आधारहिन तवरले नाम जोडेको प्रति भगवती चौधरीको आपत्ति

माघ १६, दुहवी । नेपाली सेनाको सेकेण्ड लेफ्निेट भन्दै ठगी हिँड्ने शुभमचन्द ठकुरीलाई नेपाल प्रहरीले विराटनगर विमानस्थलमा पुनः नक्कली सेनाको परिचयपत्र समेत पक्राउ गरेको विषयमा जोडेर समाचार प्रकाशित भएको प्रति नेपाल कम्युनिस्ट पार्टीकी नेतृ चौधरीले आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।   

नक्कली सेना भनी ठगी गर्दै हिँड्ने शुभमचन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशित गर्दा दुई वर्ष अघिको प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको घटनालाई जोडेर समाचार बनाएर आफ्नो तथा परीवारको मान प्रतिष्ठान धुमिल्याउने काम भइरहेको चौधरीको भनाई छ ।  

आज विज्ञप्ति प्रकाशित गर्दै नेतृ चौधरीले प्रहरीद्वारा पक्राउ परेका ठकुरीसँग आफ्नो तथा परीवारको कुनैपनि नाता सम्बन्ध नरहेको प्रष्ट पार्दै त्यस्ता ब्यक्तिलाई राज्यले कठोर सजाय दिनुपर्ने माग समेत गरेकि छन् ।   

चौधरीले प्रतिनिधिसभा निर्वाचनको करिब १ वर्षपछि सुनसरी दुहवीको एउटा खेलकुद कार्यक्रममा आफु अतिथि भएर जाँदा उक्त ब्यक्ति नेपाली सेनाको ड्रेसमा आउँदा आफुले यसरी सेनाको ड्रेस लगाएर नआउन भनेको बताउँदै त्यसको केहि समयपछि  निजलाई ठगी गर्दैगर्दा प्रहरीले पक्राउ गरेर समाचारमा आएपछि मात्रै आफुलाई उक्त ब्यक्ति नक्कली सेना भएको थाहा हुन आएको बताएकी छिन् ।   

त्यसपछि सोहि विषयमा आफुलाई समेत जोडेर समाचार प्रकाशित भएपछि सोको खण्डिकरण समेत दिइसकेको र उक्त ब्यक्ति आफु तथा आफ्नो परिवारको सम्पर्कमै नरहेको, कुनै नाता सम्बन्ध नै नरहेपछि अहीले आएर समाचारमा आफुलाई जोडेको प्रति आपत्ति जनाएकी छिन् ।   

‘गत माघ १ गते विराटनगर विमानस्थलबाट एक जनालाई नेपाल आर्मीको नक्कली परिचयपत्र सहित पक्राउ गरेको विषयमा म र मेरो छोरालाई समेत जोडेर अनावश्यक विवादमा ल्याउने समाचार प्रकाशित गरेको मैले महशुष गरेको छु ।’ चौधरीले भनेकी छिन् ।   

उनले समाचार अनुसार आफुलाई नेपाली सेनाका सेकेण्ड ल्याप्टेन भन्ने शुभमचन्द ठकुरीलाई प्रहरीले नक्कली कार्ड सहित पक्राउ गरेकोमा उक्त घटनालाई पुनः दुई वर्षअघि प्रतिनिधिसभा निर्वाचनलाई जोडेर बडीगार्ड राखेको तथा संरक्षण गरेको भन्ने आधारहिन समाचार प्रकाशित भएकोमा खेद प्रकट पनि गरेकी छिन् ।   

विज्ञप्तिमा भनिएको छ–‘मेरो छोरा अध्ययन गर्ने स्कुलको नाम समेत जोडेर समाचार प्रकाशित गरेकोमा उक्त ब्यक्ति मेरो छोरा अध्ययन गर्ने कलेजमा कहिल्लै अध्ययन नगरेको स्पष्ट पार्न चाहन्छु । चुनाबी अभियानमा एकाध दुई पल्ट गाउँघरमा आएको एउटा आपराधिक मानसिकताको ब्यक्तिसँग मलाई आधारहिन तवरले बारम्बार जोड्नु मेरो ब्यक्तिगत, सामाजिक, राजनीतिक आस्था र नैतिकता धुमिल पार्नु वाहेक केहि हैन ।’ 

उनले यस्ता गलत आपराधिक कृयाकलापमा संलग्न जो कोहीलाई कानुनी कठघरमा उभ्याएर कडाभन्दा कडा सजाय दिलाउने सन्दर्भमा म र मेरो परीवार सदैव नियामक निकायलाई जुनसुकै प्रकारको सहयोग गर्न तत्पर रहेको बताएकी छिन् ।  निज शुभमचन्द ठकुरीले नेपाली सेनाको बदनाम गर्दै हिँडिरहेको सन्दर्भमा निजलाई कानुनी दायरामा राखी कडाभन्दा कडा कारवाहीको माग पनि गरेकी छिन् ।   

चौधरीले आफु लोकतान्त्रिक मुल्य मान्यतामा रहेर सदैव नेपाली महिला दिदिबहिनीहरुलाई सामाजिक आर्थिक रुपमा संगठित गर्दै अगाडी बढेको बताउँदै समाज परिवर्तन र राष्ट्र निर्माणमा आफ्नो दक्षता क्षमता अनुसार गरेका कृयाकलाप माथि नै प्रश्न चिन्ह उठाउने गरी मनगढन्ते अफवाह नफैलाउन आग्रह गरेकी छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *