रत्ननगर महोत्सवको तयारी पुरा,५० करोडको कारोवार हुने अनुमान
पुष २३, चितवन । यही पुष २५ गतेदेखी सुरु हुने १० औं रत्ननगर महोत्सवको तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा प्रत्येक दुई वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ ।
महोत्सवस्थल टिकौली चौरमा बुधवार पत्रकार सम्मेलन गरिन महोत्सवको तयारी पुरा भएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा नयाँपन दिनका लागि आयोजकले महोत्सवस्थल नजिकै जीप लाईनको व्यवस्था गरेको छ ।
जीप लाईन करिब २ सय मिटरको छ । हामीले प्रत्येक महोत्सवमा नयाँपन दिदैँ आएका छौँ महोत्सवका संयोजक रेग्मीले भने ‘महोत्सव अवलोकनका लागि आउनेहरुका लागि जीप लाईनको मज्जा लिने बातावरण तयार गरेका छौ’ ।
९ औं संस्करणमा धरहरा निर्माण गरेर अवलोकनकर्ताहरुलाई आकर्षण गराएको थियो । यस पटक रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका पाँच सय वटा स्टल रहने छन् ।
पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ । रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने फेस्टिवलका संयोजक एवंम् आर्थिक समिति संयोजक ज्ञान वहादुर विसुरालले बताए । मासु र अण्डा खपत बढाउन विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको विसुरालले जानकारी दिए ।