‘प्रचण्ड जेल परेको दिन मैँले न्याय पाउँछु !’
–जालझेल गरे लाग्छ कि पाप
रातो रगतमा कालो छाप
सरकारको मनमा रहेछ नि खोट
म निर्दोषको मनमा दियो नि चोट
वीर अस्पतालको दोस्रो तल्लामा क्याविन नम्बर ७ लेखिएको एउटा कोठा छ । त्यही कोठाका भित्ताभरि सजिएका छन् यस्ता कयैन हरफहरु, जुन गंगामाया अधिकारीको मनमा पुत्ताइरहेका पीडाहरु हुन् ।
कान्छा छोरा कृष्णप्रसाद अधिकारी द्वन्द्वकालमा मारिए । श्रीमान् नन्दप्रसाद अधिकारीले अनशन बसेको ३३४ औँ दिनमा मृत्युवरण गरे । साथमा भएको जेठो छोरो नूरप्रसाद अधिकारी जेलमा छन् । भएकी एउटी बुहारी, नातिसहित सम्पर्कविहिन छिन् ।
विल्कुल एक्ली भएकी छिन् गंगामाया । अस्पालको कोठाभित्र निस्सासिएका छन् न्याय ।
उसै त सतीले सरापेको देश भनिन्छ, झन् पीडितमाथि नै अत्याचार ?
कहिले पाउने पीडितले न्याय ? उता निर्मला प्रकरण अलपत्र, यता गंगामाया । जता कोल्टे फेर्यो, त्यतै अन्याय !
त्यही न्यायकै झिनो आशामा गंगामायाले ११ औं पटकको अनशन तोडेकी थिइन् । अनशन तोडाएको वर्षौँ बितिसक्दा पनि खै त न्याय ?
उनको मुखमा अन्न परेको छैन । पार्न पनि चाहन्नन् । दुध, फलफुलहरु मात्रै खाएर बसेकी छिन्, मानौँ कि कठोर तपस्यामा छिन् । जेल जीवनभन्दा कम लाग्दैन गंगामायालाई अस्पतालको बसाईँ । जेलमा भएको छोरोलाई भेट्न जान समेत पाएकी छैनन् ।
त्यसै लेखेकी होइनन् उनले– रुँदारुँदै सकियो आँशु नि
न त घरको न घाटको भाछु नि !
चोटमाथि चोट परेको छ, तैपनि हार मानेकी छैनन् गंगामायाले । आफ्नो लक्ष्य, माग र अधिकारमा अडिक छिन् । भन्छिन्– ‘जीवनको अन्तिम घडीसम्म न्यायका लागि लडिरहन्छु, लडिरहन्छु !’
सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णप्रसादको हत्यारालाई संरक्षण दिएको उनको आरोप छ ।
‘प्रचण्डले मेरो छोराको हत्यारालाई संरक्षण दिएको छ । म अस्पतालमा कैदी जीवन बिताइरहेकी छु, हत्यारा खुलेआम डुलिरहेको छ । ८ औँ पटकको बयानमा समातिएको थियो हत्यारा, प्रचण्डले नै छुटकारा दिलाए, जसलाई आजीवन कारावासको सजाय हुनुपर्ने थियो’, उनले आक्रोश पोखिन् ।
‘मेरो परिवारलाई तहसनहस बनाएर कुन दुलामा लुकेका छन् प्रचण्ड ?’, उनले प्रश्न गरिन् ।
न्याय नपाई अन्न नखाने अडानमा रहेकी गंगामायाले नेकपाका अध्यक्ष प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतसम्म पुर्याउने चेतावनी समेत दिएकी छिन् ।
‘प्रचण्ड जेल परेको दिन मैँले न्याय पाउँछु । मेरो छोरा र श्रीमानको आत्माले तब बल्ल शान्ति पाउने छ । म यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतसम्म पुर्याउँछु । ८ वर्ष अन्न नखाएर बसेको मान्छे म, अब भात खाएर साइड लाग्छु र ? मेरो छोराको हत्यारालाई यसै छोड्नेवाला छैन’, गंगामायाको चेतावनी छ ।
छविलाल पौडेलले छोरा कृष्णको हत्या गरेको उनको दाबी छ ।
के छन् आधार ?
गोरखा फुजेलकी गंगामायाका अनुसार,
२०६४ सालको पुस १० गते अधिकारी परिवारलाई कुटेर लखेटियो । लखेट्ने उही थिए, छविलाल पौडेल । पकाएको भात समेत खान पाएनन् उनीहरुले ।
२०६१ साल जेठ २४ मा कान्छो छोरो कृष्णको अपहरणपछि हत्या भयो । घटनाको जिम्मेवारी तत्कालीन माओवादीले नै लिएको थियो । तर अहिलेसम्म कसैलाई कारवाही नै भएन । दुई वर्ष चुपचाप गोरखामै बसे अधिकारी परिवार ।
यदि छविलाल दोषी थिएनन् भने ६४ सालमा एकाएक गोरखाबाट किन लखेटे ?
८ वर्षदेखि यसैको जवाफ खोजिरहेकी छिन् गंगामाया !
६४ सालदेखि ६९ सालको अवधिमा धेरै दुःख पाए नन्दप्रसाद र गंगामायाले । न्यायका लागि धाउन एउटा प्रहरी चौकी पनि बाँकी रहेन ।
दुनियाँको कोठामा बसे । होटलमा बसे । कयौँ रात भोकभोकै सडकमा बिताए । यति हुँदा पनि सत्तामा विराजमानहरुको दिल पग्लिएन । उल्टो पागल भनेर ३९ दिनसम्म पाटनको मानसिक अस्पतालमा राखियो ६९ सालमै । कति पटक हनुमान ढोकामा जाकियो, विना दोष ।
…त्यसपछि नै हो गंगामाया र नूरप्रसादले अनशन सुरु गरेका ।
६९ सालको माघ २२ गतेबाट बालुवाटारमा प्रधानमन्त्रीको गेटै अगाडी अनशन सुरु गरे । अन्नपानी मुखमै हालेनन् । कतिपटक न्याय दिने आशामा अनशन तोडाइयो, पाएनन् फेरि बसे । अनशन बस्दा बस्दैमा नन्दप्रसादको प्राणपखेरु उड्यो, २०७१ असोज ६ गते, सोमबार साँझ ।
आफूमाथि अन्याय बर्सिएको एक एक मिति हेक्का छ उनलाई । छोरा कृष्ण र श्रीमान नन्दप्रसादलाई मृत्युले निलेको तिथीमिति पाखुरामा खोपेर राखेकी छिन् ।
आउनुस् एकपटक क्याविन नम्बर ७ लाई पनि नियालौँ ।
कोठाका भित्ताभरी परिवारका तस्विरहरु छन् । न्यायका लागि लडिबुडि गरेका तस्विर पनि छन् । हत्याको आरोपी छविलालका परिवारका तस्विरमा हार लगाइएको छ, मृकको तस्विर जसरी ।
अर्कातिरको भित्तामा दुई जोर जुत्ता एउटा डोरीमा उनेर राखिएको छ । आफ्नो अधिकार र न्याय भुट्ने नेता, मन्त्री जोकोहीलाई सम्मान गर्नका लागि गंगामाया आफैँले उनेर राखेकी हुन् रे त्यो जुत्ताको हार !
भित्ताका सायरीहरुले न्याय मागिरहेका छन् । जेठो छोरोलाई हत्कडी लगाइएको समेत क्यामेरामा कैद गरी भित्तामा सजाइएको छ ।
ती तस्विरले गंगामायालाई डगमगाउनै दिँदैनन् । आफूसँग घटेका र अखबारमा छापिएका एकएक टुक्रा जतनले भित्तामा चप्काएकी छिन् । मानौँ कि ती मेडल र प्रमाणपत्र हुन् ।
कतै हार त कतै जीतका अंशहरु हुन् ती, जुन गंगामाया रहुन्जेल त्यही ७ नम्बर क्याविनमा रहनेछन् !
धरमरमा छ उनको न्याय !
०७५ को असार २९ गते कानुनमन्त्री शेरबहादुर तामाङले गंगामायाका माग पूरा गर्ने दुई बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेपछि उनले ११ औं पटकको अनशन तोडेकी थिइन् । हत्यारा छविलाल पक्राउ परेपछि उनीभित्र न्यायको आशा जागेको थियो ।
अन्य माग त सुनुवाई भएन, भएन केही महिना बित्न नपाउँदै छविलाल रिहा भए । जेठो छोरोलाई पनि जेलमा हालियो । अपराध के थियो ? अन्जान छिन् गंगामाया ।
उनको मनमा एउटै कुरा खेल्छन्, ‘विना अपराध निर्दोषलाई नै हत्कडी लगाउने, कस्तो न्याय !’
अपराधी खुलमखुल्ला हिँडिरहेछ । ६० वर्षकी गंगामाया छट्पटिमा छिन् ! ‘कस्तो अत्याचारी राज्य !’
अनशने जीवन बिताएको ८ वर्ष भइसक्यो । अब कहाँ जाने त न्याय माग्न ?
‘अब अन्तर्राष्ट्रिय अदालतको कार्यालयको ढोका ढक्ढक्याउँछु ! त्यहीँ गएर अनशन बस्छु !’
त्यस्तो जटिल माग पनि केही त छैन ! बस् छोरोको हत्यारालाई कारवाही हुनुपर्यो !
पैसामा मिल्न चाहन्नन् गंगामाया, मात्र न्याय पाए पुग्यो ।
‘दिने भए न्याय देऊ, नदिए यही वीर अस्पतालको बेडमा मरिदिन्छु । पैसामा मिल्दिन’, उनले भनिन् ।
जुन दिन न्याय पाउँछु त्यही दिन पोल्छु श्रीमानको शव !
माग पुरा नभएसम्म टिचिङ अस्पतालमै अलपत्र रहनेछ नन्दप्रसादको शव । न्याय नपाएसम्म श्रीमानको काजक्रिया नगर्ने अठोटमा छिन् गंगामाया !
भन्छिन्– ‘जुन दिन न्याय पाउँछु त्यही दिन पोल्छु मेरो श्रीमानको शव !’