भारतको हरियाणा अम्बालाका दुई दिदीबहिनी नेपाली जस्तै देखिएपछि पासपोर्ट दिन अस्वीकार !

पुष १९ । भारतको हरियाणा अम्बालाका दुई दिदीबहिनीले  नेपाली जस्तै देखिएका कारण पासपोर्ट नपाएको खुलेको छ । हरियाणाका बासिन्दा सन्तोश र हीनाले उनीहरुको अनुहारको ‘नाप–नक्सा’ नेपाली जस्तो देखिएका कारण पासपोर्ट नपाएको भारतीय पत्रिका द हिन्दूले जनाएको छ। 

पासपोर्ट प्राप्त गर्न आवश्यक पर्ने सबै कागजात पूरा गरेर पनि स्थानीय राहदानी कार्यालयका अधिकारीले उनीहरुको अनुहार नेपालीसँग मिल्ने भन्दै सुरुमा पासपोर्ट नदिएका थिए । सो कुरा बाहिरिएपछि यसको आलोचना भएको थियो  र यससम्बन्धमा राहदानी कार्यालयले छानबिन गरेको बताइएको थियो । 

प्रहरीले उनीहरु भारतीय नै रहेको प्रमाणित गरेपछि अहिले दुवै युवतीलाई पासपोर्ट प्रदान गरिएको चन्दीगढ राहदानी कार्यालयका प्रमुख सिबाश कविराजले जानकारी दिएका छन् ।   

कविराजले भनेका छन्, आधिकारिक कागजातमा राहदानी कार्यालयका कर्मचारीले उनीहरुलाई पासपोर्ट प्रदान नगर्नुको कारणका रुपमा लेखेको टिप्पणीप्रति मेरो पूर्ण असहमति छ र त्यसलाई म खारेज गर्छु । नेपाली जस्तै देखिएकाले पासपोर्ट दिन नमिल्ने भनेर उल्लेख गर्नु अति अस्वीकार्य हो। 

सन्तोश र हीना बुवा भगतबहादुरका साथमा पासपोर्टका लागि निवेदन दिन चन्दीगढ कार्यालय गएका थिए । तर नेपाली जस्तो देखिएको भन्दै त्यो बेला उनीहरुले पासपोर्ट पाएका थिएनन्। 

नागरिकताको प्रमाण भएपछि भारतीय नागरिकलाई पासपोर्ट प्रदान गर्ने गरिएको छ । उनीहरुले पासपोर्ट अनुहारको स्वरुप नेपाली जस्तो देखिएकै कारण नपाएको भन्ने कुराले राज्यमै चर्चा पायो। 

त्यसपछि हरियाणाका गृहमन्त्री अनिल विजले सन्तोश र हीनालाई पासपोर्ट दिने प्रक्रिया पूरा गर्न भनेपछि मात्रै उनीहरुले पासपोर्ट पाएका हुन्। एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *