गोली हानी गाँजा तस्कर पक्राउ

माघ १५, मकवानपुर । मकवानपुर प्रहरीले गोली प्रहार गरेर लागुऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । बिआर ०६ जे ४४५८ नंको भारतीय कारमा लागुऔषध गाँजा लैजाँदै गरेका तीनजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।   

पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फपुरका ३५ वर्षीय सञ्जीत पासवान, सोही स्थानका ३५ वर्षीया अजैमल हवारी र ४५ वर्षीय जाहेरा खातुन रहेका छन् ।   

प्रहरीका अनुसार भारतीय कारमा गाँजा बोकेका उनीहरुलाई मकवानपुरको मनहरीमा प्रहरीले चेकजाँचका गर्न खोज्दा भागेका थिए । जाँचका क्रममा कार भगाएको सूचनाका आधारमा नेवारपानीमा रहेको प्रहरी चौकीले उक्त कार रोक्नखोज्दा पनि नरोकी चेकजाँजमा खटिएका प्रहरीलाई समेत ठक्कर दिन खोजी त्यहाँबाट समेत भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।   

उनका अनुसार त्यसपछि उनीहरुलाई लेवट प्रहरी चौकीले रोक्ने प्रयास गरेको थियो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेकिङ पोइन्ट बनाएर उक्त गाडीलाई रोक्न खोज्दासमेत नरोकेपछि प्रहरीले गोली चलाएको हो ।   

प्रहरीले उक्त गाडीलाई पूर्व–पश्चिम राजमार्गको मनहरीमै रोक्न खोजेको भए पनि झण्डै ३० किलोमिटर टाढा थानाभ¥याङमा रोक्न सकेको हो । प्रहरीका अनुसार कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ पोकामा लुकाइराखेको ३२ किलो गाँजा बरामद गरिएको छ ।  रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *