हवाई यात्रामा विदेशीलाई तीन गुणा बढी भाडा, नेपालीकाे बराबरीमा ल्याउन सुझाव

मंसिर २२, काठमाडौं । सरकारी अध्ययन समितिले हवाई टिकटको मूल्य नेपाली र विदेशी नागरिकलाई समान बनाउन सुझाव दिएको छ ।   

पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा गठित आठ सदस्यीय कार्यदलले पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा समान भाडादर बनाउन सुझाव दिएको हो ।   

विदेशी नागरिकलाई नेपालमा डलरमा भाडादर लिइँदै आएको छ, जुन स्वदेशीको तुलनामा चार गुणासम्म महंगो पर्छ । यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेको भन्दै टोलीले हवाई नीतिलाई नै परिमार्जन गरेर समान भाडादर लागु गर्न सुझाव दिएको हो । विदेशीहरु धेरै महंगो भाडा तिरेर हवाई यात्रा गर्न आकर्षित नहुने समितिको ठहर छ ।   

Image result for त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विदेशी नागरिक

भदौ २३ गते गठित कार्यदलले दिएको सुझावमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट, हवाई इन्धनमा छुट, वायुसेवालाई सहुलियत, स्वदेशी र विदेशीबीचको असमान भाडादर हटाउने लगायतका विषय उल्लेख छन् ।   

हवाई उद्योग तथा एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकाले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव कार्यदलको रहेको छ ।   

कार्यदलले १३ मंसिर २०७६ मा ट्राभल एजेन्सीबाट विभिन्न रुटको भाडादर मागेर विश्लेषण गरेको थियो । त्यसअनुसार विदेशीलाई हवाई भाडा नेपालीलाई भन्दा तेब्बरसम्म बढी गरिएको पाइएको छ । 

प्रतिवेदनमा समितिले एक करोड रुपैयाँको ज्येष्ठ नागरिक कोष खडा गरेर ७० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ।   

त्यस्तै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवाको उडानलाई कम्तीमा ३ वर्ष छुटको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।   

यसका लागि पहिलो वर्ष ५० प्रतिशत, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशतले वित्तीय उत्प्रेरणामा छुट दिन कार्यदलले सिफारिस गरेको छ।   

आन्तरिक उडानका जहाजलाई कम्तीमा ३० प्रतिशत जहाज काठमाडौं बाहिरका विमानस्थल नेपालगन्ज, पोखरा र विराटनगरमा राख्नैपर्नै व्यवस्था गर्न सुझाइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *