नेपाल तरिकाबद्ध परिषद् र सियोन स्कुलका विरुद्ध छानविनको माग गर्दै उजुरी

माघ २, काठमाडौं । सामाजिक संस्थाको जग्गा प्राइभेट संस्थालाई गैरकानुनी रुपमा पास गरेको तथा एउटा उद्देश्य लिएर खोलिएको संस्थाले अर्कै काम गरेको विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।   

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइ अबैध रुपमा ललितपुर स्थित ग्वार्कोमा सञ्चालन भइरहेको नेपाल तरिकाबद्ध परिषद् र धरान स्थित सियोन स्कुल प्रा.लि.का विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आवश्यक छानविन र कारवाहीका लागि उजुरी परेको हो ।   

स्रोतका अनुसार सामाजिक, शैक्षिक तथा वातावरणीय क्षेत्रमा काम गर्ने भन्दै २०५९ सालमा जिप्रका काठमाडौंमा दर्ता भएको नेपाल तरिकाबद्ध परिषद्ले संस्थाको विधान विपरित इसाई धर्मको प्रचार गर्ने गरेको तथा संस्थाको नाममा जग्गा जमिन जोड्दै ब्यक्तिको नाम र प्राइभेट संस्थालाई बेचविखन गर्दै आएको भन्दै निष्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाएर कारवाही समेत गर्न नियामक निकायमा उजुरी दिइएको हो ।   

उजुरीकर्ताले समाज कल्याण परिषद् र राष्ट्रीय अनुसन्धान ब्यूरो, प्रधानमन्त्री कार्यालय, राष्ट्रीय सतर्कता केन्द्र र गृह मन्त्रालयमा समेत उजुरी दिएको बताएको छ । ‘नेपाल तरिकाबद्ध परिषद्ले गैरकानुनी रुपमा श्रीसम्पत्ति विक्रिवितरण गर्ने तथा संस्थाको विधान विपरित काम गर्ने गरेकोले आवश्यक अनुसन्धान र कारवाहीको माग गर्दै उजुरी गरिएको हो ।’ उजुरीकर्ताले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा भने ।   

उनले आफुसँग रहेका सम्पूर्ण प्रमाणहरुको कपी सहित सिडियो कार्यालय, समाज कल्याण परिषद्मा उजुरी दर्ता गरी गृह मन्त्रालयमा समेत पठाएको बताए । ‘एउटै ठाउँमा चर्च र रेष्टुरेन्ट चलाइएको छ । १८ वर्षदेखि संस्था दर्ता रिन्यु भएको छैन । विदेशबाट ब्यक्तिको नाममा अनुदान ल्याइएको छ । संस्थाको जग्गा मनपरी ढंगले निजी संस्थालाई दानपत्र दिइएको छ । ती सबै पदाधिकारीको ब्यक्तिगत खातासमेत चेक जाँच गरेर अनुसन्धान गर्नुपर्छ ।’ उनले भने ।   

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद आचार्यले पनि उजुरी परेको बताए । उनले उजुरी दर्ता गरिएकोले के भएको हो अनुसन्धान अगाडी बढाउने बताए ।   

समाज कल्याण परिषद्का अधिकारीले नेपाल तरिकाबद्ध परिषद्ले विधान विपरित कार्य गरेको, १८ वर्षदेखि राज्यलाई नै गुमराहमा पार्दै गैरकानुनी रुपमा विदेशबाट अनुदान ल्याएको भन्दै छानविनका लागि उजुरी दर्ता भएको बताएका छन् । ती अधिकारीले चाँडै छानविन कमिटि गठन नै गरेर सत्यतथ्य पत्ता लगाउने बताए । ‘यो विषयमा पहिलापनि कुरा उठेको थियो, हामीलाई संस्थाका पदाधिकारी पनि को हुन् थाहा थिएन । अब प्रक्रिया अनुसार उहाँहरुलाई बोलाइन्छ ।’ परिषद्का अधिकारीले भने ।   

२०५९ भाद्र २० गते जिप्रका काठमाडौंमा दर्ता भएको नेपाल तरिकाबद्ध परिषद्ले सुनसरीको धरान स्थित सियोन स्कुललाई २०७० सालमा गैरकानुनी रुपमा जग्गा दान दिएको थियो । तत्कालिन समयमा परिषद्का अध्यक्ष रहेका खड्ग थापा मगरले आफ्नै स्कुललाई जग्गा दानपत्र गराएका थिए ।   

तर, संस्थाको जग्गा निजी संस्थालाई दानपत्र दिन मिल्दैन । साथै संस्थाको श्रीसम्पत्ति समेत विक्रि गर्दा जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्बाट स्विकृत लिनुपर्छ । सियोन स्कुललाई जग्गा दिने सवालमा परिषद्ले समाज कल्याण परिषद्बाट कुनै स्विकृति लिएको छैन ।   

सियोन स्कुललाई जग्गा दानपत्र दिने बेलामा परिषद्को तर्फबाट डा. सुमन गौतम नै प्रतिनिधि बनेर धरान गएका थिए । स्कुलका डाइरेक्टर खड्ग थापामगरले गौतम र परिषद्का अन्य ब्यक्तिलाई समेत गुमराहमा पारेर जग्गा प्राइभेट स्कुलको नाममा ल्याएको भएपछि उनीहरुले केहि गर्न सकेनन् । अहिले खड्ग थापामगरले सोहि जग्गा र त्यहाँ बनेको भवन देखाएर बाणिज्य बैंक धरान शाखाबाट कर्जा लिएका छन् ।   

गैरकानुनी पैसाबाट स्कुल र चर्च 

धरानको सियोन स्कुलको जग्गा खरिद गर्न र भवन बनाउन समेत गैरकानुनी ढंगबाट खड्ग थापामगरले विदेशी अनुदान ल्याएका छन् । उनले कतारमा बस्ने कोरियन नागरिक ली मार्फत पटकपटक हुण्डी र आइएमईबाट करोडौं पैसा लिएर स्कुल बनाएका हुन् ।   

स्कुल खोलिनु पूर्व सियोन मेथोडिस्ट चर्च स्थापना गरिएको थियो । चर्च स्थापना गर्नपनि कतार बस्दै आएका लीले खड्ग थापामगरलाई सन् २००८ मा जग्गा खरिद गर्न ४२ लाख रुपैंया पठाएपछि धरान–१६ मा ७ कठ्ठा १४ धुर जग्गा खरिद गरिएको स्वयं खड्ग थापामगर बताउँछन् ।   

गैरकानुनी रुपमा भित्रिएको २ करोड २२ लाख 

नेपालमा कानुनी रुपमा चर्च दर्ता गर्न नमिल्ने प्रावधान भएपछि उक्त जग्गा नेपाल तरिकाबद्ध परिषद्का नाममा पास गरिएको थियो । पछि सोहि स्थानमा स्कुल पनि बनाइएको हो ।   

स्कुल र चर्च सम्पन्न गर्न खड्ग थापामगरले आइएमइ र हुण्डी मार्फत ४२ लाख र एक करोड ८० लाख आएको स्विकार गरेका छन् ।   

परिषद्को जग्गा स्कुलको नाममा आएपछि सोधखोज भयो । ‘संस्थाको जग्गा हो ब्यक्तिको नाममा गर्न मिल्दैन’ भनी विरोध भएपछि पास्टर मगरले केहिलाई चर्च र स्कुलबाट निकालिदिएका छन् । चर्चबाट पास्टर, एल्डर, डिकन र प्रचारिका गरी एक सय बढि निस्किएका छन् ।   

स्कुलको विवाद मिलाउन पाष्टर मणी राईको संयोजकत्वमा समिति गठन गरिएको भएपछि उनीहरुले समेत विवाद समाधान गर्न नसकेपछि समिति नै विघटन गरेका छन् ।   

जग्गा फर्काउन प्रयास 

मकालु खबरले निरन्तर यस विषयमा समाचार प्रकाशित गरेपछि परिषद्का बर्तमान कार्यसमितिले खड्ग थापामगरले आफुहरुलाई समेत ढाँटेर आफ्नै नाममा जग्गा पारेको भन्दै जग्गा फिर्ता ल्याउनु पर्ने ठहर गरेको छ ।   

संस्थाका सचिव सुवास थापाले जग्गा फिर्ता गराउने सन्दर्भमा कुरा भइरहेको र संस्था समेत अपडेट गर्न चार्टर्ड एकाउन्टेन्ट लगाइएको बताए । ‘हामीलाई पनि यो विषयमा खासै जानकारी थिएन तर, अब जे भयो भयो आगामी दिनमा सच्चिएर जान्छौं । विगतमा गरेका भुलहरुलाई सच्याउँछौं ।’ उनले भने । धरानको जग्गाका विषयमा भने जग्गा नै बैंकमा राखेर स्कुलका लागि कर्जा लिइएकोले जग्गा फर्काउन जटिलता भएको थापाको जिकिर छ । उनले केही समयपछि जग्गा परिषद्को नाममा ल्याउने बताए ।   

०७० साल माघ १९ गते आइतबार परिषद्का अध्यक्ष खड्ग थापा मगरकै अध्यक्षतामा बसेको बैठकले स्कुललाई सुनसरी घोपा कित्ता नं. ६ क ३२७३ (०–२–५) दुई कठ्ठा पाँच धुर र कित्ता नं. ६ क ३२७६ (०–३–१८) तीन कठ्ठा अठार धुर जग्गा र उक्त जग्गामा निर्माण भएको भवन समेत सियोन स्कुल प्रा.लि.(दर्तानं. ७४०२/०६६/०६७) लाई दानपत्र गरिदिने निर्णय गरेको थियो । जुन सरासर गलत थियो । 

कागजात मिलाउन गोप्य रुपमा लेखापरिक्षण   

संस्थाका विषयमा समाचार आइसकेपछि आत्तिएका संस्थाका पदाधिकारीहरु अहिले गोप्य रुपमा चाटर्स एकाउन्टेन्ट नै राखेर संस्थाको अडिट गर्न थालेका छन् । चारदिन अघि संस्थाका सचिब सुबास थापा र संस्थापक अध्यक्ष डा. सुमन गौतमले चार्टर्ड एकाउन्टेन्ट राखेर अडिट भइरहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *