मौसमी अवस्था : देशभर वर्षा र भारी हिमपात हुने

पुष २४, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश भूभागमा हिमपात भइरहेको महाशाखादले जनाएको छ । 

सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

बिहीबार दिनभर देशभर नै सामान्यतया मौसम बदली हुने छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुने छ । 

राति देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्य बदली हुनेछ भने पश्चिमका भूभागमा आंशिक बदली रही एक–दुई स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमापात हुने सम्भावना छ । शुक्रबार पनि मौसम बदली नै हुने जनाइएको छ । 

बदली तथा वर्षा भएका कारण अधिकताम तापक्रम कम हुने भएकाले देशभर जाडो अत्याधिक रहेकाले सतर्कता अपनाउनु सुझाव दिइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *