यस कारण महत्वपूर्ण पर्व हो ‘माघे संक्रान्ति’

माघ १, काठमाडौं । माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व मध्ये एक हो । आजको दिन किराँतहरुले माघीका रुपमा पनि यो पर्व मनाउने गर्दछन् । आजको दिन किराँतहरुले नयाँ बर्षको रुपमा पनि मनाउने गर्छन् । यो पर्व माघ महिनाको पहिलो दिन पर्दछ । यस दिन नेपालमा सार्वजनिक विदा दिइने गरिएको थियो, तर पछिल्लो पटक यसलाई परिमार्जित गर्दै समुदायगत र क्षेत्रगत पर्वमा सम्बन्धित क्षेत्र वा समुदायलाई मात्रै विदा दिइने गरिएको छ ।   

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास पनि गरिन्छ, तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ । 

‘माघे’ र ‘मकर संक्रान्ति’ पर्व नेपाल भर विभिन्न पवित्र नदी, खोला तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ ।   

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिनधु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने, भन्ने यस पर्वमा गूरु, पुरोहित र ब्राह्मणहरु आ आफ्ना यजमानकहाँ गई महिना सुनाउँने चलन पनि छ  । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् ।   

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास पनि गरिन्छ । मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास पनि छ ।   

मौसम अनुसार यो समयमा जाडो हुने हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ । महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे संक्रान्ति का दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *