हत्याको आरोपमा श्रीमान् जेलमा, जिउँदै फर्किइन श्रीमती !
माघ १, काठमाडौं । ‘उनी (श्रीमती) माइती जाँदै थिइन् । बाटोमा गायब भइन् । हामीले प्रहरी कार्यालयमा खबर गर्यौँ । दुई दिनपछि प्रहरीले एक शव फेला पार्यो । उनैको शव मानेर मलाई र मेरो बुवा–आमामाथि हत्याको मुद्दा लगाइ जेल हालियो ।’
‘अपराध स्वीकार गराउनका लागि प्रहरीले हामीलाई निकै कुटपिट गरे । हामी अन्तिमसम्म पनि त्यो शव उनको होइन भनिरहेका थियौँ । किनकी हामीलाई आशा थियो कि एक दिन उनी पक्कै फर्किने छिन् ।’
बिहारका सुपौल जिल्लामा राघोपुर थाना क्षेत्रका बेरदह गाउँका रञ्जित पासवान आफ्नी पत्नीतर्फ हेर्दै यो कुरा भनिरहेका थिए । जसको हत्याको आरोपमा आफ्नो आमा बुवासँगै उनले ६ महिना जेलमा बिताए ।
प्रहरीको अनुसन्धान रिपोर्टका अनुसार सोनिया यादव आफ्नो घर बेरदहबाट २४ मे २०१८ मा माइती जानका लागि निस्किएकी थिइन् । त्यसपछि उनको केही खबर आएन । दुई दिनपछि प्रहरीले एक अज्ञात शव फेला पार्यो ।
परिवारले सोनिया बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिए । प्रहरीले सोनियाको बुवाले दिएको जानकारी अनुसार उक्त शव सोनियाको भएको पत्ता लगायो । त्यसपछि श्रीमान् रञ्जित, ससुरा विष्णुदेव पासवान र सासु गीता देवीविरुद्ध हत्याको मुद्दा दायर गरियो ।
सपौलका तत्काली एसपी मृत्युञ्जय कुमार चौधरीले पत्रकार सम्मेलन गर्दै ४८ घण्टाभित्र हत्याको मुद्दा समाधान गरेको बताएका थिए । आईपीसीको धारा ३०४ बी, १२० बी, २०१/३४ अन्तर्गत जेल परेका रञ्जित र उनको परिवारसहित कुल ८ जनामाथि हत्याको आरोप लगाइएको थियो । ५ जना फरार भएको बताइएको थियो ।
मुद्दा चलिरहेको थियो । प्रहरीले आरोपपत्र दायर गरिसकेको थियो । साढे ५ महिनापछि २१ नोभेम्बर २०१८ मा सोनिया प्रहरीका अगाडी खडा भइन् । तर प्रहरीले उनलाई सोनिया नभएको भन्दै इन्कार गर्यो । किनकी प्रहरीका अनुसार उसले सोनियाको शव फेला पारेको पारी परिवारका सदस्यलाई दिएको थियो ।
साेनिया
सोनिया अदालतसम्म पुगिन् । बयान दिइन् । र यसैको आधारमा रञ्जित र सासु–ससुरा करिब ६ महिनापछि रिहा भए ।
उक्त मामिलामा अदालतको फैसला आइसकेको छ । सुपौल सिभिल कोर्टमा अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश तृतीय रवि रञ्जन मिश्रले हत्याको मुद्दामा तीनै अभियुक्तहरुलाई निर्दोष सावित गरिसकेका छन् ।
अदालतले रञ्जित र उनका परिवारलाई ‘पीडित क्षतिपुर्ति योजना’ अन्तर्गत ६ लाख रुपैयाँ अनुसन्धान अधिकारीको तलब काटेर दिन पनि आदेश दिएको छ ।
रञ्जित अहिले आफ्नो घरमा श्रीमती, बच्चा र आमा–बुवाका साथमा छन् । अदालतमा दिइएको बयान अनुसार ‘सोनिया जब आफ्नो घरबाट माइती जानका लागि निस्किएकी थिइन् तब बिचमा बाटो बिर्सिइन् । उनी चिन्तित भएर रुन थालिन् । उनलाई रोएको देखेर एउटी आईमाईले घर छोड्ने बहानामा उनलाई गाडीमा हालेर गाजियावाद गइन् ।
सोनिया भन्छिन्– ‘जुन ठाउँमा मलाई लैजाँदै थिइयो, त्यो ठाउँमा पहिले नै १४ भन्दा बढी केटीहरु थिए । जुन महिला मलाई लिएर गएकी थिइन्, उनको नाम किरण देवी हो । उसको छोरीको नाम कामिनी हो । उनीहरु केटी बेच्ने काम गर्थे । एकै कोठामा सबै महिलालाई बन्द गरिएको थियो ।’
‘जब म त्यहाँ बसेँ, थुप्रै महिला आए–गए । केही महिला त्यहाँबाट भाग्न सफल भए । उनीहरुले मलाई केही पनि गरेका थिएनन् र म चाहेर पनि त्यहाँबाट भाग्न सकिरहेको थिइनँ । किनभने त्यतिबेला मैले बच्चा जन्माएकी थिएँ ।’
सोनियाका अनुसार जब उनलाई बच्चा लिएर भाग्न सक्छु जस्तो लाग्यो तब उनले त्यहाँबाट भाग्ने योजना बनाउन थालिन् । यसबारे सोनिया भन्छिन्, ‘एक दिन केही बेरका लागि घरको ढोका खुलेको थियो । म बाहिर निस्किएँ । अरुको फोनबाट श्रीमानलाई फोन गरेँ । फोन स्विच अफ थियो । मानिसहरुलाई सोध्दै सोध्दै स्टेशनसम्म पुगेँ र त्यहाँबाट रेल चढेर यहाँ आएँ ।’
तर सोनियाको समस्या यत्तिमा मात्रै सिद्धिएन । जब उनी गाउँ पुगिन् तब परिवारका तीनजना जेलमा बन्द थिए ।
सोनियाका अनुसार उनले जेलमा श्रीमानलाई भेट्ने कोसिस गरिन् तर कसैले पनि भेट्न दिएनन् । त्यसपछि उनी सुपौल सदर थानामा पुगिन् तर त्यहाँ पनि पुलिसले उनको कुरा मान्न अस्विकार गरिरहेको थियो ।
रंजितका अनुसार अनिल कुमार सिंह नामका एक सामाजिक कार्यकर्ताले सोनियाको मद्दत गरे । उनलाई अदालतसम्म पुर्याए । उनकै प्रयासले उनीहरु दोषमुक्त हुन सके र न्याय पाउन सके ।
कुनै फिल्मको पटकथाजस्तो लाग्ने यो घटनाले पुलिसको कार्यशैलीमा गम्भीर प्रश्न उठाएको छ ।