गृहकार्य नगरेकाे भन्दै शिक्षकबाट कुटिए विद्यार्थी

पुष २०, काठमाडौं । गृहकार्य नगरेको भन्दै रुपन्देहीको एक विद्यालयका विद्यार्थी शिक्षकबाट कुटिएका छन् ।   

रुपन्देही सम्मरीमाई गाउँपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट उनको आँखामा गम्भीर चोट लागेको छ । आँखा सुन्निएर राम्रोसँग हेर्न पनि सकेका छैनन् ।   

उनी हाल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत छन् । उनलाई परिवारले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवा ल्याएको होे ।   

तौफिकका परिवार इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिन गएका छन् । प्रहरीले उजुरी लिन नमानेको परिवारको गुनासो छ । मर्चवार प्रहरीले भने प्रक्रिया नपुगेका कारण उजुरी लिन नसकिएको बताएको छ ।   

यता शिक्षक शैलेन्द्रले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । गृहकार्य नगरेका कारण कुटपिट नभई मात्रै तर्साएको उनको भनाइ छ ।   

गएको जेठ २० गते रोल्पाको रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभुत प्रावि मगरगौरीमा राहत कोटामा कार्यरत सोही ठाउँमा बस्ने २५ वर्षीया शिक्षिका लक्ष्मी पुन विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी थिइन् । ५ विद्यार्थीको कुटेर हात भाँचेको उनीमाथि आरोप थियो ।  

त्यस्तै साउनको तेस्रो साता (२२ गते) शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका कक्षा ९ का विद्यार्थी माधव कलौनीको गत असार १४ गते भारतमा उपचारका क्रममा मृत्यु भएपछि तीन शिक्षक पक्राउ परेका थिए ।   

पछिल्लो समय विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई कारवाहीको दायरमा ल्याउन सुरु गरिएपनि यस्ता घटना घट्न छोडेका भने छैनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *