वीपी प्रतिष्ठान धरानमा ४ हजार रूपैंयामा पित्तथैलीकाे पत्थरीकाे उपचार

माघ १४, सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया नगरी पित्तनलीमा रहेको ढुंगा निकालेर उपचार गर्न थालिएको छ । चिकित्साशास्त्रमा यो प्रविधिलाई इन्डोस्कोपिक रेट्रोग्रेड कोलन्जियो प्याङ्क्रियाटोग्राफी–ईआरसीपी भनिन्छ । समान्यतया पित्त नलीको ढुंगा निकाल्न पेट र पित्त चिरिन्छ । 

ल्याप्रोस्कोपिक विधिमा पनि पित्त नली चिर्नैपर्ने चिकित्सकको भनाइ छ । मुखबाट विशेष प्रकारको क्यामेरा र प्रविधियुक्त इन्डोस्कोपी पाइप छिराएर कम्प्युटर स्क्रिनमा हेर्दै पित्त नलीको ढुंगा निकालिने पद्धति ईआरसीपी हो । 

प्रतिष्ठानका ग्यास्ट्रोलोजी एन्ड हेपाटोलोजी विभाग प्रमुख डा. विक्रम प्रधानका अनुसार ईआरसीपी प्रविधिबाट पित्त नलीको ढुङ्गा निकाल्नुका साथै जाँच गर्ने, पत्थरीको ट्युमर परजीवी हेर्ने, नली साँघुरो भएको भए जाँच गरी स्ट्यान्ड राख्ने, पेटसम्बन्धी रोगहरू पत्ता लगाउन सकिन्छ । कान्तिपुर दैनिकमा समाचार छ । 

डा. प्रधानले भने, ‘ईआरसीपी भनेको बिनाचिरफार पित्त नलीमा अड्किएको पत्थरी (ढुंगा) निकाल्ने प्रविधि हो । यो पद्धतिबाट जोखिम कम हुन्छ । यो उपचार पद्धति निकै भरपर्दो, प्रभावकारी र कम खर्चमा हुन्छ ।’ उनका अनुसार बिरामीलाई अप्रेसन गर्नुपर्ने, अप्रेसनपछि घाउ पाक्ने, ढिलो निको हुने, समय र खर्च बढी लाग्ने अवस्थाको अन्त्य ईआरसीपी उपचार पद्धतिबाट भएको छ । यो पद्धतिबाट उपचार गरेका बिरामी एक दिन मात्र अस्पताल बसेर घरफर्कन सक्छन् । 

चिरफार नगरी पित्त नलीको ढुङ्गा निकाल्ने प्रविधि वीर अस्पताल, टिचिङ अस्पताल र धुलिखेल अस्पतालपछि प्रतिष्ठानमा सुरु गरिएको डा. प्रधानले बताए । ग्यास्ट्रोलोजी एन्ड हेपाटोलोजी विभागका डा. डेनिस पीयूषले पित्त नलीमा क्यान्सर भएर साँघुरो भएको, अप्रेसन गर्न नमिल्ने, पत्थरी र जन्डिस भएका बिरामीमा स्ट्यान्ड राख्नका लागि पनि उक्त उपचार सेवा प्रभावकारी हुने बताए । 

छ महिनाको अवधिमा पित्त नलीमा ढुङ्गा भएर उपचार गर्न आएका ७० जनाको सफल उपचार भएको पनि प्रतिष्ठानले जनाएको छ । उक्त पद्धतिबाट पित्त नलीको ढुंगा निकाल्न निजी अस्पतालले ५० हजारदेखि एक लाख रुपैयाँसम्म लिने गरेका छन् । तर प्रतिष्ठानले हाल ४ हजार रुपैयाँमात्र लिने गरेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *