डोटीका तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ

माघ ७, डोटी । प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।   

सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।   

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी  छ । प्रहरीले  गोठ भए नभएको अवस्थाका बारेमा  अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३  छाउपडी गोठ रहेको जनाइएको छ । उनले भने, ‘तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।’ गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन  गरिएको छ ।   

अभियानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *