सहिद स्मारकमा श्रद्धाञ्जली सभा, तीन सहिदको पूर्ण कदको शालिक प्रतिस्थापन

माघ १६, काठमाडौं । प्रजातन्त्रका लागि बलिदान दिने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आएको छ ।   

सहिद सप्ताहको अन्तिम दिन हरेक वर्षझैँ आज पनि (बिहीबार) श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।   

स्मारकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञात अज्ञात सहिदहरुको योगदान स्मरण गर्दै पुष्पहार अर्पण गरेका थिए । यस वर्ष स्मृति मन्तव्य भने राखिएको थिएन ।   

स्मृति सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योेगेश भट्टराई, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, महानगरका प्रमुख तथा सहिद सप्ताह मूल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।  

त्यस्तै संघीय तथा प्रदेश सभा सदस्यहरु सरकारका सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकसहित सुरक्षा निकायका प्रमुखहरु, महानगरका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यसहित कर्मचारी र जनसाधारणले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।   

सभा हुनुअघि शान्ति बाटिकामा भेला भइ बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी  गरिएको थियो ।   

प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ ।  

  

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेका बिच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो ।   

हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।   

सहिद सप्ताहको अवसर पारेर यस बर्ष धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको छ । उनीहरुलाई मृत्युदण्ड दिइएको ठाउँमा शालिक राखिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *