मेरी विद्रोही आस्था गल्ती भएपनि यस्तरी नरोइदेउ

लेखौं कि नलेखौंको दोधारमा मेरा औंलाहरु ल्यापटपका कि बोर्डमा थिचिएका छन् । लेखौं आफ्नी प्रिय । नलेखौं प्रियले बोलेका अपाच्य शब्दले मन भतभती पोलिरहेको छ । दुइ दिन देखि ।   

मलाई गायिका आस्था राउत ड्यासिङ लाग्छ । हक्की स्वभावकी लाग्छ । स्वर पनि त हक्की नै छ नी । सुरेश अधिकारीको शब्दमा जब आस्थाको ड्यासिङ स्वर पर्यो चौबन्दीमा पटुकीले…गीतले हामी जस्ता धेरै महिलाहरुलाई उत्तेजित नै बनाइदिएको छ ।   

चौबन्दीमा पटुकी….साँच्चीकै मलाई विद्रोही गीत लागेको थियो । ६ वर्ष अघि पहिलो पटक यो गीत एफएममा सुन्दा आस्था राउत को हुन् थाहै थिएन । त्यसपछिका उनका कतिपय गीतका भाका पनि मलाई याद छैन । कृपा स्टुडियोमा आस्थाले यहि गीत गाएको देखेपछि म उनको स्वरको मात्र फिदा भइन । उनको लवाई, खवाई र बोली ब्यवहारबाट समेत नतमस्तक भएँ । उनका प्रायः अन्र्तवार्ताहरु हेर्दा विन्दास पाराले बोलेको देख्थे । 

आस्थासँग प्रत्यक्ष भेट्ने संयोग नभएपनि उनको स्वर र जिवनशैलीले मलाई कताकता विद्रोही बनाउँदै थियो । उनी कुनैपनि कुरा गर्न र भन्न हिच्किचाउँदि रैनछिन् ।   

म तराईको एउटा सामान्य परिवारकी छोरी हुँ । चौधरी परिवारकी छोरी सामाजिक मुल्य मान्यता र पुरातन सोचमा हुर्किएँ । विहान बेलुकी घरधन्दा दिउसो गाउँकै सरकारी कलेजमा पढ्ने गर्थें ।   

१९ वर्षकि थिएँ होला प्लस टु पास गर्दा । सेकेण्ड डिभिजनमा पास भएँ । १० कक्षा पढ्दा नपढ्दै घरमा केटा माग्न आउन थालेका थिएँ । मलाई अरु पढ्ने हुटहुटी थियो । बापु (बुबा) सामान्य साक्षर भएपनि माइ(आमा) निरक्षर हुनुहुन्थ्यो । १६ वर्ष पार गर्दा नगर्दै मलाई अर्काको घर पठाइदिने चिन्ता उहाँमा थियो । बापु चैं १२ सम्म पढाउनु पर्छ भन्नुहुन्थ्यो । बापुकै आडभरोसामा मैले दाई सँगै बारा परवानीपुरकै सरकारी विद्यालयमा १२ सम्म पढें । तर, त्यसभन्दा अगाडी बढाउन बापुपनि राजी हुनुभएन ।   

घरमा रेडियो थियो, एफएममा दिउसो खुब गाना सुन्थे । मैथीली, हिन्दी गीत सुन्थे । स्थानीय एफएमले यस्तै गीत सुनाउँथे । राती भने हिन्दी बढि चल्थ्यो । हाम्रो तीर नेपाली कमै बोल्थे । पहाडबाट तराईमा बसोबास गर्ने एकाध हाम्रा गाउँघरतिर आउँदा थोर बहुत बोल्थे । स्कुलमा नेपाली भाषा मै पढेकोले नेपाली भाषाको ज्ञान त थियो कपीमा लेख्न सक्थे तर, बोल्न कठिनाइ हुन्थ्यो । प्रयास गर्दा गर्दा आधा नेपाली आधा मैथिली मिसाएर बोल्थें । यस्तैमा हो मैले आस्था राउतको चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा… गीत कान्तिपुर एफएममा होला सायद पहिलो पल्ट सुनेको ।   

म्युजिक पनि अलिक विद्रोही टाइपकै लाग्यो । सायद लोकपप शैलीको थियो होला । हाम्रो तिर भोजपुरी गीत ‘कमरीया…’ मा ठुम्का लगाउनेहरु विस्तारै चौबन्दी प्रति आकर्षित भइसकेका रहेछन् । मलाई पहिलो पल्ट यो गीत सुन्दा नै यो गीतकी गायिका बम बन्दुक भिरेकी फुलनदेवी नै जस्तो लाग्यो ।   

कस्ती होलिन् आस्था ? काँ बस्छिन् होली, बाउआमा को होलान् ? धनीकी छोरी होलिन्, ठूलो कलेजमा पढेकी होलिन् भन्ने लाग्थ्यो । र, आफुलाई पनि त्यस्तै बनाउने कोषिश गर्थें । कपाल माईले था नपाउने गरी काटेकी थिएँ । बोली पनि त्यस्तै त्यस्तै पाराले बोल्न थालेकी थिएँ । केटाहरुसँग झगडा गर्न तम्सिन्थे । तर, मलाई गाउन पटक्कै आउँदैथ्यो, अहिलेपनि आउँदैन । त्यसो भन्दैमा मैले गीतै सुन्न नपाउनु र ! 

तै पनि तोरीबारीमा म एक्लै दौडदै ‘चौबन्दीमा पटुकी….’ गाउँदै उफ्रन्थें । कलेजमा साथीहरुसँग लय मिलाउँदे गाउँथें ।   

घरमा मैले रेडियोको ट्युन चेञ्ज गरीगरी गीत सुन्दा दाजुले गिज्याउँथ्यो । बापुले केही नभनेपनि माइ भने, उत्ताउली भन्दै लाठि निकाल्नु हुन्थ्यो । विहान बेलुकी घरधन्दा दिउसो कलेज छुट्टीमा मेलापात गर्दै सेकेण्ड डिभिजनमा १२ पास गरें ।   

१२ पास गरेपछि भने मेरो पढाइमा पुर्णविराम नै लाग्ने भो । मलाई यतिञ्जेल माग्न आउने केटाहरुलाई बापुले टारिरहनु भएको थियो । माइले अब चैं मेरो हाँसो देखेर होकी छोरी घरको बोझ भन्ने सोचले हो आँखा नदेख्ने नै माग्न आएपनि दिन्छु भन्न थाल्नु भो ।   

माइका यस्ता कुरा सुन्दा धिक्कार लाग्थ्यो । बेकारमा छोरी भएर जन्मिएछ भन्ने हुन्थ्यो । म घरबाट निस्फिक्रि डुल्न चाहन्थे, उन्मुक्त हाँस्दै, चरी जस्तै उड्न चाहन्थे । पढ्न चाहन्थे, शहर डुल्न चाहन्थे । तर, हाम्रो समाजले कहाँ पखेटा पलाउन दिथ्यो र, उमेर नपुग्दै पराईको सिन्दुर लगाएर निमोठि दिन्थ्यो ।   

मलाई शहरमा पढाउने बापुको इच्छा पनि थियो । अघिल्लो वर्ष दाजु जनकपुर गयो सिभिल इन्जिनियरिङ पढ्न । मैले दाजुसँगै जनकपुर गएर पढ्न पाइन । मलाई शिक्षिका हुने हुटहुटी थियो । पुरा हुन पाएन । दिनभर रोएर बसें । 

हाम्रो तिर छोरा भए डाक्टर इन्जिनियर नभएपनि सिभिल इन्जिनियर वा फार्मेसिस्ट पढाउने लहड थियो । छोरीलाई चैं भाग्यले पढाउँथ्यो । खानलाउन पुग्ने घरखेत भएकाले सरकारी स्कुलमा पढाउँथे । कि, घरमा बाउआमा मध्ये एउटा पढेको हुनुर्पदथ्यो । मलाई बापुले जनकपुर पढाउन पठाउने सोचेपनि माइले दिन मानिरहेकी थिइनन् । उहाँलाई जसरीपनि छोरीको हात अर्काको हातमा दिएर बोझबाट पन्छने सोच थियो । तर, बापुले जनकपुरबाट अर्कोवर्ष दाजु घर आउँदा मलाई पनि आर्टस विषय लिएर पढ्न अनुमति दिनुभयो ।   

म घरको चौकोश पार गर्दै गर्दा माइ बोल्नुभएन । बापु बसस्टेण्डसम्म आए पुर्याउन । म आफुलाई भाग्यमानी ठाने कि, मेरो चाहना, मेरो इच्छा आकांक्षा बुझ्ने बापु पाएँ । बापुले टाउकामा हात राखेर राम्रो पढेर आइज भन्नु भो । बापुको आँखा रसाएको देखेर भक्कानिदै रुएँ ।   

त्यसपछि दाजुकै संरक्षणमा मैले ब्याचलर पास गरें । जनकपुर शहर भएपनि गाउँले परिवेश थियो । विहान विहान कलेज गएर दिउसो त्यहाँकै एउटा प्राथमिक स्कुलमा पढाउन थाले, आत्मविस्वास बढ्दै गयो । मनमा आस्था राउतको चौबन्दीमा पटुकीले छाप छाडेको थियो । बापुले पढ्न र कोठाभाडा तिर्न भनि पठाएको पैसा र आफैंले स्कुलमा पढाएको पैसा जुगाड गरेर एकैपल्ट रंगीन मोवाइल किनें । मोवाइलमा मैले शुरुमै आस्था राउतकै ‘चौबन्दीमा पटुकी…’ सँगै धेरै नेपाली हिन्दी गीत भरें ।   

अनी कलेज स्कुल जाँदा बाटोभरी सुन्दै जान थालें ।   

अरु गीत जति सुन्थें । ‘चौबन्दीमा पटुकी…’ जस्तो लाग्थेन । हुन त अरु गीत पनि राम्रा थिए । तर, त्यसको शब्दमा आस्था राउतको ड्यासिङ स्वर सारै मिलेको थियो । राष्ट्रियता झल्कने गीतले नेपाली हुनुको गर्व पनि गराउँथ्यो ।   

यो गीतले मेरो जीवनमा खास महत्व यस कारणले राखेको थियो कि, मैले पहिलो पल्ट सुनेको नेपाली गीत नै त्यहि थियो । मलाई आफ्नो भाषा र संस्कृति प्रति अगाढ प्रेम छ । मैथिली, भोजपुरी गीतमा आफ्नै संस्कार संस्कृति पाउँदा नेपाली गीतमा पनि राष्ट्रियता पाएकी थिएँ । त्यो भन्दापनि आस्था राउतको निर्धक्कसँग बोल्ने शैली र ड्यासिङ आवाजले म हुरुक्क भएकी थिएँ ।   

अहिलेपनि म यो गीत प्रायः सुनिरहन्छु । मेरो विवाह भइसक्यो, समय र परिस्थिति मेरो लागि अनुकुल भइदियो । ब्याचलर गरेपछि पर्साबाट राम्रै खानदानबाट मलाई माग्न आए । बापुले मलाई पढाउने शाहस देखाए । केटा माग्न आउँदा बापुले पहिला मलाई नै सोधे ‘संस्कारी शिक्षित खानदान छ, विहे गर्ने कि नगर्ने ?’   

बापु–माइको इच्छा मेरो विवाह उहाँहरुकै मर्जी अनुसार होस भन्ने थियो । त्यहि भएर केटाको अनुहारै नहेरी हुन्छ भनिदिँए । भाग्यवस, मलाई मेरो श्रीमानको घर पराई लागेको छैन । सासुससुरा माईबापु जस्तै छन् । श्रीमान साथी जस्तै पाएकी छु । विहेको दोस्रो वर्षमा छोरी जन्मिइ । उहाँ सरकारी नोकरी गर्नुहुन्छ ।   

त्यो भन्दा ठूलो कुरा म पनि पर्साकै एउटा स्कुलमा पढाउँछु । मलाई घरभन्दा बाहिर गएर काम गर्न प्रोत्साहन श्रीमानले दिनुभयो । त्यो भन्दा ठूलो कुरा मेरो सासुले नातीनीको स्याहार गर्दै मलाई बाहिर हिँड्न दिनुभयो ।   

आज मलाई सबैथोक पाएको जस्तो लाग्छ । श्रीमान, घरपरिवार, सुख सयल अनी त्यो भन्दा बढि आत्मसन्तोष ।   

जुन मलाई आस्था राउतले दिएकी छिन् । यदी उनको गीत नसुनेकी भए, उनकै जस्तो ड्यासिङ भएर नबोलेकी भए, उनकै नक्कल नगरेकी भए म कहाँ पढ्न पाउँथे र ! 

तर, हिजो राती उनको फेसवुकमा एउटा भिडियो हेरें, उनी रोइरहेकी थिइन् । आँखाभरी आँसु पारिन् । बोल्दाबोल्दै भक्कानिइन् । मैले उनी रोएको देखेकी थिइन् । उनको स्वरले उनी प्रति फिदा भएकी म उनी रोएको देखेपछि रोएँ । एयरपोर्टमा उनले के भनिन्, कसलाई गाली गरिन् दोष उनको थियो थिएन मलाई जान्नु थिएन । तर, दुई दिन अघि प्रहरी प्रशासनलाई बेस्मारी गाली गरेकी आस्था आज धरधर्ती रुँदा मेरोपनि मन रोयो । आस्था तिमी त्यहाँ रोयौं, यहाँ म पनि त रुएँ । आखिर हामी आइमाई नै पो रहेछौं नी ! अलिकति कसैले गाली गर्दैमा रोइ हाल्छौं । तर, गल्ती तिम्रै भएपनि, दोष तिमीलाई नै आएपनि त्यसरी रोइहाल्नु हुन्थेन नी । तिमीले रोएको सबैलाई किन देखायो ?   

तिमीलाई देखेर नै यो पुरुषप्रधान समाजमा विद्रोह गर्ने नारीहरु धेरै छन्, तिनीहरुलाई प्रेरणा दिनकै लागि भएपनि नरोइदेउ, बरु लड, विद्रोह गर । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *