रौतहटमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान, एक घाइते

माघ १५, रौतहट । रौतहटको बकैया नदी बाँध नजिकै गएराति प्रहरी र  भारतीय आपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।   

रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै भएको घटनामा प्रहरीको गोली लागेर भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्र अन्तर्गत जटौलिया ग्राम पन्चायत वडा नं. ४ का २० वर्षीय शेख चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । 

आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचनाका आधारामा प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाँद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । 

घाइते चाँदको दाहिने घुँडामुनि गोली लागेको छ । घाइते चाँदको हाल गौरस्थित अस्पतालमा प्रहरीको निगरानिमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार, चाँदले भारतीय नागरिक मोमताज, नेपाली नागरिक ओमप्रकाश साहसहित ३ जना व्यापारीसँग फिरौती लिने प्रयोजनका लागि भारतबाट नेपाल प्रवेश गरेको स्वीकारेका छन् । चाँद तराई मधेस नेसनल नाममा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको भूमिगत समूहमा आबद्ध रहेको पनि खुलेको छ । 

त्यसैगरी उक्त समूहले यसअघि रौतहटमा थुप्रै अपराध गरेको चाँद अलीले स्वीकारेका छन् । 

सोही समूहका अन्य २ भने भारततर्फ भागेका छन् । घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, खाली खोका १ थान र कटुवामा लोड भएको १ थान गोली प्रहरीले बरामद गरेको छ । 

प्रहरीका अनुसार प्रहरी गोली लागी घाइते चाँद फरार अभियुक्त हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा संगठित अपराध र आपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोगसम्बन्धी ३ र संगठित अपराध र आपराधिक लाभ १ वटा गरी छुट्टाछुट्टै ४ मुद्दा दर्ता भएको छ । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *