महँगियो कुखुराको मासु, हेर्नुहोस् कति पुग्यो मूल्य

माघ १७, काठमाडौं । काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको मूल्य बढेको छ । यसअघि कुखुराको मासु प्रतिकिलो २१० रुपैयाँ थियो । अहिले १६० रुपैयाँ मूल्य बढेर ३७० पुगेको हो ।   

काठमाडौंको खुद्रा बजारमा मासुको मूल्य त्यो भन्दा पनि धेरै हुनसक्ने अनुमान छ ।   

राष्ट्रिय कुखुरा व्यवसायी संघले गत हप्ता तोकेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा तयारी मासुको प्रतिकिलो मूल्य ३५० रुपैयाँ छ । जसमा प्रतिकिलो १५ रुपैयाँ नाफा राखेर खुद्रा व्यापारीले उपभोक्तालाई बिक्री गर्दा मासुको उपभोक्ता मूल्य ३६५ रुपैयाँ हुनुपर्छ । तर विभिन्न स्थानहरुमा ३७० रुपैयाँभन्दा बढीमा मासु खरिद–बिक्री भएको छ । 

Related image

फार्मिङ एण्ड एग्रिकल्चर रिसर्च म्यानेजमेन्टले उल्लेख गरेअनुसार काठमाडौंमा तयारी मासुको मूल्य ३१५, पोखरामा ४१०, धनगढीमा २८० र इटहरीमा ३०० रुपैयाँ प्रतिकिलो हो । तर बजारमा यो भन्दा धेरै मूल्यमा मासु बिक्री भईरहेको छ । 

राष्ट्रिय कुखुरा व्यवसायी संघले बजारमा मासुको मागको तुलनामा आपूर्ति नभएका कारण मासुको मूल्य बढेको बताएको छ । 

गत मंसिर २९ देखि पुस ६ गतेसम्म नेपाल ह्याचरी उद्योग संघले चितवनमा अण्डा नष्ट गर्ने अभियान चलाएको थियो । त्यस समयमा चिकेन होलिडेका नाममा कुखुराका करिब ४० लाख चल्ला नष्ट गरिएको थियो ।  

बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका भने कतिपय ठाउँमा जिउँदै पुरिदिएका थिए । ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । 

नष्ट गर्ने अभियानपछि लगतै बढेको कुखुराको मासुको मूल्य पुनः तेस्रो पटक बढेको हो । एक महिना अवधिमा कुखुराको मासुको मूल्य प्रतिकिलो १६० रुपैयाँले बढेर ३७० रुपैयाँ कायम भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *