२३ करोड ६० लाख राजस्व छली गर्ने दुई फर्मविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी २३ करोड ६० लाख रुपैयाँ राजस्व छली गरेको अभियोगमा दुई फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । 

गोरखा घर भई काठमाडौंमा व्यवसाय गर्ने रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जीव मास्केले १४ करोड ८७ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।   

रेजिङ इन्टरनेशनलले वस्तु खरिद नै नगरी झुटो र नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ । उसले मूल्य अभिवृद्धि करतर्फ ४ करोड ३२ लाख ६९ हजार २ सय ८३ रुपैयाँ र आयकरतर्फ १० करोड ५४ लाख ३९ हजार  ५ सय ९५ रुपैयाँ छली गरेको हो । 

null

विभागले मास्केलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम १४ करोड ८७ लाख ८ हजार ८ सय ७८ रुपैयाँ ३६ पैसा विगो असूलउपर गराई विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरेको छ । 

त्यस्तै, हेटौंडाको हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले ८ करोड ६२ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।   

प्रोपाइटर न्यौपाने र कर्मचारी सुवेदीले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख १४ हजार १ सय ९८ र आयकरतर्फ ६ करोड १२ लाख ४ हजार ६ सय ३२ रुपैयाँ राजस्व छली गरेको विभागले बताएको छ । 

उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम ८ करोड ६२ लाख १८ हजार ८ सय रुपैयाँ विगो र विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *