्वविद्यालय, चाँदमारी, पल्टन बजार जस्ता क्षेत्रबाट विद्यार्थीहरुको अलग–अलग समूह नागरिकता विधेयकको विरोधमा उत्रिएको देखियो । 

उनीहरुले आसामको राजधानी ‘दिसपुर जाऔं’ भन्दै मार्चपासको आह्वान गरे । केबल दुई घण्टाभित्रै गुवाहाटी–शिलोङ्ग सडकखण्ड (जीएस रोड) मा हजारौँ प्रदर्शनकारी जम्मा भए । उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुत्ला जलाए । दर्जनौँ स्थानमा आगजनी भयो । सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारियो । सवारी साधनहरुको कयौँ किलोमिटर लामो जाम भयो । त्यसपछि प्रहरीले लाठी चार्ज गरेर सडक खुलाउने प्रयास गर्‍यो । 

यति गर्दा पनि प्रदर्शनकारीको आक्रोश कम भएन । उनीहरुको भिड झन् बढ्यो । बीबीसी लेख्छ, ‘साँझ परेपछि स्थिति झन् बिग्रियो । यस्तो लाग्यो मानौं हरेक स्थानमा आगो लागेको छ ।’ रात परेपछि जताततै आगोको मुस्लो देखिन थाल्यो भने फायरिङ र विष्फोटको आवाज सुनिन थाल्यो । 

उक्त विधेयकमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानका ६ अल्पसंख्यक (हिन्दु, बौद्ध, जैन, पारसी, इसाई र सिख) सँग सम्बन्धित मानिसलाई भारतीय नागरिकता दिने प्रस्ताव छ।  विद्यमान व्यवस्था अनुसार कुनै पनि व्यक्ति भारतीय नागरिकता लिन कम्तीमा पनि ११ वर्ष भारतमा अनिवार्य रुपमा रहनुपर्छ। विधेयकमा छिमेकी देशका अल्पसंख्यकका लागि दिइएको उक्त समायअवधि ११ वर्षबाट घटाएर ६ वर्ष पुर्‍याइएको छ। 

जसका लागि नागरिकता अधिनियम १९५५मा केही संशोधन गरिने छ जसले मानिसलाई नागरिकता प्राप्त गर्नका लागि कानुनी मद्दत गर्नेछ। अहिलेको कानुनले भारतमा अवैध तरिकाले बस्ने मानिसलाई नागरिकता दिँदैन र उनीहरुलाई आफ्नै देशमा फर्काउनका लागि हिरासतमा समेत राख्ने प्रावधान छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *