हात्ती सफारी उचित वा अनुचित ?

माघ १५, चितवन ।  नेपालमा हात्ती सफारीको लागि चितवन राष्ट्रिय निकुञ्ज निकैनै प्रख्यात छ । हात्तीमा चढेर निकुञ्ज भ्रमण गर्नु सबै भन्दा सजिलो उपाय हो । पछिल्लो समय निकुञ्ज आफैंले यी सेवाहरु घटाउँदै गएको अवस्थामा चितवन आउने पर्यटकहरु कमैले मात्र हात्ती चढेर निकुञ्ज हेर्न पाउँछन् र निकुञ्ज भित्रका जनवारहरु । चितवन आउने अधिकांश पर्यटकहरु यहाँका सामुदायिक वनहरुमा यी सुविधा लिदै आएका छन् । 

 बिशेष गरी विदेशीहरु हात्ती चढ्नकै लागि पनि चितवन आउने गर्दछन् । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज पनि हात्ती सफारीको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।  केही समय अघि हात्ती सफारी “अनुचित” भन्ने समाचार आएको थियो एउटा राष्ट्रिय दैनिकमा त्यसमा  मेरो असहमती रहेको छ ।  

हरेक कुराको राम्रो नराम्रो दुबै पाटो हुन्छ । नराम्रो पक्षको मात्र वकालत गरिनु ठीक होईन । हात्ती सफारी अनुचित हुनुमा यसमा भएका कमी कमजोरीहरु सच्चाउँदै यसलाई निरन्तरता दिनु पर्दछ । मानव अधिकारको त राम्रो वकालत हुन नसकेको यो देशमा अहिलेनै पशु अधिकार खोज्नु हतार गरे जस्तो लाग्यो । जर्मनीका केही ट्राभल एजेन्सीले हात्ती सफारी अनुचित भन्दै आफ्नो तालिकामा यसको समावेश नगरे पनि अझै पनि चितवनमा हात्ती सफारीकै लागि आउने पर्यटकहरु संख्या पनि धेरै राम्रो छ ।   

नेपालमा हिमाल आरोहण र पदयात्रा पछि सफारी पर्यटनको बिस्तारै बृद्धी भइरहेको बेला यस्ता समाचार आउनुले समग्र पर्यटनमा नोक्सानी ल्याउँछ । चितवन राष्ट्रिय निकुञ्जमा स्थापना काल देखिनै हात्ती सफारी सुरु भएको हो । र, हाल आएर निकुञ्ज भित्र हात्ती सफारी यदा कदा हुने गरे पनि निजी क्षेत्रका हात्तीहरुले यो सुविधा प्रदान गर्दै आएका छन् । सामुदायिक वनमा मात्र सिमित सफारी पर्यटनको मुख्य हिस्सा हात्ती सफारीले लिन्छ । र निकुञ्ज भित्र सञ्चालन हुने जीप सफारी हिउँदमा मात्र हुने गर्दछ । 

 यदी हात्ती सफारीलाई  अनुचित ठहर गर्दै बन्द गर्ने हो भने भविष्यमा चितवन राष्ट्रिय निकुञ्जलाई वर्षको ३ देखि ४ महिना बन्द गरे पनि हुन्छ । किन कि निकुञ्जमा जीप सफारी र पदयात्रा बाहेक अरु केही पनि हुन सक्दैन जुन बाह्रमासे हुन सक्दैनन् ।   

सरकारले सन् २०२० मा अहिलेको पर्यटक संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ । देशको कुल पर्यटकको संख्याको लगभग सफारी पर्यटनले ३० प्रतिशत हिस्सा राख्छ । हात्ती सफारी अनुचित लाग्नेलाई हात्ती सफारी गर्नै पर्ने कुनै बाध्यताकारी नियम पनि छैन । गरे पनि नगरे पनि स्वईच्छा हो । यो एउटा कुनै पनि मानिस शाकाहारी हुन्छु भने जस्तै हो । जंगली जनवारहरु अवलोकन गर्न हात्ती सफारीका वैकल्पिक उपायहरु प्नि छन् ।   

सौराहाको आसपासमा रहेका सामुदायिक वनहरुमा हात्ती सफारी गर्ने पर्यटकहरुले अनिवार्य रुपमा चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क तिरेर देशको राजश्व संकलनमा पनि टेवा पुर्याएका छन् । निकुञ्जनै प्रवेश नगरी पनि हात्ती सफारीकै लागि भए पनि पर्यटकहरु निकुञ्ज प्रवेश शुल्क तिर्न बाध्य छन् । जब कि सामुदायिक वनमा सफारी गर्नेले चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क तिर्न पर्ने बाध्यतकारी नियम कतै पनि उल्लेख छैन ।   

हात्तीलाई अहिलेको समयमा रु ६० देखि ८० लाख भन्दा बढि पर्दछ । हात्ती किन बेच्न कानुनी रुपमा नभए पनि यत्रो मुल्य तिरेको जन्तुको उचित स्याहार सुसार हुदैन भन्नु सरासर गलत छ । पशुअधिकारकर्मीलाई भन्दा हात्ती धनीलाई हात्तीको बढि माया हुन्छ । कहिले काँही हात्तीले समयमा खान नपाएमा, धेरै काम गर्न परेमा , उसलाई सहज बनाउन विभिन्न तरिका उनीहरु अपनाउछन् । 

नेपालको सफारी पर्यटनमा हात्तीको विशेष भूमिका रहेको छ । हात्ती सफारीलाई सफारी पर्यटनबाट अलग्याएमा सफारी पर्यटननै खल्लो हुन्छ । भविष्यमा चितवन राष्ट्रिय निकुञ्जमा सफारीको लागि अन्य विकल्पहरु आएमा, भईरहेको जीप सफारीको पनि विभिन्न मार्गहरु निर्माण गरेमा अनि निकुञ्ज वर्षैभरी घुम्न मिल्ने भएमा हात्ती सफारीलाई विस्तारै कम गर्दै जान सकिन्छ । हात्तीमा सफारी गर्न हैन हात्तीका लस्कर हेर्नको लागि भए पनि चितवन आउन सक्ने वातावरणको सृजना गर्न सकिन्छ । त्यो बेला हात्तीलाई सफारी गराएर हैन देखाएर मात्रै पैसा कमाउन सकिन्छ ।  पर्यटन व्यवसायी सुमन घिमिरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *