माघ ४ गते संसद भवन अगाडि १९ बेवारिसे लाश प्रदर्शन गर्ने विनयजंगकाे घोषणा

माघ २, काठमाडौँ । समाजसेवी तथा सामाजिक अभियन्ता विनयजंग बस्नेतले यही माघ ४ गते सांसदहरुको ध्यानाकार्षण गराउनेगरि नयाँ बानेश्वरस्थित् संसद भवन अगाडि चार नवजात शिशुसहित १९ वटा बेवारिसे लाश केही मिनेट प्रदर्शन गर्ने घोषणा गरेका छन् ।   

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । विगत ६ वर्षदेखि बेवारिशे लाशहरुको व्यवस्थापन गर्दै आएका समाजसेवी बस्नेतले आजको दिनसम्म २ सय २७ बेवारिशे शबहरुको आफ्नै हातबाट दागबत्तिसहित अन्त्येष्टि गरिसकेका छन् । बेवारिशे लाशप्रति राज्यले अहिलेसम्म खासै ध्यान नदिएकोमा उनले गुनासो पोख्दै आएका छन् । बस्नेतले भने, ‘बास्तवमा राज्यले बेवारिशे लाशहरुप्रति अपहेलना गर्दै आएको छ ।  

मैले त सुरुदेखि नै यसबारेमा सरकार र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुको ध्यानाकार्षण गराउँदै आएको छु । तर, राज्य तथा निजी क्षेत्र दुवैबाट मेरो आग्रहको सुनुवाई तथा सम्बोधन भएकै छैन् । म निकै दुःखी छु ।’ 

यसपटक भने बेवारिशे लाशबारे जनताप्रति उत्तरदायी संघीय संसदको नै ध्यानाकार्षण गराउनेगरि आफुले यही माघ ४ गते ललितपुरबाट मलामीसहित शवयात्रा गराउने र संघीय संसद भवन अगाडि नयाँ बानेश्वरमा केही मिनेट बेवारिशे शवहरुको प्रदर्शन–सभासमेत आयोजना गर्न लागिएको बस्नेतले जानकारी दिए ।  

उनले भने,‘यो देशका उच्च पदस्थ व्यक्तिहरु मन्त्री तथा सांसदहरुले मृत्यु यस्तोपनि हुँदो रहेछ भनेर थाहा पाउन भनेर मैले यस्तो कदम चाल्न लागेको हुँ । मेरो उद्देश्य नै उहाँहरुको ध्यानाकार्षण गराउनु हो ।’ सबैले आफूलाई उक्त अभियान तथा उद्देश्यमा साथ दिने भन्नेमा विश्वस्त रहेको पनि उनले स्पष्ट पारे ।   

बस्नेतका अनुसार संसद भवनअगाडिको केही मिनेटको बेवारिशे शव प्रदर्शनपछि बानेश्वर, कोटेश्वर, तिनकुने, सिनामंगल हुँदै गौशलास्थित् पशुपति आर्यघाटमा पुर्याई सामूहिक दाहसंस्कार गरिने कार्यक्रम छ । उक्त दाहसंस्कार कार्यक्रममा नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्ने कार्यक्रम राखिएको बस्नेतले जानकारी दिए । उक्त दाहसंस्कार कार्यक्रममा नेपालकै चर्चित व्यक्तित्वहरुको समेत मलामीको रुपमा सहभागिता र उपस्थिति रहने कार्यक्रम रहेको उनले बताए । सामूहिक दाहसंस्कारको लागि बेवारिशे लाशहरुको शव यात्रा माघ ४ गते ललितपुरबाट विहान १० बजे सुरु भएर दिउँसो २ बजे पशुपति आर्यघाटमा पुर्याईने कार्यक्रम तय भएको पनि बस्नेतले जनाए ।   

उनकाअनुसार उक्त दिन चर्चित अभिनेता तथा निर्माता दिपकराज गिरी, चर्चित युवा नायक पल शाह, चर्चित हाँस्यकलाकार मनोज गजुरेल, चर्चित नायिका तथा निर्माता रेखा थापा, राजनीतिक विश्लेषक प्राध्यापाक डा. सुरेन्द्र केसी, युवा पप गायक धीरज राई र युवा अभियन्ता ज्ञानेन्द्र शाही लगायतका सामाजिक अभियन्ताहरु मलामीको रुपमा सहभागी हुनेछन् ।   

बस्नेतले आफूलाई बेवारिशे शव व्यवस्थापनको लागि पाटन अस्पताल प्रशासन र ललितपुर प्रहरी प्रशासनले आर्थिक सहयोग प्रदान गरेको पनि जनाए । उनले भने,‘सुरुवाती दिनमा मलाई कतैबाटपनि सहयोग भएको थिएन् । तर, आजभोलि सहयोगी हातहरु धेरै आएका छन् ।  यसअघि मलाई ललितपुर महानगरपालिकाले पनि सहयोग गरेको थियो । अहिले आएर पाटन अस्पताल र ललितपुर प्रहरी प्रशासनले सहयोग गर्न लागेको छ । म खुशी छु ।’ यसअघि आफूलाई भक्तपुर प्रहरी प्रशासनले पनि सहयोग गरेको उनले स्मरण गराए । 

उनले आफ्नो बुवाको लाशपनि बेवारिशे अवस्थामा फेला परेपछि आफू मान्छे बेवारिशे हुँदा रैछन भन्ने थाहा पाएर यो अभियानमा लागेको सुनाए । ‘एक सोचले मानिसको जीवन परिवर्तन गर्छ, यी बेवारिशे भनिएकाहरुको अब हामी हुनुपर्छ’ भन्ने मूख्य नाराका साथ बस्नेत यो अभियानमा होमिएका हुन् । पछिल्लो समय उनलाई सबैको साथ र सहयोग मिल्दै आएको छ । तर, उनी भने यो अभियानमा आफूलाई राज्यले साथ र सहयोग नगरेपनि विचलित नभई निरन्तर रुपमा लागिपर्ने सुनाउँछन् । यो अभियानमै लागेको कारण उनले ललितपुरमा रहेका बहुमुल्य (चार आना) जग्गासमेत बेचिसकेका छन् ।   

कार्यक्रममा चर्चित पप गायक धिरज राईले विनयजंग बस्नेतको सामाजिक कार्यबाट आफू सुरुदेखि नै प्रभावित भएको बताउँदै उनको अभियानमा सधैं साथ र सहयोग रहने विश्वास दिलाए । उनले भने,‘म त विनयजीको अभियानको सुरुवातदेखि नै साथी हुँ । उहाँलाई म जस्तोसुकै साथ र सहयोग गर्नपनि तयार छु ।’ उनले आफू पनि गौतम बुद्ध नेपालमै जन्मिएका हुन भनेर सुरुमा नेपालमा अभियान चलाउने व्यक्ति भएको सुनाउँदै अभियानबाट कहिल्यैपनि विचलित नहुने स्पष्ट पारे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *