घरमा सिक्नुपर्ने संस्कार मन्टेश्वरीमा सिक्दै छन् बालबालिका

फोटो श्रोत गुगल  

पुष २१, काठमाडौं । अहिलेका अभिभावकहरु यति व्यस्त छन् कि सन्तान उत्पादन गर्ने समय समेत हुँदैन उनीहरुसँग । हुर्काउने, हेरचाह गर्ने त परैको कुरा ।   

घरलाई पहिलो विद्यालय मानिन्छ तर अहिले पहिलो विद्यालय र पाठशाला मन्टेश्वरी बनेको छ । घरमा सिक्नुपर्ने संस्कार बच्चाहरुले मन्टेश्वरीबाट सिक्दैछन् । दुई वर्षका बच्चाहरुले आमाबुवाबाट जति प्रेम पाउनुपर्ने हो त्यसको आधा मन्टेश्वरीले परिपूर्ति गर्दै आइरहेको छ ।   

समय नै छैन बच्चालाई ध्यान दिने । लालनपालन गर्ने ।   

बच्चाहरुको बौद्धिक, शारीरिक विकासको जिम्मा मन्टेश्वरीलाई दिन थालिएको छ । के बच्चालाई मन्टेश्वरीको भरमा छोड्नु ठिक छ ? मन्टेश्वरीमा दिनभर के गर्छन् बच्चाहरु ? के गराइन्छ ? खासमा के हो मन्टेश्वरी ?   

पहिले मन्टेश्वरीबारे केही जानकारी लिऔँ ।   

इटालीको चिराइटे भन्ने स्थानमा ३१ अगस्ट १८८० मा जन्मिएकी डा. मारिया मन्टेश्वरीको सिद्धान्तमा आधारित छ मन्टेश्वरी शिक्षा । वास्तवमा उनी पेशाले फिजिसियन थिइन् । उनको इच्छा भने सुस्त मनस्थिति भएका बालबालिकाहरूको अनुसन्धान कार्य प्रारम्भ गर्नु थियो । उनी आफ्नो कार्यमा सफल र अब्बल पनि देखिइन् ।   

उनले सुस्त मनस्थितिका बालबालिकालाई ओखती गर्नुभन्दा विद्यालय शिक्षण गर्नु उचित हुन्छ भन्ने कुरा अध्ययनबाट पत्ता लगाइन् । उनले यसबारे सिद्धान्त समेत कोरिन् । मन्टेश्वरी सिद्धान्तका बारेमा १५ वटाभन्दा बढी पुस्तकहरू लेखिन् लेखेकी छिन् ।   

उनले प्रतिपादन गरेका पुस्तकहरूमा बालकहरू वातावरणबाट आफै सिक्ने, बालकहरू आफ्नै किसिमका विलक्षण विशेषता भएका र आफैँ, आफ्नो क्षमता विकास गर्न सक्षम हुन्छन् भन्ने उल्लेख गरिएको छ ।   

उनको सिद्धान्त अनुसार प्रत्येक बालकहरूमा जन्मेदेखि नै बौद्धिक क्षमता हुन्छ तर उसको क्षमताको भिन्नता भने वातावरणले दिन्छ । त्यस्तै बालकलाई सिकाइको उपयुक्त वातावरण दिइएको खण्डमा उसको मानसिक र बौद्धिक विकास तीब्र गतिमा हुन्छ ।   

बाल्यकालमा सिकाइलाई टेवा पु¥याउने वातावरण पनि त्यस्तै बनाउनुपर्दछ । यसका लागि सिकाइ सामग्री पनि आवश्यक हुन्छ । बालकलाई घर बाहिरको वातावरण या प्राकृतिक वातावरणमा खेल्न प्रोत्साहन गर्ने । जस्तैः माटो, पानी, बालुवा, गिर्खा, पात आदिसँग खेल्ने र नयाँ नयाँ जानकारी गराउने । जस्तै कि माटोबाट विभिन्न आकार बनाउने, विभिन्न पात र पूूmलको चित्र कोर्ने, पातको मद्दतले चित्र कोर्ने, पात, फूल र ढुङ्गाहरू जम्मा गरी सजावट गर्ने आदि । 

उक्त सिद्धान्तसहितको मन्टेश्वरी स्कूल तथा पूर्व प्राथमिक कक्षा नेपालमा भने सन् २००६ सालतिर प्रादुर्भाव भएको थियो । पछि मन्टेश्वरी शिक्षालाई विद्यार्थीले अभ्यास शिक्षण गर्ने थलोको रुपमा विकास गरियो । 

मन्टेश्वरी शिक्षा भनेको नै वातावरण, वातावरणीय र प्राकृतिक वस्तुहरूको आधारमा अध्यापन गरिने हो । जहाँ आफ्नो जीवनमा आवश्यक पर्ने सबै काम आफैं गर्नुपर्छ भनेर बालबालिकालाई सानै उमेरबाट आत्मनिर्भर बन्न प्रेरित गरिन्छ ।   

आत्मविश्वास, आत्मनिर्भरता तथा सीपको विकासको लागि मन्टेश्वरी क्षेत्र महत्वपूर्ण मानिने डिल्लीबजारस्थित मानसी किड्स प्यालेसकी प्रधानाध्यापक सीता अर्याल बताउँछिन् । उनी शिक्षण पेशामा लागेको करिब १५ वर्ष भयो । बालबालिकालाई गाइड गर्न पोख्त भइसकेकी छिन् । उनका अनुसार मन्टेश्वरी एउटा शिक्षा लेनदेनको प्रक्रिया हो । जहाँ बच्चाहरुलाई खेलाउँदै पढाइन्छ, सिकाइन्छ । उनीहरुकै इच्छाअनुसार । विना दबाब ।   

मन्टेश्वरीमा बच्चाहरु राख्नु भनेको १,२ कक्षामा जानुभन्दा अघि बच्चाहरुलाई शिक्षादेखि लिएर घरको रुटिन लगायतबारे तयार पार्नु हो । उनीहरुको बौद्धिक क्षमताको विकास गर्नु हो । बच्चाहरुको सिकाइका लागि मन्टेश्वरीको वातावरण चाहीँ उपयुक्त हुनुपर्छ । उनीहरुको बौद्धिक मात्रै नभइ शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने शिक्षिका अर्याल बताउँछिन् ।   

मन्टेश्वरीमा आफ्ना बच्चाहरु राख्ने अभिभावको जिम्मेवारी के त ? अभिभावकले मन्टेश्वरीकै भरमा बच्चाहरुलाई छोड्नु हुँदैन । त्यहाँको खाना पोषणयुक्त, सन्तुलित छ, छैन, खानाको तालिका कस्तो छ, फलफुल, दुधहरु छ, छैन हेर्नुपर्छ । बच्चाहरु राखिने ठाउँमा घाम आउनु पनि आवश्यक छ । साथै वातावरण स्वच्छ, सफा र शान्त पनि हुनुपर्छ ।   

मन्टेश्वरीमा तीन समय अनिवार्य खुवाउनुपर्छ । नत्र कलिला बालबालिकामा ग्याष्ट्रिकको समस्या आउन सक्छ । अभिभावकले यी सबै कुरामा ध्यान दिनुपर्छ । र घरमा पनि पोषणयुक्त खानेकुरा नै खुवाउनुपर्छ । 

त्यस्तै मन्टेश्वरीका शिक्षक–शिक्षिका पनि ट्रेनिङयुक्त नै हुनुपर्छ । सैद्धान्तिक कुराहरु ट्रेनिङमा सिकाइन्छ । प्रयोगात्मक शिक्षा मन्टेश्वरीले दिन्छ ।   

सरल, नम्र र शान्त स्वभाव पनि उत्तिकै आवश्यक छ । बच्चाहरुलाई प्रेमको पनि उत्तिकै आवश्यकता हुन्छ । एउटा शिक्षकले यी सबै कुरा परिपूर्ति गर्न सक्नुपर्छ । जोसुकैसँग बच्चालाई ह्यान्डिल गर्न सक्ने क्षमता हुँदैन ।   

डेढ वर्षदेखिका बच्चाहरु हुन्छन्, मन्टेश्वरीका सुरु सुरुका दिन उनीहरु झगडा गर्छन्, रुन्छन् । बानी लगाउन गाह्रो हुन्छ । रुवाईको कारण बुझ्न सक्ने टिचर हुनुपर्छ ।   

‘धेरै साना बच्चाहरु छन् हुन्छन् । रुन्छन् । सानालाई सुरु सुरुका दिनमा दुई देखि तीन घण्टासम्म राखिन्छ । बानी लगाइन्छ र विस्तारै समय बढाउँदै लगिन्छ । बानी लागिसकेपछि ४/५ घण्टासम्म राखिन्छ । मन्टेश्वरीमा एडजस्ट गर्नका लागि अभिभावकहरुको समय पनि उत्तिकै आवश्यक छ’, शिक्षिका अर्यालले जानकारी दिइन् ।   

उनका अनुसार सुरुमा बच्चाहरुलाई फ्रेस बनाउनुपर्छ । सर्कल बनाएर गुरु बन्दनाहरु सिकाइन्छ । खेलाइन्छ । सुत्न खोज्ने बच्चालाई मात्र सुताइन्छ । बच्चाहरु सुत्नुलाई अनौठो मान्नु हुँदैन र औषधीको प्रयोग ठान्नु पनि हुँदैन ।   

कतिपय बच्चाहरु घरमा सुतेका हुँदैनन् अथवा निन्द्रा पुगेको हुँदैन । थकित हुन्छन् । मन्टेश्वरीमा सुत्छन् । उनीहरुलाई आराम चाहिन्छ । त्यसैले सुत्न खोज्ने बच्चालाई सुताइन्छ । नसुत्नेलाई खेलाइन्छ, सिकाइन्छ । केही कुरामा पनि रोकटोक गर्नुहुँदैन बच्चाहरुलाई । भरपुर स्वतन्त्रता दिनुपर्छ । उनीहरु आफैँ सिक्छन् खेल्दै, खेल्दै ।   

अभिभावकले पनि समय समयमा गएर हेर्नुपर्छ । स्कुलकै भरमा मात्रै छोड्नु हुँदैन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *