श्रीमानको विरासत धान्ने श्रीमतिहरु, जो पहिले गुमनाम थिए
मंसिर १६, काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचनको अधिकांश स्थानको मत परिणाम पनि घोषणा भइसकेको छ । स्थानीय तहका जनप्रतिनिधि तथा सांसदहरुको विभिन्न दुर्घटनामा अल्पायुमै निधन भएपछि रिक्त रहेको पद पूर्तिका लागि उपनिर्वाचन भएको हो ।
यस पटकको उपनिर्वाचनमा अधिकांश स्थानमा श्रीमानको निधन भएपछि श्रीमतिलाई उम्मेद्वार बनाइयो । र, कतिपय ठाउँमा विजयी पनि भए ।
हुन त अहिले मात्रै नभएर विभिन्न राजीतिक दलको पृष्ठभूमि हेर्ने हो भने विगतदेखि नै श्रीमानको देहान्तपछि श्रीमतिले नै विरासत धानेको पाइन्छ । वर्तमान राष्ट्रपति विद्यदेवी भण्डारीलाई नै हेरौँ न । उनी अहिले राष्ट्रपतिसम्म हुनुको पछाडि उनको श्रीमान अर्थात नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता मदन भण्डारीको मृत्यु नै हो भन्नेहरु पनि थुप्रै छन् ।
null
नेता मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि उनी राजनीतिमा सक्रिय रुपमा लागेको पाइन्छ । त्यसअघि उनी विसुद्ध गृहणी थिइन् ।
त्यस्तै स्व.साहना प्रधान । उनी पनि उनका श्रीमान कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको मृत्युपछि राजनीतिमा थप सक्रिय भएकी हुन् । त्यस्तै बहालवाला खानेपानी मन्त्री बिना मगर पनि उनका श्रीमान प्रकाश दाहालको हर्ट अट्याकका कारण अल्पायुमै निधन भएपछि उनलाई ससुरा एवंम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बनाएका हुन् भन्ने कुरामा दुई मत छैन ।
यी त केही उदाहरण मात्रै हुन्, राजनीतिक दलका पुराना नेत्रीहरु थुप्रै छन् जो पहिले गुमनाम थिए । जो श्रीमानको निधनपछि राजनीतिज्ञको रुपमा उदाएका छन् । पछिल्लो समयमा पनि यहि प्रवृत्तिले निरन्तरता पायो । हालैको उपनिर्वाचनमा पनि श्रीमानको निधन भएपछि श्रीमतिलाई उम्मेद्वार बनाइयो जो पहिले केही समय राजनीतिमा सक्रिय भएपनि श्रीमानको सक्रियता बढेपछि राजनीति त्यागेर अन्य पेशा व्यवसाय अपनाउनेहरु नै थिए भने कोही घरगृहस्थी जीवनमा रमाइरहेका थिए ।
उपनिर्वाचनको घोषणा भएको नतिजाअनुसार हाल ती नै श्रीमतीहरु विजयी भए जसले अब श्रीमानको विरासत धान्ने छन् ।
कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी भएकी विद्या भट्टराईलाई पनि श्रीमान स्व.रविन्द्र अधिकारी (प्रतिनिधिभा सांसद एवं तत्कालीन पर्यटनमन्त्री)को स्थानमा उम्मेद्वार बनाइएको थियो । भट्टराईका श्रीमान स्व.अधिकारीको पाँचथरमा हेलिकोप्टर दुर्घटनामा पनि निधन भएपछि उनको ठाउँमा कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ दल नकपाले उनलाई उम्मेदवार बनाएको थियो ।
उनी ८ हजार ४०३ मतान्तर सहित विजयी भइन् । भट्टराईले २४ हजार ३९४ मत ल्याएकी थिइन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत ल्याएका थिए । त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले प्रदेशसभाका सांसद उत्तरकुमार खत्रीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनकै श्रीमति बिमलाकुमारी वली खत्रीलाई प्रदेशसभा सांसदको उम्मेदवार बनायो ।
हालै घोषणा भएको मत परिणाम अनुसार बिमला २४ हजार २८६ मत ल्याउँदै विजयी भइसकेकी छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरेका थिए । उनी पनि श्रीमानकै विरासत धान्नेमा पर्छिन् । जस्को नाम यसअघि कमैले मात्र सुनेका थिए की बिमला वली खत्री पनि नेकपाको नेत्री हुन् भनेर ।
त्यस्तै चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पनि श्रीमानको निधन भएपछि श्रीमतिलाई नै उम्मेदवार बनाइएको थियो । २०७४ माघ ६ गते सवारी दुर्घटनामा परि खैरहनी ५ का तत्कालीन अध्यक्ष विश्वबिजय वस्नेतको निधन भए पनि उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकी श्रीमति प्रतिमा कार्कीलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।
आइतबार नै सार्वजनिक भएको मत परिणाम अनुसार उनी ८ सय ४२ मत ल्याउँदै विजयी भइन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत ल्याएका थिए ।
यसरी श्रीमानको निधनपछि श्रीमतिलाई उम्मेदवार बनाउँदा कतिपय भोट सिम्प्याथीका आधारमा आउँछ भन्ने राजनीतिक पार्टीको उद्देश्य हुन सक्छ भने कतिपय अवस्थामा श्रीमानले पूरा गर्न बाँकी काम श्रीमतिले पूरा गर्छु भन्ने अठोटका काण पनि उनीहरु राजनीतिमा होमिएको देखिन्छ ।
पहिले राजनीतिबाट बाहिरिएकाहरु पनि श्रीमानकै सपना पूरा गर्न पनि राजनीतिमा होमिएका हुन सक्छन् । तर, यहाँ श्रीमति नेतृको असमायिक निधनबाट श्रीमान चै नेतृत्वमा आएका उदाहरण खासै छैनन् ।