पश्चिमी वायु सक्रिय, वर्षा र हिमपातको सम्भावना अझै

माघ ७, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना अझै रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । 

सोमबार फेरि नेपालको पश्चिमी भू-भाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   

हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ ।   

राति देशका पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

बुधबार देशभर मौसम सामान्यतया सफा रहने र तराई भू-भागमा हुस्सु कायमै रहने बताइएको छ । बिहीबार देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *