रुसमा नयाँ प्रधामन्त्री नियुक्त
माघ २, काठमाडौं । रुसमा नयाँ प्रधामन्त्री नियुक्त गरिएको छ । प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
पुटिनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।
“भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका छन्,” क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ ।
पुटिनको आग्रहलाई मिखाइलले स्वीकार गरेपछि उनलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेद्भेदेवले बुधबार राजीनामा दिएका थिए ।
मेद्भेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए ।
पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।
प्रधानमन्त्री मेद्भेदेवले राजीनामा दिएपछि राष्ट्रपति पुटिनले उनलाई धन्यवाद र आभार व्यक्त गरेका छन्, । एजेन्सी