बालबालिकालाई कुपोषणबाट जोगाउन यस्तो हुनुपर्छ घर र मन्टेश्वरीको खाना

माघ ८, काठमाडौं । नेपालले सन् १९९० मा अनुमोदन गरेको बालअधिकारको महासन्धीमा भनिएको छ– ‘बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो ।’ 

‘गर्भाधानदेखि दुई वर्षसम्मको समयावधि, अर्थात बालबालिकाको शुरुका १००० दिनहरुमा दिइने उचित हेरचाह र पोषणले उनीहरुको हुर्कने, सिक्ने र गरिबीबाट उम्किन सक्ने क्षमतामा ठुलो प्रभाव पार्दछ ।’ 

 ‘परिवारहरू, समुदायहरू र देशहरूकै गरिबीको चक्र भंग गर्न यसले सहयोग गर्नुका साथै समाजको दीर्घकालीन स्वास्थ्य, स्थिरता र समृद्धिमा पनि प्रभाव पार्दछ ।’ 

हो पनि । आजका बालबालिका भविष्यका कर्णधार हुन् । राष्ट्र निर्माता हुन् । मुलुकको भविष्यको उत्तरदायित्व उनीहरुकै काँधमा छ । मुलुकका पहरेदार पनि ।   

राष्ट्रहितका लागि वैरीसामु खडा हुने पनि उनीहरु नै हुन् । उनीहरु स्वस्थ भए राष्ट्र स्वस्थ हुन्छ ।   

सम्पूर्ण बालबालिकाकाको स्वस्थ जीवनयापनका लागि सफा वातावरण, स्वच्छ हावा, सफा पानी उपलब्ध हुनुपर्छ । पौष्टिक खाना खुवाउनुपर्छ । घरमा मात्रै होइन, विद्यालयमा पनि । 

किनकी पछिल्लो समय हाम्रा बालबालिकाहरु धर्तीमा दुई पाइला चाल्न नपाउँदै विद्यालयमा भर्ती हुनु पुग्छन् । तोते बोलीमा कखरा गुन्गुनाउनु पर्छ । आमाको काखमा रमाउनु पर्ने उमेरमा अर्कैको काखमा खेल्नु परेको छ ।   

कामकाजी आमा बुवा भएका बालबालिकाको हकमा केही हदसम्म यो सही पनि हो । घरमा आमा बुवाले दिन नसकेका ज्ञान, संस्कार मन्टेश्वरी, प्रि–स्कुलमा सिक्छन् । आखिर जहाँ सिके पनि सिक्नु नै त हो !   

बस मन्टेश्वरी, प्रि स्कुल उपयुक्त हुनुपर्यो । सम्पुर्ण रुपमा । स्वस्थ हुनुपर्यो खाना ।   

अभिभावकसँगै स्कुले जीवनका लागि तयार गर्न तथा बालबालिकाको भविष्य उज्जवल बनाउन खडा भएका मन्टेश्वरीले पनि ध्यान दिनुपर्छ स्वच्छ, सफा वातावरणसँगै बालबालिकाको खानपानमा । अनि मात्रै उनीहरुको वृद्धि विकास राम्रो हुने पोषणविद् केपी लम्साल बताउँछन् ।   

उमेर अनुसार खानेकुराको मात्रा मिलेमा उनीहरु स्वतः स्वस्थ, मजबुत बन्ने लम्सालको भनाइ छ ।   

शारीरिक तथा बौद्धिक विकासका लागि कस्तो हुनुपर्छ त बालबालिकाको खाना ?   

साना बच्चाहरुको दिमागी विकासका लागि पोषण अत्यावश्यक तत्व हो । ८० प्रतिशत दिमागी विकास गर्भ रहेदेखि दुई वर्षको उमेरभित्र भइसक्छ । १० प्रतिशत दिमागी विकास ५ वर्षको उमेरभित्र हुन्छ भने बाँकी १० प्रतिशत ५ वर्षपछि विकास हुन्छ ।   

त्यसैले पनि ५ वर्ष मुनिका बच्चाहरुको खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । समग्रमा शारीरिक, मानसिक विकासका लागि यो चरणमा पोषण अत्यावश्यक छ ।   

५ वर्षमुनिका बालबालिकालाई कस्तो मात्रै होइन कति खुवाउने भन्ने पनि हुन्छ । बच्चाको हरेक पटकको खानामा ४ समूहका खानेकुराहरु रहनुपर्छ ।   

कन्दमुल, अन्नबाट कुनै एउटा, गेडागुडीबाट एउटा, पशुजन्य स्रोतका खानेकुराहरु जस्तैः माछा, मासु, अण्डा, दुध मध्ये कुनै एउटा र सागपात, फलफुल मध्ये कुनै एउटा हरेक छाकको खानामा अनिवार्य समावेश हुनुपर्छ ।   

बालबालिकालाई यी ४ समूहका खाना मिलाएर खुवाएमा गुणात्मक हिसाबले पोषण पुग्छ र उसको उमेर अनुसार समुचित रुपमा शारीरिक, मानसिक विकास हुँदै जान्छ ।   

कति खुवाउने भन्ने कुरा बच्चाको उमेर अनुसार निर्धारण हुन्छ ।   

बच्चा जन्मिएको ६ महिनासम्म त आमाको दुधमात्रै खुवाउनु पर्छ । ६ महिनादेखि ९ महिनासम्मको बच्चालाई तीन पटक लिटो अथवा जाउलो र आमाको दुध पर्याप्त खुवायो भने पुग्छ । ६ महिनादेखि १२ महिनासम्मको बच्चालाई तीन पटक लिटो, जाउलो खानाको रुपमा र एकपटक खाजाको रुपमा फलफुल, अण्डा उसिनेर खुवाउनुपर्छ ।   

अहिले डेढ दुई वर्षदेखि मन्टेश्वरीमा पठाउने चलन छ । एक वर्षदेखि २ वर्षसम्मको बच्चा छन् भने तीन पटक खानाको रुपमा लिटो, जाउलोहरु खुवाउनुपर्यो मन्टेश्वरीले पनि । अरु थप दुई पटक खाजाको रुपमा फुलफुलहरु अथवा अन्य केही खुवाउनुपर्यो । त्यसो गर्दा उसले एक दिनमा पाँच पटक खान्छ । साथसाथमा आमाको दुध पनि खुवाउनु पर्छ ।   

दुई वर्षभन्दा माथिको बच्चाको हकमा पनि कम्तीमा उसलाई ४ देखि ५ पटक खुवाउनै पर्छ । खाना, खाजा गरेर त्यसमा पनि विशेषगरी अण्डा, अण्डासँग सम्बन्धित परिकारहरु धेरै पोषिलो हुने हुँदा दैनिक खानामा यो छुटाउनु हुँदैन ।   

ओखर, काजु, बदाम, पेस्ता, किसमिस, कटुस, छोकडा लगाएतका खानेकुरा पनि बच्चाको दिमागी विकासका लागि उपयुक्त हुन्छ । यो पनि उनीहरुलाई दैनिक खुवाउनुपर्छ ।   

नेपालको हकमा सागपात, फलफुल र पशुपंक्षीजन्य स्रोतका खानेकुरा एकदमै महत्वपूर्ण छ । किनकी  नेपालमा ५ वर्षमुनिका २ जना बच्चामध्ये एक जना बालबालिकाहरु कुपोषणबाट ग्रसित छन् । उनीहरुको रगतमा आइरनको मात्रा कमी छ । फलफुल, माछामासु अण्डा आइरनको राम्रो स्रोत हो । त्यसैले बच्चाको हरेक छाकको खानामा यो समावेश गरिनुपर्छ ।   

मन्टेश्वरीले त झनै ध्यान पुर्याउनुपर्छ खानपानमा । किनभने दिउँसोको खाना, खाजा बच्चाहरुले त्यहीँ खान्छन् । नभए जति पढाएपनि, शिक्षकले जति मेहनत गरेपनि उसले सिक्न सक्दैन । शारीरिक तथा दिमागी विकास हुनुपर्ने समयमा बच्चाहरुको खानपानमा ध्यान पुर्याइएन भने उनीहरुको बाँकी जिन्दगीलाई असर गर्ने पोषणविद् केपी लम्सालले बताए ।   

‘खानपान नमिल्दा दिमागको समुचित विकास हुन सक्दैन । बच्चा कति अग्लो हुने अथवा उसको उचाई भोलि गएर कति हुने भन्ने कुरा पनि ५ वर्षभित्रै निर्धारण भइसक्छ । यो उमेरमा उसको खानपान राम्रो भएन भने विभिन्न खालका कुपोषणहरु हुने, उमेर अनुसारको उचाई, तौल नपुग्ने, ख्याउटे हुन सक्छन्’, पोषणविद् लम्सालले भने ।   

आवश्यक पोषण नपुग्दा उनीहरु विभिन्न रोगको शिकार हुन्छन्, मुत्युको दलदलमा समेत पुग्छन् ।   

कस्तो खाना खुवाउनु हुँदैन बालबालिकालाई ? खानाको मात्रा बढी भयो भने के हुन्छ ? 

बच्चालाई चिल्ला खानेकुरा कमै खुवाउनु पर्छ । भातमात्र धेरै खुवाइयो तर शक्तिवर्धक सुषुप्त पौष्टिक तत्वजन्य खानेकुराको कमी भयो भने पोषणको मात्रा पुग्दैन । हेर्दाखेरी बच्चा मोटो जस्तो देखिन्छ तर उसको शरीरमा आवश्यक पर्ने खनिज र भिटामिनको कमी भइरहेको हुन्छ । नेपालमा यस्तो पनि समस्या छ ।   

विशेषगरी ५ वर्षमुनिका बच्चाहरुलाई अति प्रशोधित खानेकुराहरु, चाउचाउ, विस्कुटजन्य खानेकुरा खुवाउनु हुँदैन । यस्ता खानेकुरा छुनै हुँदैन भन्ने पनि होइन, तर नियमित खानाको रुपमा खुवाउनु हुँदैन ।   

‘अति प्रशोधित गरिएका खानेकुराहरु जहाँ चिल्लोको मात्रा धेरै छ, क्यालोरी मात्रै दिन्छ, बाँकी अरु खनिजको मात्रा मिलाइएको छैन, नुनको मात्रा धेरै छ, त्यस्तो खालका खानेकुराहरु बच्चाहरुलाई खुवाउनु हुँदैन’, लम्सालले भने ।   

अण्डा बच्चाका लागि ‘सुपर फुड’का रुपमा लिइन्छ । बच्चाको दिमागको विकास यही उमेरमा हुने भएकोले अण्डाजन्य परिकारमा जोड दिनुपर्छ । ४ समूहका खानेकुरा मिलाएर खुवाइयो भने बच्चाहरुको स्वस्थ विकास हुन्छ ।   

यूनिसेफले बालबालिका, खाना र पोषणको बारेमा २०७६ मा जारी गरेको नयाँ प्रतिवेदनले विश्वका करोडौं बालबालिका कमसल खानाबाट प्रभावित हुनु चिन्ताजनक भएको भन्दै चेतावनी दिइसकेको छ ।   

विश्वका बालबालिकाको अवस्था २०१९ः बालबालिका, खाना र पोषण (द स्टेट अफ द वल्र्डज चिल्ड्रेन २०१९ः चिल्ड्रेन, फुड एण्ड न्युट्रेसन) ले पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बालबालिका वा २० करोडभन्दा धेरै बालबालिका कम पोषण वा अधिक पोषणको शिकार भएको जनाएको छ ।   

६ महिनादेखि दुई वर्ष उमेरका तीनमध्ये झण्डै दुई बालबालिकालाई उनीहरुको शरीर र मस्तिष्कको विकासका लागि चाहिने खाना खुवाइएको छैन जसले उनीहरुको मस्तिष्क विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने र संक्रमण बढ्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने जोखिममा राखेको छ । 

जारी प्रतिवेदन अनुसार नेपालका पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे वा मोटा छन् । त्यसैगरी, ६ महिनादेखि दुई वर्षसम्मका करीब ४५ प्रतिशत बालबालिकाले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन् । यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन, भने अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ ।     

श्रीपञ्चमी (बसन्त पञ्चमी) अर्थात् सरस्वती पुजा नजिकिँदै छ । यो दिन बच्चाहरुलाई कुनै अक्षर पढ्न लगाइयो र केही सिकाइयो भने चाँडै सिक्छन् भन्ने मान्यता अनुसार सोही दिन बच्चाहरुलाई मन्टेश्वरी, प्रि–स्कुलमा भर्ना गर्ने चलन छ ।   

अभिभावकले बच्चाको उज्जवल भविष्यका लागि मन्टेश्वरी छनौटमा विशेष ध्यान पुर्याउनु पर्छ । नाम होइन काम हेरेर छनौट गर्नुपर्छ विद्यालय । हतारमा निर्णय गर्नु हुँदैन ।   

अभिभावकले मन्टेश्वरीको खाना पोषणयुक्त, सन्तुलित छ, छैन, खानाको तालिका कस्तो छ, यी सबै नियाल्नुपर्ने डिल्लीबजारस्थित मानसी किड्स प्यालेसकी प्रधानाध्यापक सीता अर्यालले बताईन् ।   

‘आफूले छनौट गरेको मन्टेश्वरीमा पोषणयुक्त खानेकुरा छ, छैन अभिभावकले त्यो जाँच्नुपर्छ । बेलाबेलामा निरीक्षण गरिरहनु पर्छ । फलफुल, दुधहरु छ, छैन हेर्नुपर्छ । त्यस्तै वातावरण पनि हेर्नुपर्छ । वातावरण स्वच्छ, सफा र शान्त पनि हुनुपर्छ’, उनले भनिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *