कोरोना भाइरस : चीनमा संक्रमणमबाट मर्नेको संख्या ८० पुग्यो

माघ १३, काठमाडौं । चीनमा कोरोनोभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या  ८० पुगेको छ । अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। 

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्। अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने अन्य चार व्यक्ति अरू स्थानका हुन्। 

सङ्क्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारी उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्। थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ। 

सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ। 

यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए। 

लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ। 

बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, ‘यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ। जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ।’ तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ। सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ। 

यसैबीच कोरोनाभाइरसको सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *