नाट्टा निर्वाचन २०२०ः पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने पन्त समूहको प्रतिबद्धता

पुस २३, काठमाडौं । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी माघ ३ गते हुन लागेको कार्यसमिति निर्वाचनका लागि तीन समूह मैदानमा उत्रिएका छन् ।   

नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वा आ–आफ्नो प्यानलसहित अध्यक्षको प्रतिस्पर्धामा छन् ।   

यसैक्रममा भीम प्रसाद पन्त समूहले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रको विकास, पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने लगायतका प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।   

त्यस्तै नाट्टालाई सम्पूर्ण पर्यटन व्यवसायीहरुको एक मात्र छाता संगठनका रुपमा स्थापित गरी यसको चौतर्फी विकास र यस क्षेत्रसँग आबद्ध व्यवसायीहरुको हक हितमा समर्पित रहने पन्तले प्रतिबद्धता जनाए ।   

साथै उनले नाट्टाका लागि केही गर्नुपर्छ भन्ने ध्येयका साथ आफ्नो टिम अघि बढेको भन्दै शाह र गुरागाईँ समूहलाई आफूलाई सहयोग गर्न तथा जिताउन आग्रह गरे । उनले भने, ‘हामी नाट्टा सदस्यहरुको उन्नतिका साथै नाट्टाको थिती बसाल्नेतर्फ हामी अग्रसर हुनेछौँ । म दुवै प्रतिस्पर्धी समूहलाई आग्रह गर्न चाहन्छु, तपाईँहरु हाम्रो टिमलाई जिताउन सहयोग गर्नुस् । हामी सबैको एजेन्डामा सहकार्य गर्नेछौँ । आउनुहोस् हामी मिलेर अघि बढौँ ।’ 

त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सघाउने, टुर प्याकेजलाई प्राथमिकतामा राखी पर्यटक बढाउने अन्य बाटाहरु खोल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने, समस्या र अप्ठ्यारोमा परेका पर्यटन व्यवसायीहरुलाई सहयोग गर्ने तथा समस्या निराकरणमा पहल गर्ने लगायतका विषयमा पनि प्रतिबद्धता जाहेर गरेको छ ।   

भिजिट नेपाल २०२० सफल बनाउन पनि सहयोग गर्ने उनीहरुले बताएका छन् । यस्तै विमानस्थलहरु सुधार तथा बन्दै गरेका अन्तर्राष्ट्रिय विमानस्थलहरु छिट्टै सञ्चालनमा ल्याउनका लागि पनि पहल गर्ने,  

अन्तराष्ट्रिय बजार प्रबद्र्धनमा क्षेत्रीय बजार भारत, चीन, दक्षिण कोरिया र मलेसियालगायतका विभिन्न देशहरुमा विशेष प्रबद्र्धनात्मक कार्यक्रमहरु संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँगको सहकार्यमा बिशेष कार्यक्रमहरु संचालन गर्ने, सीमा क्षेत्रमा पर्यटन आगमनमा रहेका समस्याहरु समाधान गर्नुका साथै पर्यटकहरुको सहज आवागमनका लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने पन्त समूहको प्रतिबद्धता छ ।   

पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी, गीता ढकाल (रेजु) ,सुवर्ण श्रेष्ठ, रामशोभित नायक,हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा,र चुडा वहादुर जिम्बाले मनोनयन दर्ता गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *