वीपी प्रतिष्ठानको सिनेट बन्यो एजेण्डा विहिन, मेयर हुँदाहुँदै उपमेयरलाई किन बनाईयो सिनेटर ?

पुस २४, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट ‘कर्मकाण्डी’ सिनेट मात्र हुने भएको छ । भोली बस्ने प्रतिष्ठानको सिनेटले दिर्घकालिन निर्णय गर्न नसक्दा सिनेट अर्थहिन भएको हो ।   

प्रतिष्ठानलाई अगाडी बढाउन भोलीको सिनेट महत्वपूर्ण थियो । तर, प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्रीले विवादास्पद निर्णय नगर्ने भन्दै औपचारिकताका लागि सिनेट बोलाउँदा भोलीको सिनेट अर्थहिन भएको हो ।   

प्रतिष्ठानमा कार्यवाहक उपकुलपति मात्रै भएको रजिष्ट्रार समेत नभएको अवस्थामा भोली सिनेटकै बैधानिकतामा प्रश्न चिन्ह खडा हुने परिस्थिति सृजना भएपछि ‘कर्मकाण्डी’ निर्णय गर्नकै लागि सिनेट बोलाइएको छ ।   

भोली हुन लागेको सिनेटमा प्रतिष्ठानमा निर्माणाधिन एमसिएच भवन, अंकोलोजी, कार्डियोलोजी भवन निर्माण कार्य अगाडी बढाउने, विभिन्न उपकरण खरिद प्रक्रिया अगाडी बढाउने जस्ता दिर्घकालिन एजेण्डा प्राथमिकताका साथ राख्ने प्रयास भएको थियो । तर, ती सबै विषयमा विवाद भएको र कतिपय विषयका अदालतमा मुद्दा रहेको तथा पूर्वपदाधिकारी नै भ्रष्टाचारको मुद्दा खेपिरहेको अवस्थामा त्यस्ता विषयहरु समेटिएको छैन ।   

प्रतिष्ठानका सिनेट सदस्य डा. मोहनचन्द्र रेग्मीले समेत यसपटकको सिनेट औपचारिकताका लागि मात्र बस्न लागेको बताए । ‘यो सिनेटले औंपचारिक वाहेक दिर्घकालिन विषयमा निर्णय गर्दैन । कर्मचारी छनौट गर्ने सन्दर्भमा लोकसेवा आयोगसँगको कार्याविधिमा रहेर छनौट समिति गठन गर्ने, प्रतिष्ठानको नियमावली संसोधन गर्ने, शिक्षक कर्मचारीको तलब बृद्दि, एमविविएस/विडिएसमा बाँडिएको सिट अनुमोदन लगायतका विषयमात्र पेश हुन्छ ।’ डा. रेग्मीले भने ।   

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनालले पनि सिनेटमा दिर्घकालिन एजेण्डा नभएको बताए । ‘प्रतिष्ठानलाई अगाडी बढाउन एमसिएच, अंकोलोजी, कार्डियोलोजीको विषय एकदमै महत्वपूर्ण थियो, तर, यी विषयहरु विवादित भएको र मुद्दा समेत परेकोले सिनेटले हठात निर्णय गर्दा जटिलता उत्पन्न हुने होकी भन्ने देखिएकोले समावेश गरिएको छैन ।’ डा. खनालले भने ।   

तर, स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानका कार्यवाहक उपकुलपतिले प्रतिष्ठानको नियमावली बाहिर रहेर सिनेट बोलाएकोले सिनेटकै बैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गर्न एउटा समुह लागि परेको बुझिएपछि प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालले नै विवादास्पद विषय नल्याउन भनेका हुन् ।   

रजिष्ट्रार नियुक्तिमा चलखेल 

प्रतिष्ठानका तत्कालिन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेपछि रिक्त रहेको रजिष्ट्रार नियुक्ति गर्ने विषयमा चलखेल बढेको छ । प्रतिष्ठानको रजिष्ट्रार हुन आंकाक्षी बढेसँगै चलखेल बढेको हो । रजिष्ट्रार हुन प्रतिष्ठान भित्र र बाहिरबाट नाम उठेको छ । कतिपय राजनीतिक दलका माथिल्ला नेताकै नजिकका मान्छे समेत छ ।   

प्रतिष्ठानको रजिष्ट्रारहुन पूर्वसभामुख सुवासचन्द्र नेम्वाङकी छोरीदेखि प्रदेश ३ का प्रदेशप्रमुख विष्णु प्रसाईंका छोरा राजेश प्रसाईंसम्म लाइनमा रहेको स्रोतको दावि छ । यसैगरी हात्तिसार क्याम्पसका पशुपति  मिश्र, धरानका एक सञ्चार उद्यमी प्रतिष्ठानकै एडिसनल प्रोफेसर डा. मोहनचन्द्र रेग्मी र अधिवक्ता राम निरौलाको समेत नाम चर्चामा छ ।   

उपकुलपति नियुक्तिको चर्चा 

प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. राजकुमार रौनियार रंगेहात घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि खाली रहेको पदमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल कार्यवाहक उपकुलपति रहेर काम गरिरहेका छन् । घुसकाण्डको विषय विषेश अदालतले फैसला नगरी सकेको अवस्थामा अर्को उपकुलपति नियुक्त गर्ने चलखेल समेत भएको छ ।   

स्रोतका अनुसार अहिले सत्तारुढ दलकै केहिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उपकुलपति नियुक्ति गर्न सल्लाह दिइरहेका छन् । प्रतिष्ठानको उपकुलपति हुनका लागि विराटनगरका डा. ज्ञानेन्द्र गिरी सबैभन्दा सक्रिय रहेका छन् । उनी मन्त्री ढकालका विस्वासपात्र मात्र हैन, प्रतिनिधिसभा निर्वाचनमा ढकाललाई जिताउन आर्थिक रुपमा सबैभन्दा बढि लागेका थिए । तर, प्रतिष्ठानको उपकुलपति हुन डा. गिरीको योग्यता नपुग्ने बुझिएको छ । उपकुलपति हुन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्की, डा. अरुण सायमी समेत लागि परेको स्रोतको भनाई छ । यसका अलावा कार्यवाहक उपकुलपति डा. गुरु खनालपनि उपकुलपतिको लाइनमा छन् ।   

मोरङ र सुनसरीबाट दुई नयाँ सिनेटर   

स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालले मोरङ र सुनसरीबाट दुई जनालाई सिनेटरमा राखेका छन् । उनले धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी तथा मोरङ निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सांसदलाई नै सिनेटको सदस्य बनाएका छन् । मोरङबाट प्रतिष्ठानको सिनेट हुनेमा प्रदेश सभा सदस्य राजकुमार ओझालाई नियुक्त गरेका हुन् ।   

सांसद ओझा नियुक्तिको विवाद नउठेपनि धरान उपमहानगरपालिकाका मेयर तिलक राई सिनेट सदस्य हुँदा हुँदै उपमेयर मञ्जु भण्डारीको नाम समेत सिफारिस गरेपछि मन्त्री समेत विवादमा तानिएका छन् । ‘प्रतिष्ठित विद्वान, समाजसेवी, उद्योगपति तथा व्यापारी मध्येबाट कार्यकारिणी समितिको सिफारिसमा सहकुलपतिले मनोनित गरेका बढीमा दुई जना सदस्य रहने व्यवस्था अनुरुप ब्यापारीको कोटामा मन्त्री ढकालले भण्डारीलाई नियुक्त गरेका हुन् । तर, भण्डारी के हिसाबले उद्योगी ब्यापारी भइन् प्रष्ट छैन ।   

स्रोतका अनुसार उपमेयर मञ्जु भण्डारीलाई उनका श्रीमान मुरारी सुवेदी जो नेकपाका जिल्ला नेता हुन् उनकै जोडबल र दवावमा मन्त्रीले ब्यापारीको कोटामा नियुक्त गरेका हुन् । भण्डारीको नियुक्तिमा केहि सिनेट सदस्यहरुले असन्तुष्टि नै जाहेर गरिसकेका छन् । ‘एउटै संस्थाबाट दुई जनालाई सिनेटर बनाउनु तर्क संगत छैन, भण्डारी कुन हिसाबले उद्योगी ब्यापारी हुन् थाहा छैन, उनका श्रीमान हस्पिटल चलाउँछन्, विमाका एजेन्ट हुन यहि हिसाबले सिनेट सदस्य बनाएको हो भने, गलत भयो ।’ एक सिनेटरले नाम नबताउने शर्तमा मकालु खबरसँग भने ।   

गत कात्तिक २२ गते प्रतिष्ठानको सिनेट बैठक बस्ने तयारी पूरा भएपछि अघिल्लो दिन तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले रजिष्ट्रार नियुक्तिकै बखेडा झिक्दै सिनेट स्थगित गरेका थिए । उनले तत्कालिन समयमा प्रतिष्ठानको रजिष्ट्रारमा प्रा.डा. विएन यादवलाई नै सिफारिस गर्न दवाव दिएका थिए । त्यहि विषय मिल्न नसकेपछि २१ गते बेलुकी सिनेट नै स्थगित गरेका थिए ।   

भ्रष्टाचार र पदाधिकारी विवादमा प्रतिष्ठानको सिनेट डेढवर्ष यता बस्न सकेको छैन । सिनेट बस्न नसक्दा प्रतिष्ठानले दिर्घकालिन काम गर्न सकेको छैन । साथै, सञ्चालनमा समेत असर गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *