सेवाग्राहीसँग २ हजार घुस लिने प्रहरी जवान खड्काविरुद्ध भ्रष्टाचार मुद्दा

माघ १७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्काविरुद्ध मुद्दा दायर भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज शुक्रबार मागदाबी सहित प्रहरी जवान खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।   

खड्काले डियुटीमा खटिएको समयमा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी लाइसेन्स राखी ‘कुनै चिट नदिई मिलाउनुस्’ भनी घुस लिएको अख्तियारको आरोप छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट २ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।   

‘अनुसन्धानको सिलसिलामा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी जवान लोग बहादुर खड्काले कोटेश्वर चोकमा डियुटीमा रहेको बखत मोटरसाइकल चालकको सवारी चालक अनुमतिपत्र नियन्त्रणमा लिई गल्ती गरेको भए नियमानुसार राजस्व रसिद काटी पठाउनु पर्नेमा सो नगरी दुःख हैरानी दिई घुस–रिसवत दिएपछि मात्र नियन्त्रणमा लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता दिन पटक–पटक बार्गेनिङ गरी दुई हजार घुस लिएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको छ’, अख्तियारको आरोपपत्रमा भनिएको छ ।   

खड्कालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *