‘पत्रकारले परीक्षा दिनुपर्ने ब्यवस्था हटाइन्छ’ सञ्चारमन्त्री

माघ १७, काठमाडौं । पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । 

इटहरीमा आजबाट सञ्चालनमा आउन लागेको नेपाल टेलिभिजनको पाँचौं च्यानल उद्घाटन गर्न आउनेक्रममा विराटनगर विमानस्थलमा साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताएका हुन् । 

सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु उपयुक्त नदेखिएकाले जाँच लिने व्यवस्था हटाउने तयारी भएको बताए । ‘पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउन तयारी भइरहेको छ ।’ उनले भने ।  साथै सरकार सञ्चार क्षेत्रलाई सबल र व्यवस्थित बनाउने कार्यमा क्रियाशील भईरहेको र योसँग सम्बन्धित ऐनहरु बनाउने प्रक्रिया थालिएको पनि जानकारी दिए । 

बास्कोटाले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको जिकिर गरे । एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसद्बाट पारित गराउन लागेको उनको भनाई छ । 

एमसीसी ऊर्जा र कनेक्टिभिटीसँग जोडिएको र सामरिक महत्वको विषयहरु समावेश नभएको बताउँदै अमेरिकन काँग्रेसले समेत सहमति जनाएकाले संसद्बाट पारित गराउनुको कुनै विकल्प नभएको बास्कोटाको स्पष्टोक्ति थियो । कोरोना भाइरसबाट प्रभावित भएको मित्र राष्ट्र चीनको वुहानमा रहेका नेपाली सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री बाँस्कोटाले जिकिर गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *